जनता टाइम्स

८ जेष्ठ २०८३, शुक्रबार ०७:२३

कार्यविभाजन टुंग्याउन आज एमाले सचिवालय बैठक 


काठमाडौं, जेठ ८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बिहान ११ बजे बैठक बोलाइएको हो ।

पार्टी कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकको मुख्य एजेण्डा नेताहरूको कार्यविभाजन टुंग्याउने रहेको छ ।

गत मङ्सिरमा सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजन अझै बाँकी रहेकाले त्यसलाई अन्तिम रूप दिन सचिवालय बैठक बस्न लागेको बताइएको छ । चार दिनअघि बसेको सचिवालय बैठकमा कार्यविभाजनसम्बन्धी प्रस्ताव पेश गरिएको थियो ।

आजको बैठकले जिम्मेवारी बाँडफाँटलाई औपचारिक निर्णयमार्फत टुंग्याउने तयारी गरिएको एमाले स्रोतले जनाएको छ ।

यसअघि बसेको सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको होल्डमा राखिएको पार्टी सदस्यता नवीकरण खुलाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि एमालेभित्र भण्डारीको सक्रिय राजनीतिक भूमिकाबारे समेत चर्चा सुरु भएको छ ।