आनन्द पोखरेल
नेपालको कम्युनिष्ट आन्दोलन, विशेष गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)जस्तो लामो राजनीतिक इतिहास, बलियो संगठन र व्यापक जनआधार भएको पार्टी आज गम्भीर वैचारिक, संगठनात्मक र नैतिक संकटको मोडमा उभिएको छ । बाहिरबाट हेर्दा पार्टी अझै शक्तिशाली देखिए पनि भित्र गहिरिँदै गएको आत्मसन्तुष्टि, आलोचनाप्रतिको असहिष्णुता, नेतृत्वको पुनरुत्पादन संकट र जनतासँग कमजोर बन्दै गएको सम्बन्धले भविष्यप्रति गम्भीर प्रश्न उठाइरहेको छ ।
पछिल्ला दिनमा वाग्मती प्रदेशस्तरीय इन्चार्ज तथा केन्द्रीय सदस्यहरूको बैठकका दृश्यहरूले पनि यही यथार्थलाई उजागर गरेको छ । ती बैठक केवल संगठनात्मक कार्यक्रम थिएनन्, बरु आजको पार्टी संरचनाभित्र फैलिएको मनोविज्ञान, नेतृत्वशीलै र राजनीतिक संस्कृतिको प्रतिनिधि दृश्य बनेर देखापरे ।
हारलाई आत्मसमीक्षाको विषय नबनाई बाह्य कारणमा सीमित गर्ने, विचार–नीति र नेतृत्व परिवर्तनको बहसलाई ‘विरोधीको एजेण्डा’ भनेर खारेज गर्ने तथा बैठकलाई फोटोसेसन र औपचारिक भाषणमा सीमित गर्ने प्रवृत्ति अहिले पार्टीभित्र बलियो बन्दै गएको देखिन्छ । यही प्रवृत्तिले पार्टीभित्रको जीवित बहस, वैचारिक ऊर्जा र जनउत्तरदायित्व क्रमशः कमजोर बनाउँदै लगेको छ ।
इतिहासले दिएको चेतावनी
विश्वका धेरै कम्युनिष्ट पार्टीहरू सत्ता, संगठन र अनुशासन हुँदाहुँदै पनि जनविश्वास गुमाएर अप्रासंगिक बनेका उदाहरण इतिहासमा प्रशस्त छन् । जब पार्टीहरू जनताबाट टाढिँदै गए, आलोचनालाई दबाउन थाले र संगठनलाई केवल आदेश पालना गर्ने संरचनामा रूपान्तरण गरे, तब उनीहरू संरचनागत रूपमा बाँचे पनि समाजको निर्णायक शक्ति बन्न सकेनन् ।
नेपालको कम्युनिष्ट आन्दोलन पनि अहिले त्यही मोडमा पुगेको संकेत देखिन थालेको छ । प्रश्न अब केवल ‘पार्टी कसरी बचाउने ?’ भन्ने होइन, ‘पार्टीलाई पुनः जनआधारित, वैचारिक र परिवर्तनकारी शक्ति कसरी बनाउने ?’ भन्ने बनेको छ ।
यदि अहिलेको संकटलाई गम्भीर आत्मसमीक्षाको अवसरका रूपमा लिइएन भने पार्टी संरचनागत रूपमा बाँचे पनि आन्दोलनको आत्मा हराउने जोखिम बढ्नेछ ।
आत्मसमीक्षा नगरी पुनर्जागरण सम्भव छैन
कुनै पनि राजनीतिक संगठन पुनर्जीवित हुन पहिलो सर्त इमानदार आत्मसमीक्षा हो । केवल गठबन्धन, पैसा, राज्यशक्ति वा विरोधी प्रचारलाई हारको कारण देखाएर समस्याको समाधान हुँदैन ।
जनताले किन दूरी बनाए ? किन कार्यकर्तामा उत्साह घट्यो ? किन संगठन विचार र आन्दोलनभन्दा चुनावी मेसिनमा सीमित हुँदै गयो ?यी प्रश्नसँग गम्भीर र खुला बहस नगरी पुनर्जागरण सम्भव छैन ।
आज पार्टीभित्र नेतृत्वको आलोचना गर्नेलाई ‘पार्टीविरोधी’ देख्ने संस्कार बलियो बन्दै गएको छ । जबकि मार्क्सवादी आन्दोलनमा आलोचना र आत्मालोचना कमजोरी होइन, जीवनशक्ति मानिन्छ ।
दिवंगत नेता मदन भण्डारीले पनि जनताको विश्वास गुमाउने कम्युनिष्ट आन्दोलन अन्ततः औपचारिक संरचनामा सीमित हुने चेतावनी दिनुभएको थियो । आज त्यो चेतावनी झन् सान्दर्भिक देखिन्छ ।
नेतृत्वको पुनरुत्पादन किन रोकियो ?
आज एमालेभित्र देखिएको अर्को ठूलो संकट नेतृत्वको पुस्तान्तरण रोकिएको अवस्था हो । एउटै समूहले दशकौँसम्म निर्णय गर्ने, असफल भए पनि जिम्मेवारी नलिने र आलोचकलाई किनारामा राख्ने प्रवृत्तिले संगठनभित्र जाम सिर्जना गरेको छ ।
पार्टीभित्र अहिले योग्यता, योगदान र जनआधारभन्दा ‘को कुन नेताको नजिक छ ?’ भन्ने संस्कृतिले प्राथमिकता पाइरहेको आरोप कार्यकर्तास्तरमै सुनिन थालेको छ । यही संस्कृतिले नयाँ पुस्तामा निराशा बढाएको छ ।
यदि पार्टीले साँच्चै रूपान्तरण खोज्ने हो भने कार्यसम्पादन मूल्याङ्कन अनिवार्य गर्नुपर्छ । चुनाव हार्ने नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्छ । ‘कमान्डर संस्कृति’भन्दा जननेतृत्वको अभ्यास गर्नुपर्छ । युवा, बौद्धिक, श्रमिक, किसान र स्थानीय संघर्षबाट आएका पात्रलाई नेतृत्वमा ल्याउनुपर्छ ।
अन्यथा संगठन केवल केही सीमित व्यक्तिको नियन्त्रणमा रहने संरचनामा सीमित हुनेछ ।
संगठन जनमुखी कि आदेशमुखी ?
पछिल्ला बैठकहरूमा बारम्बार सुनिने एउटा वाक्य हो- ‘निर्देशन पालना गर्ने प्रतिबद्धता’ । सतहमा हेर्दा यो अनुशासन जस्तो देखिए पनि यसको गहिरो अर्थ संगठन जीवित राजनीतिक समुदायबाट प्रशासनिक संरचनामा रूपान्तरण हुँदै गएको संकेत हुन सक्छ ।
कम्युनिष्ट पार्टी केवल आदेश पालना गर्ने संयन्त्र होइन । त्यो जनताको चेतना, संघर्ष र आशाको संगठन हो ।
त्यसैले वडा तहदेखि खुला वैचारिक बहस हुनुपर्छ । सदस्यता नवीकरणसँगै राजनीतिक प्रशिक्षण अनिवार्य गरिनुपर्छ । जनवर्गीय संगठनलाई स्वतन्त्र र सक्रिय बनाइनुपर्छ । नेता होइन, नीति केन्द्रमा आउनुपर्छ ।
साथै श्रमिक मुद्दा, युवा पलायन, शिक्षा, स्वास्थ्य, कृषि र उत्पादनका सवालसँग पार्टी पुनः जोडिनुपर्छ । अहिले समाजमा उठिरहेका वास्तविक प्रश्नसँग सम्बन्ध तोडेर कुनै पनि पार्टी दीर्घकालीन रूपमा टिक्न सक्दैन ।
जबजलाई व्यवहारमा फर्काउनुपर्ने चुनौती
जनताको बहुदलीय जनवादको मूल आत्मा जनतासँग निरन्तर संवाद, बहुलवादको स्वीकार, राष्ट्रियता, सामाजिक न्याय र जनआधारित लोकतान्त्रिक अभ्यास थियो । तर आज जबज धेरै ठाउँमा केवल औपचारिक भाषण र उद्धरणमा सीमित भएको आलोचना बढिरहेको छ ।
समय बदलिएको छ । डिजिटल पुस्ता, नयाँ अर्थतन्त्र, प्रविधि, रोजगारी, सुशासन र पारदर्शिताका प्रश्न अहिलेको राजनीतिका केन्द्रमा छन् । त्यसैले जबजलाई पनि समयअनुसार पुनर्व्याख्या र सबलीकरण गर्नुपर्ने आवश्यकता देखिएको छ ।
यदि पार्टीले डिजिटल पुस्तासँग संवाद गर्न सकेन, भ्रष्टाचारविरोधी स्पष्ट छवि बनाउन सकेन र सहभागितामूलक लोकतन्त्रको अभ्यास गर्न सकेन भने भविष्यको पुस्तासँग सम्बन्ध कमजोर हुँदै जानेछ ।
अवसरवादले कमजोर बन्दै गएको कम्युनिष्ट संस्कृति
कम्युनिष्ट आन्दोलनको मूल आधार विचार, त्याग र जनसेवा हो । तर अहिले राजनीतिलाई अवसर र पहुँचको माध्यमका रूपमा हेर्ने प्रवृत्ति बढिरहेको गुनासो स्वयं कार्यकर्तामाझ सुनिन थालेको छ ।
राजनीतिक सादगी हराउँदै गएको छ । जनतासँगको दूरी बढिरहेको छ । सामाजिक सञ्जाल र फोटो राजनीतिले वास्तविक राजनीतिक कामलाई विस्थापित गर्न थालेको छ ।
यदि कम्युनिष्ट संस्कृतिलाई पुनर्जीवित गर्ने हो भने नेता र कार्यकर्ताको जीवनशैली पारदर्शी हुनुपर्छ । जनतासँगको सम्बन्ध व्यवहारमा देखिनुपर्छ । फोटो राजनीतिभन्दा मैदान राजनीतिलाई प्राथमिकता दिनुपर्छ ।
नयाँ पुस्ताका प्रश्नको जवाफ कसले दिने ?
आजको युवापुस्ताले गम्भीर प्रश्न गरिरहेको छ –
रोजगारी कहाँ छ ?
उत्पादन किन घटिरहेको छ ?
शिक्षा किन व्यापारीकृत भयो ?
कृषि किन संकटमा छ ?
राष्ट्र किन परनिर्भर बन्दै गइरहेको छ ?
यदि कुनै पार्टीसँग यी प्रश्नको विश्वसनीय उत्तर छैन भने त्यो पार्टी दीर्घकालीन वैचारिक शक्ति बन्न सक्दैन ।
त्यसैले अब नयाँ राष्ट्रिय एजेण्डा आवश्यक छ । उत्पादन र श्रममा आधारित अर्थनीति, राष्ट्रिय उद्योग संरक्षण, प्रविधि र नवप्रवर्तन, शिक्षा–स्वास्थ्यमा सार्वजनिक दायित्व, सहकारी र सामुदायिक अर्थतन्त्र तथा सन्तुलित राष्ट्रिय कूटनीति आजको आवश्यकता हुन् ।
निष्कर्ष : संगठन बचाउने कि आन्दोलन ?
आजको संकट केवल चुनावी हारको संकट होइन । यो विचार, नेतृत्व, संगठन र राजनीतिक संस्कृतिको संकट हो ।
यदि पार्टीले यसलाई इमानदार आत्मसमीक्षा र रूपान्तरणको अवसरका रूपमा लियो भने पुनर्जागरण सम्भव छ । तर यदि बैठक, भेला, फोटोसेसन, पद जोगाउने गणित र आत्मसन्तुष्ट भाषणमै सीमित रह्यो भने संगठन बाँचे पनि आन्दोलनको आत्मा हराउन सक्छ ।
कम्युनिष्ट आन्दोलन इतिहासले होइन, जनताले बचाउँछन् । जनताको विश्वास पुनः जित्ने एकमात्र बाटो विचारमा स्पष्टता, व्यवहारमा इमानदारिता, नेतृत्वमा परिवर्तन र जनतासँग पुनः जीवन्त सम्बन्ध निर्माण गर्नु हो ।













प्रतिक्रिया दिनुहोस्