जनता टाइम्स

२५ फाल्गुन २०८२, सोमबार १४:२२

प्रत्यक्षतर्फ ४० वर्षमुनिका ५४ जना विजयी, प्रतिनिधिसभामा युवा पुस्ताको बलियो उपस्थिति


काठमाडौं, २५ फागुन। प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणाम लगभग अन्तिम चरणमा पुग्दै गर्दा यसपटक संसदमा उल्लेख्य रूपमा युवा सांसदहरूको प्रवेश हुने देखिएको छ। प्राप्त मतपरिणामअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ मात्र ४० वर्षमुनिका ५४ जना उम्मेदवार विजयी हुनुभएको छ। समानुपातिकतर्फबाट समेत केही युवा सांसदहरू थपिने सम्भावना रहेको छ।

यसपटकको निर्वाचन परिणामले नेपाली राजनीतिमा युवा पुस्ताको प्रभाव उल्लेखनीय रूपमा बढेको संकेत गरेको विश्लेषकहरूले बताउनुभएको छ। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धेरै युवा उम्मेदवारहरू विजयी हुनुभएकाले संसदमा नयाँ पुस्ताको बलियो उपस्थिति देखिने भएको हो।

रास्वपाबाट सबैभन्दा धेरै युवा सांसद

प्रत्यक्षतर्फ ४० वर्षमुनिका अधिकांश सांसद रास्वपाबाट निर्वाचित हुनुभएको छ। अन्य दलबाट भने सीमित संख्यामा मात्र युवा उम्मेदवारहरू विजयी हुनुभएको छ।

प्राप्त विवरणअनुसार नेपाली कांग्रेसबाट तीन जना, नेकपा एमालेबाट दुई जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना तथा श्रम संस्कृति पार्टीबाट एक जना युवा उम्मेदवार विजयी हुनुभएको छ। बाँकी अधिकांश युवा सांसदहरू रास्वपाबाट संसद प्रवेश गर्न लाग्नुभएको हो।

बालेन शाहको ऐतिहासिक विजय

देशव्यापी जनसमर्थनसहित रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत हुनुभएका ३६ वर्षीय बालेन शाह भारी मतान्तरले विजयी हुनुभएको छ। उहाँले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै यस निर्वाचनमा उल्लेखनीय राजनीतिक सन्देश दिनुभएको छ।

अन्तिम मतपरिणामअनुसार बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्नुभएको छ भने केपी शर्मा ओली १८ हजार ७३४ मतमा सीमित हुनुभएको छ।

चर्चित युवा विजयहरू

यसपटकको निर्वाचनमा स्थापित तथा प्रभावशाली नेताहरूलाई युवा उम्मेदवारहरूले पराजित गरेका उल्लेखनीय परिणामहरू सार्वजनिक भएका छन्।

  • चितवन–३ बाट ३० वर्षीया सोविता गौतम विजयी हुनुभएको छ।

  • रुपन्देही–२ बाट २८ वर्षीय सुलभ खरेल विजयी हुनुभई एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पराजित गर्नुभएको छ।

  • मोरङ–६ बाट ३१ वर्षीया रुविना आचार्य विजयी हुनुभई नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई हराउनुभएको छ।

  • दाङ–२ बाट ३९ वर्षीय विपिनकुमार आचार्य विजयी हुनुभई एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्नुभएको छ।

  • काठमाडौं–५ मा २९ वर्षीय सस्मित पोखरेल विजयी हुनुभई नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल तथा राप्रपा अध्यक्ष कमल थापालाई पछि पार्नुभएको छ।

सबैभन्दा कान्छा सांसद

यसपटक प्रत्यक्षतर्फ निर्वाचित हुनेमध्ये मकवानपुर–२ बाट २५ वर्षीय प्रशान्त उप्रेती सम्भवत: सबैभन्दा कान्छा सांसद बन्नुभएको छ। उहाँले नेकपा एमालेका नेता महेशकुमार बर्तौलालाई पराजित गर्दै प्रतिनिधिसभामा प्रवेश गर्नुभएको हो।

अन्य दलबाट निर्वाचित युवा

नेपाली कांग्रेसबाट पनि केही युवा उम्मेदवारहरू विजयी हुनुभएको छ।

  • रौतहट–२ बाट मो. फिरदोश आलम (३९ वर्ष)

  • पाल्पा–१ बाट सन्दीप राना (३८ वर्ष)

  • मुस्ताङ–१ बाट योगेश गौचन थकाली (३२ वर्ष) विजयी हुनुभएको छ।

त्यस्तै नेकपा एमालेबाट

  • इलाम–२ बाट सुहाङ नेम्वाङ (३६ वर्ष)

  • ताप्लेजुङ–१ बाट क्षितिज थेबे (३८ वर्ष) विजयी हुनुभएको छ।

यसैगरी श्रम संस्कृति पार्टीबाट आरेन राई (२९ वर्ष) खोटाङ–१ बाट विजयी हुनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर शाही (३४ वर्ष) जुम्ला–१ बाट निर्वाचित हुनुभएको छ।

संसदको स्वरूप बदलिने संकेत

यसपटकको निर्वाचन परिणामले प्रतिनिधिसभाको संरचनामा नयाँ पुस्ताको प्रभाव उल्लेखनीय रूपमा बढ्ने संकेत गरेको छ। युवा, अभियन्ता तथा नयाँ राजनीतिक अनुहारहरू संसदमा प्रवेश गर्नुभएकाले नीति, शासनशैली तथा राजनीतिक बहसमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।

विश्लेषकहरूका अनुसार यस परिणामले पुराना दलप्रति देखिएको जनअसन्तुष्टि र नयाँ नेतृत्वप्रतिको बढ्दो विश्वास दुवैलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ।