रामेछाप, जेठ २७ । स्थानीय स्तरमै उपलब्ध बाँसको सदुपयोग गर्दै आकर्षक हस्तकलाका सामग्री उत्पादन गरी राम्रो आम्दानी गर्न सकिने सम्भावनालाई उजागर गर्ने उद्देश्यले उमाकुण्ड गाउँपालिका–३ कुबुकास्थलीमा सञ्चालन गरिएको ३० दिने बाँस हस्तकला सीप विकास तालिम सम्पन्न भएको छ।
उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजनामा तथा उमाकुण्ड गाउँपालिकाको समन्वयमा सञ्चालन भएको तालिममा सहभागीहरूले बाँसबाट विभिन्न उपयोगी तथा बजारमा माग भएका सामग्री निर्माण गर्ने सीप हासिल गरेका छन्।
तालिमका क्रममा सहभागीहरूले डोका, डाला, नाङ्ला, मुढा, र्याक, ढकी लगायतका आकर्षक बाँसजन्य सामग्री तयार गरेका छन्। स्थानीय रूपमा सहजै उपलब्ध हुने बाँसलाई आधुनिक र व्यावसायिक उत्पादनसँग जोड्न सके ग्रामीण समुदायका लागि आयआर्जनको प्रभावकारी माध्यम बन्न सक्ने सन्देश तालिमले दिएको छ।

कार्यक्रममा बोल्दै उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष शावित्री सुनुवारले स्थानीय स्रोत–साधनको उपयोग गर्दै आत्मनिर्भर बन्न यस्ता सीपमूलक तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले सिकेको सीपलाई व्यवहारमा उतारेर घरेलु उद्यम सञ्चालन गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
तालिम सम्पन्न भएपछि उपाध्यक्ष सुनुवारले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो। प्रमाणपत्र वितरणसँगै तालिममा तयार गरिएका बाँसका सामग्रीहरू प्रदर्शनमा राखिएकाे थियाे ।

ग्रामीण क्षेत्रमा पर्याप्त मात्रामा पाइने बाँसको प्रयोग अझै पनि परम्परागत सीमाभित्र रहेकाले यस्ता तालिमले त्यसलाई व्यावसायिक अवसरमा रूपान्तरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी महिलाहरू तथा स्वरोजगारको खोजीमा रहेका युवायुवतीका लागि बाँसजन्य हस्तकलाका सामग्री उत्पादन आम्दानीको भरपर्दो आधार बन्न सक्ने छ ।

बजारको मागअनुसार गुणस्तरीय र आकर्षक सामग्री उत्पादन गर्न सके डोका, डाला, नाङ्ला, मुढा, र्याक र ढकीजस्ता वस्तुको बिक्रीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको छ। यसले एकातिर स्थानीय सीप र संस्कृतिको संरक्षण हुने तथा अर्कोतर्फ ग्रामीण अर्थतन्त्रलाई समेत चलायमान बनाउन योगदान पुग्ने विश्वास गरिएको छ।
स्थानीय स्रोतको अधिकतम उपयोग गर्दै उद्यमशीलता विकास गर्ने लक्ष्यसहित सञ्चालन गरिएका यस्ता सीप विकास तालिमले बेरोजगारी न्यूनीकरणसँगै गाउँमै रोजगारी र आयआर्जनका नयाँ अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्