जनता टाइम्स

२९ बैशाख २०७६, आईतवार १०:४३

ओली-प्रचण्डको निश्वार्थताले संभव बन्यो पार्टी एकता र समृद्धीको आधार


तीर्थ भट्टराई

नेपाली शब्दकोषमा अरिङ्गालको अर्थ एक प्रकारको विषालु किरा हो तर नेपाली राजनितिको आधुनिक शब्दकोषमा अरिङ्गालको अर्थ समृद्ध नेपाल, सुखी नेपालीका सहयोगी अभियान्ता भन्ने बुझिन्छ। केही समय अघि अरिङ्गाल शब्द सञ्चार माध्यममा भाइरल भएको थियो । यसको सन्दर्भ थियो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शालीन नेता पोष्टबहादुर बोगटीको चौंथो स्मृति दिवस । उक्त कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मन्तव्य दिने क्रममा ‘अनेकौं बाधा व्यवधान र षड्यन्त्रका वीचमा हामीले पार्टी एकीकरण गर्यौं । यसबाट हाम्रा विरोधी शक्तिहरू खुशी छैनन् । यो एकीकरण भाँड्न, हामीलाई फुटाउन अनेक प्रयत्न भइरहेको छ । हामी वीचमा दरार पैदा गर्ने, त्यसभित्र सानो फेसा ठोकेर अलि स्पेस निकाल्ने, त्यो स्पेसमा अलि ठूलो फेसा ठोक्ने र पुरै फुटाल्ने रणनीति एकता विरोधी तत्वहरूको छ । यसबाट हामी सावधान रहनु पर्छ । कुनै बेला प्रधानमन्त्री भएकोले ममाथि आक्रमण हुन्छ, त्यसबेला प्रचण्डजी लगायतका अरु ए ! यो त केपीलाई प्रहार गरेको रहेछ भनेर चुप लागेर बस्ने, कुनै बेला प्रचण्डजीलाई प्रहार भएको बेला ए ! यो त प्रचण्डलाई रहेछ भनेर हामीले खुच्चिङको भावमा टाउको हल्लाउने गर्ने हो भने हामी सिद्धिन्छौं । त्यसैले हामी अरिङ्गाल जस्तो हुनु पर्छ । आफ्नो समूहको कुनै सदस्यलाई आक्रमण हुँदा हामी सबै त्यसको रक्षामा लाग्नुपर्छ’ भन्नुभयो । तर यसलाई विपक्षीमाथि अरिङ्गाल झैं खनिनु पर्छ भन्ने अर्थमा ‘भाइरल’ बनाइयो । वास्तवमा यसको अर्थ हाम्रो एकीकरण प्रक्रिया, यसबाट प्राप्त भएको वा हुने सकरात्मक परिणामको लागि हामी सबै मिलेर यसको रक्षाका गर्न लागौं भन्ने नै हो ।

नेकपाको एकीकरण सजिलै भएको हैन र यसको महत्व पनि सानो छैन । यसको अवसर सानो छैन, चुनौती र जोखिम पनि सानो छैन । पार्टी अध्यक्षद्वयले आफ्नो र पार्टीको स्वार्थ मात्र हेर्नु भएको थियो भने यो एकीकरण कुनै पनि मूल्यमा संभव थिएन । सत्ताको केन्द्रमा भएकोले नेकपा वा यसको सरकारलाई असफल बनाउन जानेसम्मका सबै अस्त्रहरू प्रयोग हुने गरेका छन् । यसप्रति नेता तथा कार्यकर्ताहरू सदासर्वदा सजग रहेर आफ्ना मत अभिमतहरू सही ठाउँमा जाहेर गर्नु पर्दछ र हाम्रा समस्याहरू आफैंभित्रैबाट समाधान गरिनु पर्दछ । आफूभित्र रहेको असमझदारीलाई सार्वजनिक गरेर जग हँसाउने काम बन्द गर्नुपर्छ । यस्तो हर्कतले विरोधी शक्तिलाई हँसाउने छ भने यो देशको हित चिताउने पङ्क्तिलाई रुवाउने छ । एउटालाई असफल बनाएर त्यो ठाउँमा आफु गइ सफल हुन्छु भन्ने वा म आफू भइन भने अरु कोही नहोस् भन्ने सोचले असफलता र विनाश बाहेक कुनै परिणाम दिने छैन । नेताहरूले आफ्नो तत्कालीन स्वार्थ र शक्ति मात्र हेरेर चल्ने होइन, आफ्ना पछि रहेका सन्तानहरूको भविष्य सम्झिएर दूरदृष्टि राखी अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।

समृद्ध नेपाल सुखी नेपालि बनाउने ओलि सरकारको यो अभियानमा सबै जना जुट्नुको बिकल्प छैन।देश समृद्ध हुँदा नेकपाका कार्यकर्तालाई मात्र खुसी मिल्ने हैन कि सारा देशवासिका लागि यो सुनौलो इतिहासका साथै देशवासिको खुसी पनि हो।देश निर्माणका लागि हामी पुरानै प्रवृत्तिमा रह्यौ भने हामिले सोचेजस्तो समृद्धि हासिल गर्न निकै कठिन छ । दुई तिहाइको सरकार हुँदाहुँदै पनि सरकारले चाहेजस्तो काम गर्न सकेको छैन । किनकी सरकारले राम्रो काम गरे देशमा ब्याप्त बिचौलियाहरुको रुवाबासी हुने निश्चित छ । त्यसै कारणपनी समृद्धिका बाधक बन्न खोज्छन ती बिचौलियाहरु।

सरकारलाइ सफल बनाउन स्वयं सरकार र देशमा रहेका सचेत जनताको उत्तिकै भुमिका हुन्छ । तसर्थ हामिले सोचेको जस्तो आधुनिक देश बनाउने हो भने हामि पनि अब बदलिनु पर्दछ। देशको बिकाशमा आइपर्ने बाधा अड्चनहरुका बिरुद्द लड्न सक्नुपर्दछ । बिकाश बिरोधिहरुलाई अरिङ्गाल जसरी झम्टिनु पनि पर्ने समय आएको छ ।आधुनिक अरिङ्गाल भनेका देशका सचेत नागरिक हुन ।जसलाई यसपाली त देश बनोस भन्ने कामना छ। कुनै ब्यक्तिगत स्वार्थमा नअल्झी देशको बिकाश र जनताको खुसिका लागि जुटेको सरकारलाइ हामी जस्ता सचेत नागरिकले साथ दिनु नै पर्दछ । त्यो सभ्य समाजमा सभ्य तवरले होस वा बिचौलिया परिवेसमा अरिङ्गालको रुप धारण गरेर होस सबै जनताको साथ यस पटक सरकारलाई भयो भने देश रातारात बन्ने निश्चित छ।