काठमाडौं, कात्तिक ३ । धादिङ र जुम्लामा शंकास्पद वस्तु विस्फोट हुँदा एक बालकसहित चार जना घाइते भएका छन्। दुवै घटनामा घाइते भएकामध्ये एक बालकको अवस्था गम्भीर रहेको जनाइएको छ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ स्थित ज्यामिरेघाटमा त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याएर फुटाउने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार घटनामा काभ्रेको ढुङ्खर्क गाउँपालिका–९ का अन्दाजी २६ वर्षीय जंगे परियार र २४ वर्षीय रामचन्द्र परियार घाइते भएका हुन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ। घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ। घटनाबारे गजुरीबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको छ।
यस्तै, जुम्लाको हिमा गाउँपालिका–२ ओदीमा पुरानो जिआई पाइपजस्तो वस्तु ग्राइन्डरले काट्ने क्रममा विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
स्थानीय वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार स्थानीय कमल थापाको घरमा पानीको धारा निर्माण गर्ने क्रममा पाइपजस्तो वस्तु काट्दा विस्फोट भएको हो। घटनामा १४ वर्षीय बल रोकाया गम्भीर घाइते भएका छन् भने कमल थापा सामान्य घाइते भएका छन्।
वडाध्यक्ष रोकायाका अनुसार उक्त वस्तुभित्र गोलीका छर्राजस्ता सामग्री रहेको आशंका गरिएको छ। विगतको सशस्त्र द्वन्द्वका क्रममा विस्फोटक पदार्थ राखिएको हुन सक्ने आशंका पनि गरिएको छ। गम्भीर घाइते बालकलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको छ।
घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ।














प्रतिक्रिया दिनुहोस्