जनता टाइम्स

२० जेष्ठ २०८३, बुधबार १९:५४

अझै सकिएन टिकटकर तुलसी अधिकारीको मुद्दामा बहश, तेसो दिन पनि प्रहरी फेरि हिरासतमै रात


ललितपुर, जेठ २० । टिकटकर तुलसी अधिकारी फेरि प्रहरी हिरासतमै पुग्नुभएको छ । उहाँको मुद्दामा ४० जना स्वयंसेवी वकिलले वकालतनामा पेश गरेपछि बहश नसकी अदालतले पुन प्रहरी हिरासतमै पठाएको हो ।

सबैले बहस गर्न नभ्याएपछि बुधबार पनि थुनछेक आदेश नभएपछि अधिकारीलाई फेरि प्रहरी हिरासतमा पठाइएको जिल्ला अदालत ललितपुरले जनाएको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासमा तुलसीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा छ । ललितपुरका प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले उहाँलाई आज पनि त्यहीँको हिरासतमा राखिने जानकारी दिनुभयो ।

ब्यवसायी कुमार चिमोरियाको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा टिकटकर अधिकारी, अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी बनाइएको छ । आरोपी विरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलेको हो ।

चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिनुभएको थियो । उहाँको उजुरीप्छि छानविनको क्रममा प्रहरीले टिकटकर अधिकारीको २१ करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धीकरण मुद्दा समेत चलाएको छ । २०८२ भदौदेखि फरार अधिकारी छिमेकी मुलुक चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ गरिएको थियो ।