जनता टाइम्स

६ पुष २०८२, आईतवार १७:५७

कांग्रेस र एमालेका १४१ सांसदहरूले गरे संसद् पुनर्स्थापनाका लागि हस्ताक्षर


काठमाडौँ,  पुस ६ । नेपाली कांग्रेस र एमालेका बहुमत निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर जुटाउनुभएकाे छ।एमालेका ७५ र कांग्रेसका ६६ गरी १ सय ४१ निवर्तमान सांसदले पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गर्नुभएकाे हाे।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा १ सय ३८ सांसदको बहुमत हुन्छ। एमालेले मंसिर १० गते नै ७५ सांसदको हस्ताक्षरको सूचीसमेत सर्वोच्च अदालतमा बुझाइसकेको थियो भने कांग्रेसले सोमबार सांसद्हरूको हस्ताक्षार लिएर सर्वोच्च जाने तयारी गरेको निवर्तमान सांसद् रामहरि खतिवडाले जानकारी दिनुभयो।उहाँ पनि हस्ताक्षरकर्ताहरूमध्ये एक हुनुहुन्छ।

मंसिर २३ गते कांग्रेसा प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ सांसदले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। कांग्रेसले सोही रिटमा पक्ष कायम गर्न थप ५८ निवर्तमान सांसदहरूको हस्ताक्षर गराएको हो। कांग्रेसका प्रमुख सचेतक घिमिरेले सोमबार उक्त हस्ताक्षर लिएर सर्वोच्च अदालतमा जाने तयारी गर्नुभएको छ।

कांग्रेसका शीर्ष नेताहरूले भने यसमा हस्ताक्षर गरेका छैनन्। कांग्रेसका थप निवर्तमान सांसदहरूले पनि हस्ताक्षर गर्न आउने जानकारी पठाएको कांग्रेसले बताएको छ । कांग्रेसले संसद विघटन असंवैधानिक भने पनि निर्वाचनमा जाने धारणा सार्वजनिक गरिसकेको छ भने एमाले भने राजनीतिक रूपमा निर्वाचनको विपक्षमा रहँदै आएको छ।