जनता टाइम्स

१६ जेष्ठ २०८३, शनिबार २०:२२

सामाजिक सञ्जालबाट उदाएका राजनीतिक शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन


काठमाडौँ,  जेठ १६ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन ले सामाजिक सञ्जाल तथा डिजिटल प्लाटफर्मको प्रभावबाट उदाएका राजनीतिक शक्तिहरू दीर्घकालीन रूपमा टिक्न नसक्ने टिप्पणी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भर्चुअल दुनियाँबाट जन्मिएका राजनीतिक शक्ति तीव्र गतिमा उदाउने र त्यत्तिकै छिटो कमजोर हुने दाबी गर्नुभयो ।

पछिल्लो समय विकसित राजनीतिक प्रवृत्तिको विश्लेषण गर्दै नेता पुनले यस्ता शक्तिमा स्पष्ट राजनीतिक विचार, नेतृत्व र संगठनात्मक आधारको अभाव रहेको बताउनुभयो ।

उहाँले अहिलेको डिजिटल युगमा राजनीतिक एजेण्डा सामाजिक सञ्जालमार्फत तय हुने र त्यहाँ कुनै निश्चित नेतृत्व नहुने अवस्था देखिएको उल्लेख गर्नुभयो । निर्वाचनका बेला मतदान केन्द्रमा भौतिक उपस्थिति अपेक्षाकृत कम देखिए पनि परिणाम भने अनपेक्षित आउने गरेको उहाँको भनाइ थियो ।

“भर्चुअल दुनियाँबाट उठेको आन्दोलन तीव्र रूपमा उठ्छ र तीव्र रूपमै तल जान सक्छ,” उहाँले भन्नुभयो, “कुनै विचार, राजनीति, आन्दोलन, त्याग, बलिदान र वर्ग खडा गरेर आएको शक्ति होइन । नयाँ भन्नेहरू कोल्याप्स हुन्छन् र फेरि हाम्रै साथीहरू अगाडि आउनुहुन्छ ।”

सांसद पुनले नयाँ भनिएका दलका मन्त्रीहरू छोटो समयमै पदमुक्त हुनुले उनीहरूको राजनीतिक जग कमजोर रहेको संकेत गरेको दाबी गर्नुभयो ।

उहाँले राजनीतिक विचार, त्याग, बलिदान र संगठनात्मक आधारबिना स्थापित भएका शक्तिहरूले समाज र राज्यलाई दीर्घकालीन रूपमा नेतृत्व गर्न नसक्ने धारणा व्यक्त गर्नुभयो ।

पञ्चायतकालीन आन्दोलन तथा जनयुद्धजस्ता संघर्षबाट विकसित राजनीतिक शक्तिहरूसँग तुलना गर्दै उहाँले हालको ‘भर्चुअल’ राजनीतिक लहर स्थायी नहुनेमा जोड दिनुभयो ।