जनता टाइम्स

१३ जेष्ठ २०८३, बुधबार ०९:३०

आज नेपाल प्रेस युनियनको स्थापना दिवस, विधान महाधिवेशन पनि आजै


काठमाडौं, जेठ १३ । नेपाल प्रेस युनियनले आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ३५औँ स्थापना दिवस मनाउँदैछ । स्थापना दिवसको अवसरमा युनियनका शाखाहरूले देशभर विविध कार्यक्रम आयोजना गर्दै छन् भने केन्द्रीय समितिले काठमाडौंमा विधान महाधिवेशन आयोजना गरेको छ ।

विधान महाधिवेशनको पूर्वर्धमा आज बिहान ७ बजे माइतीघर मण्डलामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । आजै विधान महाधिवेशन सुरु हुने युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो । महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डा. रामवरण यादव बाट हुने तय गरिएको छ ।

महाधिवेशनका लागि देशभरका शाखाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा तोकिएबमोजिमका प्रतिनिधिहरू काठमाडौं आइपुगेको युनियनका उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिनुभयो ।

वि.सं. २०४८ जेठ १३ गते श्रमजीवी पत्रकारहरूको हकहित संरक्षणका लागि भएको ट्रेड युनियन आन्दोलनकै उपजका रूपमा नेपाल प्रेस युनियनको स्थापना भएको थियो । युनियनले नेपालका सञ्चारकर्मीलाई संगठित गर्दै श्रमजीवी पत्रकारहरूको अधिकार, प्रेस स्वतन्त्रता तथा लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा निरन्तर वकालत गर्दै आएको छ ।

युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था समेत हो ।