काठमाडौं, जेठ २९ । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारविरुद्ध सशक्त राजनीतिक आन्दोलन सञ्चालन गर्ने चेतावनी दिनुभएको छ। उहाँले आगामी ६ महिनाभित्र सरकार परिवर्तन हुने अवस्था सिर्जना गर्न एमालेले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो।
नेकपा एमाले वाग्मती प्रदेश संगठन कमिटीको बैठकलाई शुक्रबार सम्बोधन गर्दै बस्नेतले भदौ २३ र २४ गते सञ्चालन गरिएको आन्दोलनभन्दा अझ प्रभावकारी र सशक्त आन्दोलनको आवश्यकता रहेको धारणा राख्नुभयो।
उहाँले वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रघाती अभिव्यक्ति’ दिइरहेको बताउनुभयो। देशको राजनीतिक परिस्थितिलाई लक्षित गर्दै उहाँले नेतृत्वको अभाव देखिएको टिप्पणी गर्नुभयो। ‘अब हामी बालेन सरकारलाई ६ महिना पनि नटिक्ने गरी भदौ २३ र २४ गते भएको आन्दोलनभन्दा सशक्त आन्दोलन एमालेको नेतृत्वमा गर्न आवश्यक छ,’ बस्नेतले भन्नुभयो।
बस्नेतले संसदमा प्रभावकारी प्रतिपक्षी आवाज कमजोर बन्दै गएको दाबी गर्दै देशमा नेतृत्वहीनताको अवस्था सिर्जना भएको बताउनुभयो। यस्तो अवस्थामा नेकपा एमालेले जनताको भावना र राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक उभिनुपर्ने उहाँको भनाइ थियो।
उहाँले पार्टीभित्रको एकतालाई अझ मजबुत बनाउँदै सरकारका गतिविधिविरुद्ध संगठित र सशक्त राजनीतिक संघर्ष अघि बढाउनुपर्नेमा जोड दिनुभयो। संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा जनतासँग प्रत्यक्ष संवाद विस्तार गर्दै पार्टीलाई आन्दोलनका लागि तयार पार्नुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो।
उहाँले सरकारको कार्यशैलीप्रति जनस्तरमा असन्तुष्टि बढ्दै गएको दाबी गर्दै त्यसलाई राजनीतिक रूपमा संगठित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।













प्रतिक्रिया दिनुहोस्