जनता टाइम्स

१४ जेष्ठ २०८३, बिहीबार ०८:४४

जाइकाकाे अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने


काठमाडौं, जेठ १४ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा बीपी राजमार्गअन्तर्गत काभ्रे–सिन्धुली खण्डको काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्म बाँकी रहेको सडक दुई लेनमा निर्माण गरिने भएको छ ।

२ अर्ब ६० करोड रुपैयाँ अनुदान सहयोगमा निर्माण हुन लागेको ३.२ किलोमिटर सडक खण्डको ठेक्का जापानी कम्पनी Shimizu Corporation ले लिएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिनुभयो । उक्त सडक खण्डको एक कार्यक्रमबीच शिलान्यास गरिएको हो ।

वि.सं. २०८१ साल असोजमा आएको बाढीले बीपी राजमार्गअन्तर्गत भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको ३०.५ किलोमिटर सडकमा ठूलो क्षति पुर्‍याएको थियो । क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि २७.३ किलोमिटर सडक खण्डमा एक वर्षअघि नै ठेक्का प्रक्रिया अघि बढाइएको थियो ।

सिन्धुलीतर्फ बर्खेखोलादेखि गजुलीदहसम्मको ५ किलोमिटर सडक खण्ड खरिढुंगा घिसिङ–क्षितिज जेभीले भ्याट बाहेक ५५ करोड रुपैयाँमा निर्माण गरिरहेको सिन्धुली सडक डिभिजन कार्यालय खाल्टेले जनाएकाे छ ।

त्यस्तै काभ्रेतर्फ भकुण्डेबेँसीदेखि चारसयबेँसीसम्मको ११ किलोमिटर सडक खण्ड लामा–नवकान्तिपुर जेभीले १ अर्ब १४ करोड रुपैयाँमा निर्माण गरिरहेको छ । चारसयबेँसीदेखि डालाबेँसीसम्मको ९ किलोमिटर सडक खण्ड खानी–कमलजित–एवान जेभीले भ्याट बाहेक १ अर्ब २२ करोड रुपैयाँमा निर्माण गर्ने गरी २०८२ असारमा सम्झौता गरेको जनाइएको छ ।

यस्तै डालाबेँसीदेखि पिप्लेसम्मको २.३ किलोमिटर सडक खण्ड उमा एन्ड कम्पनी–भण्डारी–अमरज्योति जेभीले ६८ करोड ८० लाख रुपैयाँमा २०८२ कात्तिकमा ठेक्का सम्झौता गरेको बताइएको छ ।

जाइकामार्फत निर्माण हुने सडक खण्डको शिलान्यास पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र नेपालका लागि जापानका राजदूत मायदा तोरु ले संयुक्त रूपमा सिन्धुली र काभ्रेको सीमा क्षेत्र बर्खेखोलामा गर्नुभएको थियो ।

शिलान्यास कार्यक्रममा जाइका नेपालका मुख्य प्रतिनिधि मात्सुजाकी मिजुरी, सुनकोशी गाउँपालिका अध्यक्ष दीपा बोहरा दाहाल, उपाध्यक्ष कपिलकुमार कोइराला, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा लगायत जनप्रतिनिधि, निर्माण कम्पनीका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।