काठमाडौं, चैत २०। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले सामुदायिक वन उपभोक्ता समितिको १२ लाख १८ हजार ५१२ रुपैयाँ हिनामिना गरेको अभियोगमा मुद्दा दायर गरेको जनाएको छ।
अख्तियारका अनुसार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिको कोष रकम आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म गैरकानुनी रूपमा दुरुपयोग गरिएको पाइएको हो। उक्त प्रकरणमा समितिका अध्यक्ष अमरबहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्रबहादुर वयक क्षेत्री, सदस्य हरिप्रसाद अधिकारीसहित पाँच जनालाई प्रतिवादी बनाइएको छ।
आरोपपत्रमा नर्सरी व्यवस्थापन, वन मुद्दासम्बन्धी अधिवक्ता शुल्क, साक्षी खर्च तथा लेखापरीक्षण शुल्कका नाममा समेत प्रमाणविहीन खर्च देखाइएको उल्लेख छ। अख्तियारका अनुसार ५ लाख १७ हजार ५०० रुपैयाँ बिना बिल–भरपाई खर्च भएको देखाइएको छ, भने वन मुद्दाका नाममा ३ लाख रुपैयाँ र साक्षी खर्चका नाममा २ लाख ८५ हजार रुपैयाँ कोषबाट दुरुपयोग गरिएको पाइएको छ।
यसबाहेक समितिका अध्यक्षले व्यक्तिगत बसाइँसराइ खर्च तथा निजी जरिवाना तिर्न पनि समितिकै रकम प्रयोग गरेको अख्तियारले जनाएको छ। बसाइँसराइका लागि ४१ हजार १६२ रुपैयाँ र व्यक्तिगत जरिवाना तिर्न ५१ हजार ४८५ रुपैयाँ प्रयोग भएको दाबी गरिएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पाँचै जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भइसकेको छ र अब कानुनी प्रक्रिया अघि बढ्नेछ। मुद्दा दर्तासँगै रास्वपाभित्र पनि यस घटनाले राजनीतिक तरंग पैदा गर्ने देखिएको छ।













प्रतिक्रिया दिनुहोस्