जनता टाइम्स

१८ चैत्र २०८२, बुधबार ०८:११

देउवा–शेखर समूहको समानान्तर गतिविधि सुरु गरेपछि कांग्रेस अनुशासन समितिको बैठक आज बस्दै 


काठमाडौं, चैत १८ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । पार्टीभित्र पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि तीव्र बनाएपछि कांग्रेसले अनुशासन समितिको बैठक बोलाएको हो ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

मंगलबार देउवा समूहले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक राखेको थियो । उक्त बैठकमा शेखर कोइराला, शशांक कोइरालालगायत ठूलो संख्यामा नेताहरू उपस्थित भएपछि त्यसको राजनीतिक र सांगठनिक प्रभावबारे छलफल गर्न अनुशासन समितिको बैठक बोलाइएको जनाइएको छ ।

पार्टीभित्र समानान्तर गतिविधिले संगठनात्मक अनुशासन र नेतृत्वको एकतामाथि प्रश्न उठिरहेका बेला आजको बैठकलाई चासोका साथ हेरिएको छ । बैठकमा नेताहरूको गतिविधि, पार्टी विधानको पालना तथा आगामी कदमबारे छलफल हुने अपेक्षा गरिएको छ ।

यता देउवा पक्षले चैत १९ गते जिल्ला सभापतिहरूको भेला समेत बोलाएको छ । यसले कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अझ तीव्र बन्न सक्ने संकेत देखिएको छ ।

आज बस्ने अनुशासन समितिको बैठकले पार्टीभित्र विकसित पछिल्लो अवस्थाबारे के निर्णय गर्छ भन्ने विषयलाई राजनीतिक वृत्तमा विशेष महत्वका साथ हेरिएको छ ।