काठमाडौं, चैत १२। प्रधानमन्त्री सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न पाउँदा आफू सन्तुष्ट र उत्साहित रहेको बताउनुभएको छ।
बिहीबार साँझ बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले छोटो अवधिमा निर्वाचन सम्पन्न गरी जिम्मेवारी जननिर्वाचित सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य पूरा भएको उल्लेख गर्नुभयो। “अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु,” उहाँले भन्नुभयो।
उहाँले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कठिन परिस्थितिमा जिम्मेवारी सम्हाल्नुपरेको स्मरण गर्दै त्यस समयको चुनौतीपूर्ण अवस्थाबारे उल्लेख गर्नुभयो। आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्नुभयो।
प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ऐतिहासिक धरोहर, व्यवसाय तथा निजी सम्पत्तिमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो। साथै, देशलाई स्थायित्वतर्फ अघि बढाउन सबै राजनीतिक दल र नागरिकलाई एकताबद्ध हुन आह्वान गर्नुभयो।
उहाँले हालै सम्पन्न निर्वाचनमार्फत नागरिकहरूले परिवर्तनको पक्षमा स्पष्ट जनादेश दिएको बताउँदै नयाँ सरकारले सुशासन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, आर्थिक विकास र सामाजिक न्यायका क्षेत्रमा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गर्नुभयो।
प्रधानमन्त्री कार्कीले देशलाई स्थायित्व, समृद्धि र सुशासनतर्फ अघि बढाउन नयाँ नेतृत्व सफल हुने अपेक्षा व्यक्त गर्दै आफ्नो कार्यकालप्रति सबैको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो।













प्रतिक्रिया दिनुहोस्