आनन्द पोखरेल
नेपाल भूराजनीतिक दृष्टिले संवेदनशील अवस्थिति भएको मुलुक हो। उत्तरतर्फ चीन र दक्षिणतर्फ भारतबीच अवस्थित नेपाल आज विश्व शक्ति प्रतिस्पर्धाको नयाँ चरणमा उभिएको छ। दक्षिण एसियाको भू–राजनीतिक चक्र तीव्र गतिमा घुमिरहेका बेला एकातिर अमेरिकाको नेतृत्वमा अघि बढिरहेको Indo-Pacific Strategy र अर्कोतर्फ चीनको Belt and Road Initiative बीचको प्रभाव विस्तारले नेपालजस्ता मुलुकलाई रणनीतिक चासोको केन्द्रमा राखेको छ।
यस्तो परिस्थितिमा नेपालले कसरी सन्तुलित ढंगले अघि बढ्ने ? कसरी तटस्थता कायम राख्दै सार्वभौम राष्ट्रका रूपमा आफ्नो स्वतन्त्र निर्णयक्षमता जोगाउने ? यही प्रश्न अहिलेको राजनीतिक बहसको केन्द्रमा देखिन्छ।
‘नेपाल प्रभावक्षेत्र होइन’
नेकपा (एमाले) ले आफ्नो वैचारिक अडान स्पष्ट राख्दै आएको छ-नेपाल कुनै शक्तिको प्रभावक्षेत्र होइन, स्वतन्त्र र सार्वभौम राष्ट्र हो। पार्टीले ‘सुदृढ राष्ट्रियता, समृद्ध नेपाल’ लाई आफ्नो राजनीतिक दर्शनको आधार बनाउँदै आएको छ। एमालेको बुझाइमा राष्ट्रियता केवल भावनात्मक नारा नभई नीतिगत अडान हो।
इतिहासतर्फ सङ्केत गर्दै एमाले नेताहरूले नेपालले आफ्नै निर्णय आफैँ गर्ने साहस देखाउँदा राष्ट्र सुदृढ बनेको, तर बाह्य दबाबमा नीति निर्माण हुँदा अस्थिरता र अविश्वास बढेको अनुभव रहेको बताउने गरेका छन्।
प्रतिस्पर्धा सीमामा मात्र होइन
आजको शक्ति प्रतिस्पर्धा सीमारेखा वा सैन्य उपस्थितिमा मात्र सीमित छैन। विकास मोडल, पूर्वाधार निर्माण, लगानी, प्रविधि र रणनीतिक प्रभावको प्रतिस्पर्धा नै मुख्य बनेको छ। यस्तो अवस्थामा एमालेको मापदण्ड स्पष्ट रहेको दाबी गरिएको छ-कुनै परियोजना अमेरिका वा चीनबाट आयो भनेर अन्धस्वीकार वा अन्धअस्वीकार गर्ने होइन; त्यसले नेपालको उत्पादन क्षमता, रोजगारी, ऊर्जा, पूर्वाधार र आत्मनिर्भर अर्थतन्त्रमा कति योगदान पुर्याउँछ भन्ने आधारमा निर्णय हुनुपर्छ।
एमालेले राष्ट्रिय स्वाभिमान र प्राथमिकतालाई केन्द्रमा राखेर कूटनीतिक सन्तुलन कायम गर्नुपर्ने धारणा अघि सारेको छ।
निर्वाचन र शक्ति राष्ट्रको चासो
निर्वाचन नजिकिँदा शक्ति राष्ट्रका प्रतिनिधिहरूको नेपाल भ्रमण र रणनीतिक चर्चाले विशेष ध्यान खिच्ने गरेको छ। हालै Indo-Pacific रणनीतिसँग सम्बन्धित उच्चस्तरीय भ्रमणलाई केही विश्लेषकहरूले निर्वाचन–लक्षित कोणबाट समेत व्याख्या गरेका छन्। जेनेरेसन-जेड आन्दोलनमा अमेरिकी संलग्नताको चर्चा हुँदै आएको पृष्ठभूमिमा यस्ता भ्रमणहरूलाई राजनीतिक रूपमा विश्लेषण गर्ने प्रवृत्ति पनि देखिएको छ।
यद्यपि एमालेको विश्वास छ कि नेपाली मतदाता सचेत छन् र बाह्य सङ्केतभन्दा आन्तरिक सुशासन, विकास र स्थायित्वलाई प्राथमिकता दिन्छन्।
‘रातो वस्तु सबै मिठाई हुँदैन’
एमालेले विगतका राजनीतिक घटनाक्रमलाई सङ्केत गर्दै अस्थिरता र संविधानमाथिको सङ्कटले राष्ट्रलाई क्षति पुर्याएको विश्लेषण गरेको छ। बाह्य रूपमा आकर्षक देखिने सबै प्रस्ताव देशरहितमा उपयोगी नहुने तर्क गर्दै ‘रातो वस्तु सबै मिठाई हुँदैन, विदेशी क्याप्सुल सबै औषधि हुँदैन’ भन्ने सन्देश प्रवाह गरिएको छ।
पार्टीको धारणा अनुसार राष्ट्रिय स्वाधीनता भाषणले होइन, निर्णायक र स्थिर नेतृत्वले जोगिन्छ। अस्थिर गठबन्धन र दिशाहीन कूटनीतिले देशलाई प्रयोगशाला बनाउने जोखिम रहन्छ। त्यसैले सुदृढ सरकार र स्पष्ट नीतिले मात्र राष्ट्रलाई सम्मानित बनाउने विश्वास एमालेको छ।
‘सन्तुलित सक्रिय असंलग्नता’को नीति
एमालेले आफ्नो परराष्ट्र नीतिलाई ‘सन्तुलित सक्रिय असंलग्नता’ भनेर परिभाषित गरेको छ। सबैसँग मित्रता, कसैसँग वैरभाव होइन भन्ने सिद्धान्तमा आधारित यो दृष्टिकोणले नेपाललाई कसैको सुरक्षा छातामुनि होइन, आफ्नै राष्ट्रिय हितमा दृढ उभिने राष्ट्रका रूपमा अघि बढाउनुपर्नेमा जोड दिन्छ।
नेपालको चीनसँग ऐतिहासिक छिमेकी सम्बन्ध, भारतसँग खुला सीमा र गहिरो सामाजिक–आर्थिक अन्तरसम्बन्ध तथा अमेरिकासँग विकास साझेदारी रहेका छन्। एमालेको धारणा अनुसार यी सम्बन्धहरूलाई प्रतिस्पर्धाको मैदान होइन, अवसरको सेतु बनाउन सक्नु नै कुशल कूटनीति हो।
अवसर र जोखिमको दोहोरो आयाम
भूराजनीति नेपालका लागि अवसर पनि हो, जोखिम पनि। एमालेको तर्क छ-राज्य र नेतृत्व बलियो भए बाह्य प्रतिस्पर्धा अवसरमा रूपान्तरण हुन्छ; राज्य कमजोर भए त्यही प्रतिस्पर्धा दबाबमा परिणत हुन्छ। त्यसैले राष्ट्रिय एकता, आर्थिक आत्मनिर्भरता र स्थिर नेतृत्व अपरिहार्य सर्तका रूपमा प्रस्तुत गरिएको छ।
देशभक्ति कसैको विरोध गर्नु नभई नेपालको निर्णयक्षमता जोगाउनु हो भन्ने धारणा अघि सार्दै एमालेले हरेक निर्णय सार्वभौम राष्ट्रिय हितअनुसार हुने प्रतिबद्धता जनाएको छ।
शक्ति प्रतिस्पर्धाको बदलिँदो विश्व परिवेशमा नेपालले सन्तुलित, स्वाभिमानी र सक्रिय कूटनीतिक मार्ग अवलम्बन गर्नुपर्ने बहस तीव्र भइरहेका बेला एमालेले आफूलाई राष्ट्रिय हित सर्वोपरि मान्ने राजनीतिक शक्तिका रूपमा प्रस्तुत गरेको छ।













प्रतिक्रिया दिनुहोस्