काठमाडौं, जेठ २८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा नियुक्त हुनुभएका राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठले पदबहाली गर्नुभएको छ।
युवा तथा खेलकुद मन्त्रालयले उपाध्यक्षसहित पाँच जना पूर्व राष्ट्रिय खेलाडीलाई राखेपको बोर्ड सदस्यमा मनोनयन गरेको हो। सोअनुसार राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचन, राष्ट्रिय टेबलटेनिस खेलाडी सिक्का सुवाल, राष्ट्रिय बुद्धिचाल खेलाडी मोनालिसा खम्बू तथा पूर्व फुटबलर पवन शाहीलाई बोर्ड सदस्यमा मनोनयन गरिएको छ।
पदबहालीपछि नवनियुक्त उपाध्यक्ष श्रेष्ठले खेल मैदानबाट खेल प्रशासन र नीतिगत तहमा काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै जिम्मेवारी थपिएको बताउनुभएको छ। उहाँले खेलकुद क्षेत्रको विकास, संरचनागत सुधार र खेलाडीको हितका लागि आफूले इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ।
राखेपमा नयाँ नेतृत्व र पूर्व खेलाडीहरूको सहभागिताले खेलकुद प्रशासनलाई व्यावसायिक र खेलमैत्री बनाउने अपेक्षा गरिएको छ।














प्रतिक्रिया दिनुहोस्