धनगढी, जेठ २५ । नेपाली कांग्रेसले सुदूरपश्चिम सरकारमा पाँच जना नयाँ मन्त्रीहरू नियुक्त गरेको छ। कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार बेलुकी पार्टीको तर्फबाट पाँच जना नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्री शाहले आर्थिक मामिला मन्त्रीमा विक्रमसिंह धामी, राज्यमन्त्रीमा जुना दानी, उद्योग पर्यटन तथा वन वातावरण मन्त्रीमा मानबहादुर रावल, सामाजिक विकास मन्त्रीमा बेलबहादुर राना मगर र राज्य मन्त्रीमा मधु भारतीलाई नियुक्त गर्नुभएको छ ।
आइतबार कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले हाल मन्त्रीमा सामेल व्यक्तिहरूलाई फिर्ता बोलाउने र नयाँलाई पठाउने निर्णय गरेको थियो। यसअघि शाह नेतृत्वको सरकारमा कांग्रेसबाट बलबहादुर सिंह थापा आर्थिक मामिला मन्त्री, मेघराज खड्का सामाजिक विकास मन्त्री, शिवराज भट्ट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, प्रकाश बम आर्थिक मामिला राज्यमन्त्री र सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री हुनुहुन्थ्यो । मन्त्री सबैलाई सोमबार मात्रै बिदाई गरिएको थियो।
कांग्रेस भित्रको आन्तरिक खटपटका कारण मुख्यमन्त्री शाह पुराना मन्त्रीलाई निकालेर नयाँ मन्त्री नियुक्त गर्न बाध्य हुनुभएको हो । सुदूरपश्चिम सरकारमा कांग्रेसका मुख्यमन्त्री शाह सहित हाल १० जनाको मन्त्रिपरिषद छ। शाह २०८१ साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। शाह पहिलो पटक २०७९ माघ २६ गते मुख्यमन्त्री बन्नुभएको थियो ।
सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८ र एमालेका ११ सांसदहरू छन्। बहुमतका लागि २७ सांसद आवश्यक पर्ने हुँदा दुई ठूला दल कांग्रेस र एमाले मिले संख्या पर्याप्त छ। सुदूरपश्चिम प्रदेश सभामा कुल ५३ जना प्रदेशसभा सदस्य थिए। त्यसमध्ये फागुन २१ गतेको निर्वाचनमा पदबाट राजीनामा दिएर १ जना निर्वाचनमा लडेका थिए। यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना समानुपातिक सांसद छन्। पछिल्लो समय नाउपा, समाजवादी लगायतका दलहरू नेकपामा समायोजित भएपछि बाँकी २१ जना सांसद नेकपाका पक्षमा छन्।













प्रतिक्रिया दिनुहोस्