काठमाडौं, असार २२। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र संघीय व्यवस्थामाथि हुने कुनै पनि अनावश्यक हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ।
सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उहाँले संविधान संशोधनजस्तो संवेदनशील विषयमा पर्याप्त राजनीतिक संवाद र सहमति आवश्यक रहेको उल्लेख गर्दै सरकारले गठन गरेको संविधान संशोधन कार्यदललाई अपरिपक्व भएको टिप्पणी गर्नुभयो।
आङदेम्बेले सरकारको सय दिने कार्यकालमा सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार र सेवा प्रवाहका क्षेत्रमा केही सकारात्मक प्रयास भएको स्वीकार गर्दै त्यसको कार्यान्वयन भने अपेक्षाअनुसार हुन नसकेको बताउनुभयो। सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रम कार्यान्वयनको अवस्था हेर्दा “हात्तीका देखाउने दाँतजस्तै” भएको उहाँको टिप्पणी थियो।
उहाँले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने संवैधानिक व्यवस्था स्मरण गराउँदै संसदमा उपस्थित भएर जवाफ दिनुभन्दा सामाजिक सञ्जालमार्फत सन्देश प्रवाह गर्न बढी रुचि देखाएको आरोप लगाउनुभयो।
“सामाजिक सञ्जालमा भाइरल हुन सजिलो होला, तर प्रधानमन्त्रीका रूपमा देशलाई गम्भीरतापूर्वक नेतृत्व गर्नु नै मुख्य जिम्मेवारी हो,” भन्दै उहाँले प्रधानमन्त्रीलाई लोकप्रियताभन्दा जिम्मेवार नेतृत्वमा केन्द्रित हुन सुझाव दिनुभयो।
आङदेम्बेले सम्पत्ति छानबिन अभियान पनि चयनात्मक नभई निष्पक्ष र विश्वसनीय ढंगले अघि बढ्नुपर्नेमा जोड दिँदै त्यसको सुरुआत प्रधानमन्त्री स्वयंबाट गर्न आग्रह गर्नुभयो। त्यसो भए कांग्रेसले सरकारको अभियानलाई पूर्ण सहयोग गर्ने उहाँले बताउनुभयो।
साथै, संविधान संशोधनका नाममा संघीय लोकतान्त्रिक गणतन्त्रको आधारभूत संरचनामाथि कुनै प्रकारको हस्तक्षेप वा छेडखानी गरिए कांग्रेसले स्वीकार नगर्ने चेतावनी पनि उहाँले दिनुभयो।













प्रतिक्रिया दिनुहोस्