काठमाडौं, जेठ २८ । जेनजी आन्दोलनकी अभियन्ता रक्षा बमले नयाँ उदाएका सांसद तथा जनप्रतिनिधिहरूलाई विगतको राजनीतिक भाष्यबाट बाहिर निस्किएर वर्तमानका समस्या समाधानमा केन्द्रित हुन आग्रह गर्नुभएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले “३५ वर्ष” को राजनीतिक भाष्य दोहोर्याएर मात्र जनअपेक्षा पूरा नहुने उल्लेख गर्नुभएको छ। नयाँ नेतृत्वको पनि कार्यकालको गणना सुरु भइसकेकाले अब परिणाममुखी काम गर्नुपर्ने उहाँको भनाइ छ।
“नयाँ उदाएका माननीयज्यूहरू, कृपया यो ‘३५ वर्षसम्म, ३५ वर्षसम्म’ भन्ने भाष्यबाट अब बाहिर निस्किनुहोस्। अब तपाईंहरूको पनि गन्ती सुरु भइसकेको छ,” उहाँले लेख्नुभएको छ।
बमले घरबारविहीन सुकुम्बासी, भूमिहीन नागरिक, बेरोजगार युवा तथा वैदेशिक रोजगारीमा पसिना बगाइरहेका नेपालीहरूले सरकार र जनप्रतिनिधिको कामको मूल्याङ्कन गरिरहेको उल्लेख गर्नुभएको छ।
उहाँले अहिले शासन र निर्णय गर्ने जिम्मेवारी नयाँ नेतृत्वकै हातमा रहेको भन्दै विगतलाई दोष दिँदै बस्नुभन्दा वर्तमान र भविष्यका चुनौती समाधानमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
“अब डाडुपन्यु तपाईंहरूकै हातमा छ। त्यसैले विगतभन्दा वर्तमान र भविष्यमा केन्द्रित हुनुहोस्,” उहाँले लेख्नुभएको छ।
रक्षा बमले आगामी निर्वाचनसम्म वर्तमान जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकाल पूरा हुने स्मरण गराउँदै जनताले उनीहरूका प्रतिबद्धता, घोषणा र बाचापत्रको निरन्तर मूल्याङ्कन गरिरहेको उल्लेख गर्नुभएको छ।
“तपाईंहरूको बाचापत्र जनजनको हातमा छ। जनताले सम्झेका छन्, हेरिरहेका छन् र हिसाब पनि राखिरहेका छन्,” उहाँले सामाजिक सञ्जालमार्फत सचेत गराउनुभएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको उहाँको यो अभिव्यक्ति अहिले राजनीतिक वृत्तमा चर्चा बटुलिरहेको छ।













प्रतिक्रिया दिनुहोस्