जनता टाइम्स

५ पुष २०८२, शनिबार १९:४८

एमालेकाे ईश्वर पाेखरेल प्यानलले गर्याे  छुट्टै धन्यवाद ज्ञापन तथा आन्तरिक समीक्षा कार्यक्रम


काठमाडौं, मंसिर ५ । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा गरेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले आज काठमाडौंमा धन्यवाद तथा आन्तरिक समीक्षा कार्यक्रम आयोजना गरेको छ।

पोखरेल पक्षले अलग्गै भेला राख्दै महाधिवेशनमा पाेखरेल प्यानलबाट उम्मेदवारी दिएका नेता–कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्नुका साथै चुनावी परिणामबारे आन्तरिक छलफल गरेको हो। भेलामा ईश्वर पोखरेल प्यानलबाट ११ औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूको उपस्थिति थियो।

पोखरेल प्यानलबाट निर्वाचित भएका उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो। कार्यक्रम कार्की बैंक्वेटमा आयोजना गरिएको थियो। तर भेलास्थलमा समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई ‘आन्तरिक छलफल’को कारण देखाउँदै बाहिर पठाइएको थियो।

महाधिवेशनमा अपेक्षित परिणाम आउन नसकेपछि पोखरेल समूहले आजको भेला मार्फत चुनावी समीक्षासँगै आगामी राजनीतिक रणनीतिबारे छलफल गरेको बुझिएको छ। महाधिवेशनअघि पार्टीभित्र नेतृत्व चयनलाई लिएर सहमतिको प्रयास असफल भएपछि पोखरेल पक्ष प्यानल बनाएर मैदानमा उत्रिएको थियो। यद्यपि मत परिणामले अध्यक्ष केपी शर्मा ओली पक्षलाई स्पष्ट बहुमत दिएको थियो भने पोखरेल प्यानलले सीमित पदमा मात्रै सफलता हात पारेको थियो। पाेखरेल पक्षले पदाधिकारीमा जम्मा दुई जनालाई नेतृत्वमा पुर्याउन सफल भएकाे छ ।

पोखरेल पक्षको प्यानललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन रहेको थियो। मत परिणामले साे पक्षलाई कमजाेर सावित गरिदिएकाे छ ।

आजको भेलालाई पोखरेल समूहको भावी भूमिकाबारे आन्तरिक समीक्षा र आत्ममूल्यांकनको सुरुवातका रूपमा हेरिएको छ। पार्टी नेतृत्वले महाधिवेशनलाई एकताको महाधिवेशनको रूपमा व्याख्या गरिरहँदा, प्यानल प्रतिस्पर्धामा उत्रिएको समूहले छुट्टै भेला र छलफल गरेकाे हाे ।