हेटौँडा, साउन १ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको मन्त्रालय सङ्ख्या घटाउने निर्णयसँगै विना विभागीय रहेका ६ मन्त्रीलाई विभिन्न मन्त्रालयअन्तर्गत अतिरिक्त विषयगत जिम्मेवारी तोक्नु भएकाे छ ।
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारलाई थप चुस्त, प्रभावकारी र मितव्ययी बनाउने उद्देश्यले मन्त्रालय पुनर्संरचना गरिएको जनाउँदै कार्यसम्पादनमा निरन्तरता कायम राख्न मन्त्रीहरूलाई विषयगत जिम्मेवारी बाँडफाँट गरिएको जानकारी दिनुभयाे । नयाँ जिम्मेवारीअनुसार विना विभागीय मन्त्री बिनु रायमाझी पौडेलले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी क्षेत्र हेर्नुहुने छ ।
मन्त्री जयराम थापालाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत श्रम, रोजगार तथा यातायात क्षेत्रको जिम्मेवारी दिइएकाे छ । यस्तै, मन्त्री सुरेश श्रेष्ठलाई सोही मन्त्रालयअन्तर्गत संस्कृति तथा पर्यटन, मन्त्री किरण थापामगरलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य, मन्त्री उर्मिला नेपाललाई युवा तथा खेलकुद तथा मन्त्री भरतबहादुर केसीलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन तथा वातावरण क्षेत्रको जिम्मेवारी प्रदान गरिएको छ।
मुख्यमन्त्रीको सचिवालयका अनुसार संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण सम्पन्न भएपछि प्रदेशमा मन्त्री र मन्त्रालयको सङ्ख्या आठमा सीमित गरिनेछ। यसअघि आज बिहान मुख्यमन्त्री बानियाँले सात मन्त्रीलाई मन्त्रालयको जिम्मेवारीसमेत ताेक्नु भएकाे थियाे ।













प्रतिक्रिया दिनुहोस्