काठमाडौं, चैत २१ । प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक पराजय बेहोरेपछि नेकपा (एमाले) भित्र नेतृत्व पुनर्गठनको बहस तीव्र बनेको छ। पार्टीभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने मागसहित हस्ताक्षर अभियान सुरु भएको स्रोतहरूले बताएका छन्।
पार्टी स्रोतका अनुसार निर्वाचन सम्पन्न भएको करिब एक महिना बितिसक्दा पनि औपचारिक समीक्षा प्रक्रिया प्रभावकारी रूपमा अघि नबढेको भन्दै महाधिवेशन प्रतिनिधिहरूबाट हस्ताक्षर संकलन थालिएको हो।
अभियानमा सक्रिय एक नेताले भने, “निर्वाचनपछि भएका निर्णय र नेतृत्वको जिद्दी हेर्दा पार्टीलाई जोगाउने विकल्प विशेष महाधिवेशन मात्रै देखिएको छ।”
एमालेको विधान–२०४९ को धारा ७३ अनुसार दुई तिहाइ जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरे ६ महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था छ। सोही प्रावधानअनुसार अभियान अगाडि बढाइएको बताइएको छ।
हस्ताक्षर अभियानका लागि तयार गरिएको निवेदनपत्रमा निर्वाचन परिणामलाई गम्भीर संकटका रूपमा व्याख्या गरिएको छ। निवेदनमा प्रत्यक्षतर्फ १६५ मध्ये ९ सिट र समानुपातिकतर्फ १३.४३ प्रतिशत मत मात्रै प्राप्त हुनु पार्टी नेतृत्वप्रति जनविश्वास घटेको संकेत भएको उल्लेख गरिएको छ।
विशेषगरी काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ११ क्षेत्रमा उम्मेदवारको जमानत जफत हुनु पार्टीका लागि गम्भीर चेतावनी भएको नेताहरूको निष्कर्ष छ।
निवेदनमा अहिलेको संकट केन्द्रीय सचिवालय वा केन्द्रीय कमिटीको समीक्षा मात्रले समाधान नहुने र व्यापक संरचनागत पुनरावलोकन आवश्यक रहेको उल्लेख गरिएको छ।
उच्च स्रोतका अनुसार यो अभियान मुख्यतः युवा तथा जुनियर तहका नेताहरूबाट अघि बढाइएको छ। यद्यपि केही शीर्ष नेताहरूले खुला रूपमा समर्थन नगरे पनि नेतृत्व परिवर्तनको बहस पार्टीभित्र तीव्र बन्दै गएको स्वीकार गरेका छन्।
एक पदाधिकारीले भने, “नेतृत्व परिवर्तनको पक्षमा ठूलो जनमत देखिएको छ, तर त्यसका लागि उपयुक्त विधि र व्यापक छलफल आवश्यक छ।”
पार्टी अध्यक्ष केपी शर्मा ओली प्रहरी हिरासतमा रहेकाले अहिले विशेष महाधिवेशनतर्फ जानु उपयुक्त नहुने धारणा पनि केही नेताहरूले व्यक्त गरेका छन्।
यसबीच शुक्रबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको ६ घण्टा लामो सचिवालय बैठकले निर्वाचन परिणामको संक्षिप्त समीक्षा सुरु गरेको जनाएको छ। बैठकले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाइ तथा शुभकामना पनि व्यक्त गरेको छ।
पछिल्ला दिनहरूमा उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव योगेश भट्टराई लगायत नेताहरूले नेतृत्व परिवर्तनको बहस सार्वजनिक रूपमा उठाइरहेका छन्।
स्रोतका अनुसार विशेष महाधिवेशनको मागसँगै पार्टी कार्यालयबाहिर युवा कार्यकर्ताहरूले प्रदर्शन, प्लेकार्ड र प्रतीकात्मक विरोधमार्फत नेतृत्व परिवर्तनको दबाब बढाइरहेका छन्।
यसले एमालेभित्रको आन्तरिक राजनीति अब नयाँ मोडतर्फ अग्रसर भएको संकेत दिएको छ।














प्रतिक्रिया दिनुहोस्