काठमाडौं, जेठ १३। सङ्घीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने कार्यसूची तय गरिएको हो ।
प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सम्बन्धी राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।
यता, राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा. वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्नुहुने छ । साथै उहाँले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।













प्रतिक्रिया दिनुहोस्