जनता टाइम्स

२३ जेष्ठ २०८३, शनिबार ०८:२५

सशस्त्र प्रहरीले समातेको बिद्युतीय सवारीबारे छानबिन गर्न मुस्ताङ आइपुग्यो छानविन टोली


मुस्ताङ, जेठ २३। कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि गठित छानबिन समिति मुस्ताङ आइपुगेको छ ।

विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि अर्थ मन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

कोरलानाकाबाट पैठारी गरिएका विद्युतीय सवारीको अनुसन्धानका लागि शाक्य नेतृत्वको तीन सदस्यीय टोली आज बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुगेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख बिदुर चुडालले जानकारी दिनुभयो ।

छानबिन टोली मुस्ताङ आउनुअघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणका लिएका विद्युतीय सवारी साधनको अनुगमन समेत गरेको भन्सार प्रमुख चुडालले जानकारी दिनुभयो ।

चीनबाट पैठारी गरी नेपाल भित्रिएका विद्युतीय सवारी साधन आयातमा कैफियत रहे वा नरहेको भन्ने विषयमा टोलीले अनुसन्धान सुरु गरेको हो । टोलीले पोखरा हेम्जामा ९८ र पर्वतको कुश्मा १७ वटा विद्युतीय सवारीको अनुगमन गरेको छ ।

भन्सार प्रमुख चुडालका अनुसार कोरलानाकाबाट भन्सार जाँचपास भई लोमान्थाङ हुँदै जोमसोम झारिएका २६६ वटा विद्युतीय सवारी साधनको समेत शुक्रवार नै टोलीले स्थलगत अनुगमन गरेको छ । मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित बसपार्क क्षेत्रमा पार्किङ गरी राखिएका उक्त सवारी साधनको अनुगमन गरिएको छ ।

छानबिन टोली कोरलामा राखिएका ३९४ वटा विद्युतीय सवारीको अनुगमनका लागि शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्ने छ । गत भदौ ३१ गतेदेखि सञ्चालनमा आएको कोरलानाकाबाट गत जेठको दोस्रो साता चिनियाँ कम्पनी बीवाईडीले ७७५ वटा विद्युतीय सवारी साधन नेपाल भित्र्याएको थियो ।बिवाइडीले सेटिङ गरेर राजस्व छलेर ती सवारी साधन भित्र्याएको देखिएपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।