काठमाडौं, पुस ५ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति नसार्न चेतावनी दिनुभएको छ । शनिबार पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले निर्वाचन सारिए र संविधान मिचिए आफ्नो पार्टी चुप लागेर नबस्ने बताउनुभएको हो । प्रचण्डले सरकारलाई निर्वाचन सहज ढङ्गले सम्पन्न गर्न आग्रह गर्दै कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्न भन्नुभएको छ ।
उहाँले सरकारले संविधान बारम्बार मिच्ने कोसिस गरे (केही हदसम्म मिचिसकेको अवस्थामा पनि) वा निर्वाचनको मिति सारेर यसलाई धकेल्ने काम गरे फेरि संविधान मिचिने र कम्युनिस्ट पार्टी चुप लागेर नबस्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो , ‘हामीले भनेका छौँ, सहज ढङ्गले निर्वाचन सम्पन्न होस्। सरकारलाई हामी भन्न चाहन्छौँ, तपाईंहरू कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोला। यदि तपाईंहरूले संविधान बारबार मिच्ने कोसिस (एकचोटी त मिच्चिसकेको छ केही हदसम्म) तर त्यसमा हामीले देशको असहज परिस्थितिलाई हेरेर हामीले यो अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हौँ। तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम गर्यो भने फेरि संविधान मिचिन्छ। यदि त्यसो गरियो भने हामी चूप लागेर बस्ने छैनौँ।’ उहाँले त्यागको इतिहास र निष्ठा नभएका, अहंकारी र दम्भीहरूले प्रतिशोधको भाषा मात्र बोलेर हेप्ने दुस्साहस गरेकोमा खबरदार गर्नुभएको छ । उहाँले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न होस् भन्ने आफ्नो पार्टीको चाहना रहेको बताउनुभयो । संयोजक प्रचण्डले आफ्नो पार्टीले देशलाई सङ्कटबाट बचाउने उद्देश्यका साथ जनयुद्ध र जनआन्दोलनको तागतलाई एकीकृत गरेको बताउनुभयो। उहाँले धनगढीदेखि लम्ही, पोखरा, विराटनगर, जनकपुर, मधेस, सुर्खेत हुँदै काठमाडौँसम्म देखिएको जनताको विशाल उपस्थितिलाई खेलाँची नठान्न चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो शक्तिलाई फेरि जिस्क्याइयो, संविधानसँग फेरि खेलबाड गरियो भने यो शक्ति सडकमा आउनेछ ।’ प्रचण्डले ६ महिना वा १ वर्ष समय थप्ने हल्ला आएमा देश फेरि दुर्घटनामा पर्ने र अबको दुर्घटनाको बेला नेपाली कम्युनिष्ट पार्टी रमिते नबन्ने बताउनुभयो । बरु ७७ वटै जिल्ला र सबै पालिकाबाट समाजवादी आन्दोलनको, विद्रोहको झण्डा बोकेर सडकमा आउने उहाले घोषणा गर्नुभयो । उहाँले यो शक्तिले नै दुई सय ५० वर्ष पुरानो राजतन्त्रलाई धाराशायी पारेर गणतन्त्र स्थापना गरेको भन्दै यसको तागतलाई खेलाँची नठान्न जोड दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्