जनता टाइम्स

३१ जेष्ठ २०८३, आईतवार २१:३१

शैलुङको पर्यटन प्रवर्द्धनका लागि शैलुङ अल्ट्रा म्याराथुन


रामेछाप, जेठ ३१ । आकर्षक पर्यटकीय गन्तव्य शैलुङको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रामेछापमा शैलुङ अल्ट्रा म्याराथुन’ सम्पन्न भएको छ।

हाइ अल्टिच्युडकाे उक्त दौड दोरम्बा शैलुङ गाउँपालिका–१ स्थित डडुवा शैलुङमा पुगेर सम्पन्न भएको हाे। प्रतियोगितामा देशभरबाट तीन सयभन्दा बढी धावकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताको पुरुषतर्फ सशस्त्र प्रहरी बलका निरज भट्ट प्रथम हुनुभएको छ। त्यसैगरी नुवाकोटका सञ्जय तामाङ द्वितीय तथा खोटाङका धिरन राई तृतीय हुनुभएको आयोजकले जनाएको छ।

महिलातर्फ पाँचथरकी सम्झना कुरुङ प्रथम, गोरखाकी गीता नेपाली द्वितीय तथा सिन्धुलीकी मञ्जु सुनुवार तृतीय हुनुभएको छ।

कार्यक्रममा बोल्दै दोरम्बा शैलुङ गाउँपालिका–१ का वडाध्यक्ष प्रेम लामाले शैलुङ क्षेत्रको प्राकृतिक सौन्दर्य र धार्मिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता खेलकुद गतिविधिले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले शैलुङमा पर्यटकको आगमन बढाउन म्याराथुनले सकारात्मक भूमिका खेल्ने बताउँदै प्रतियोगितामा सहभागी खेलाडी तथा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।

प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को पाँच लाख रुपैयाँ आर्थिक सहयोगमा सम्पन्न भएको हो। ‘शैलुङ अल्ट्रा म्याराथुन’ आयोजक समितिको व्यवस्थापनमा सम्पन्न भएको उक्त प्रतियोगिता पछिल्ला केही वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको छ।

प्रतियोगितामा पुरुष र महिला दुवै तर्फका उत्कृष्ट १०/१० जना धावकलाई नगद पुरस्कार, सिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। नेपालका विभिन्न जिल्लाबाट धावकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको यस अभियानले शैलुङ क्षेत्रलाई साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा धार्मिक महत्वका कारण शैलुङ पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।

सुनापतिदेखि शैलुङसम्मको मनोरम पदमार्ग हुँदै आयोजना गरिएको म्याराथुनले खेल पर्यटनको अवधारणालाई थप सुदृढ बनाएको सहभागीहरूले बताएका छन्। स्थानीय समुदायले समेत यस्ता कार्यक्रमले क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।