जनता टाइम्स

९ जेष्ठ २०८३, शनिबार ०७:३७

एमाले सचिवालय बैठक आज पनि बस्दै, निर्वाचन र कार्यविभाजनमा केन्द्रित छलफल हुँदै 


काठमाडौं, जेठ ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बिहान ११ः३० बजे बैठक बस्न लागेको हो ।

हिजो सुरु भएको बैठकमा पाँच जना उपाध्यक्षहरूले पार्टीको वर्तमान अवस्था, संगठनको गतिविधि तथा समसामयिक राजनीतिक परिस्थितिबारे समीक्षात्मक धारणा राख्नु भएकाे थियाे । त्यसपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

एमालेले आगामी निर्वाचनको तयारी, पार्टी संगठनको अवस्था तथा जनस्तरसम्म पार्टीको प्रभावका विषयमा गम्भीर छलफल गरिरहेको जनाएको छ । बैठकमा पार्टीभित्रको कार्यसम्पादन, सरकार र पार्टीबीचको समन्वय तथा संगठन सुदृढीकरणका विषय पनि उठाइएको स्रोतले जनाएको छ ।

पार्टीका उपमहासचिव लेखराज भट्टले हिजोको बैठकमा अहिलेको राजनीतिक अवस्थादेखि आगामी निर्वाचनसम्म केन्द्रित भएर लामो छलफल भएको जानकारी दिनुभएकाे छ । उहाँका अनुसार बैठकमा पार्टीलाई थप सक्रिय र प्रभावकारी बनाउने विषयमा नेताहरूले धारणा राख्नु भएकाे थियाे ।

आजको बैठकमा १२ जना पदाधिकारीले आफ्नो धारणा राख्ने कार्यसूची रहेको बताइएको छ । पदाधिकारीहरूको धारणा सकिएपछि नेताहरूको कार्यविभाजनको विषयमा पनि विस्तृत छलफल हुने तयारी गरिएको छ ।

एमालेभित्र पछिल्लो समय संगठनात्मक जिम्मेवारी, प्रदेश तथा जनसंगठनको परिचालन र आगामी रणनीतिलाई लिएर आन्तरिक तयारी तीव्र बनाइएको छ । त्यसैले सचिवालय बैठकलाई पार्टीको भावी रणनीति तय गर्ने महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ ।