जनता टाइम्स

५ पुष २०७६, शनिबार १३:३३

अमेरिका आउनुअघि यी कुरा बुझौं, अबैध बाटोबाट नपसौं


हिजो अमेरिकालाई न्युनतम ६० हजार डलरसम्म कमाएर खर्च गर्ने नागरिकहरुबाट काम चलेको थियो । आज अमेरिकाले बार्षिक एक लाख बीस हजार डलर कमाउन नसक्ने नागरिक अमेरिकाको लागि आबश्यक नभएको ट्रम्प प्रशासनले नीति बनाइसकेको छ

कम्तीमा तीस लाखदेखि बढीमा एक करोड रुपैयाँसम्म रकम दलालहरुलाई बुझाएर, जङ्गल, समुन्द्र र काढेतार पार गरेर बिश्वका धेरै देशबाट मान्छेहरु जस्तै नेपालीहरु पनि अमेरिका छिर्ने गर्दछन । आफ्नो देशमा व्यापक असुरक्षा, दिन दहाडै बम पड्कने, आफ्नै अगाढि छोरी चेली बलात्कार हुने, हेरेको हेरै आफ्नो सम्पत्ति लुटने र ज्यानको समेत कुनै निश्चित नभएका नागरिकहरु देशबाट भागेर कुन देशमा शरण पाइएला भन्ने हिसाबले ज्यानको बाजी थापेर हिड्दा हिड्दै भाग्यले अमेरिका छिर्न पाई हालियो भने त्यो स्वभाविक हुन सक्दछ । अमेरिकाले विश्वभरीमा ज्यान धन असुरक्षित हुने मानिसहरुको मानवधिकार रक्षाको लागि अग्रपंक्तिमा रहेरै सहयोग र आश्रय दिने गरेको छ ।

त्यसरी त्यत्रो पैसा खर्च गरेर आउनै पर्ने बिकल्प नभएकाहरुको त अमेरिका छिरे पनि सुख दुःखको साथमा यही बस्ने र जीवन गुजारा गर्नु स्वभाविक छ । तर नेपालमै मज्जाले सुखका साथ बसेका र महिनामा दुई तीन लाख कमाउनेहरु दलाल र विभिन्न पक्षहरुको प्रभाबमा परेर अमेरिका आउन चाहनेहरुले यहाँ पैसा कमाउने होइन, निकै कष्टकर जीवन बिताएर नेपाल फर्कदा आफ्नो कमाएको पैसाले पुरानो अमेरिका जान खर्च गरेको रकम जुटाउन बेचेको घर घडेरी र जग्गा पुनः किन्दा कमाएको पैसाले नपुग्ने हुन्छ । मैले यस आलेखमा त्यस्तै एक परिबारका बास्तबिकता यहाँ उल्लेख गरेको छु ।

अमेरिकामा आईसकेपछिका दुःख र संघर्षका पीडा त कसैले बताउँदैनन । कसैले बताईहाले पनि पत्याइ दिने कोही हुन्न । अमेरिका गएको हुँदा हामीलाई आर्थिक सहयोग गर्न पर्दछ र हाम्रा सन्ततिलाइ उतै लगि दिन पर्दछ भनेर गफ हालेर टारेको भनी उडाइ दिन्छन । दुःख त कसैले लेख्नै खोज्दैन । दुई बर्ष अघिसम्म अमेरिकाको नीति, व्यवहार देखिनको लागि कडा जस्तो भए पनि आप्रवासीहरुको लागि राम्रै थियो । दैनिक सयौंको संख्यामा अबैधानिक तबरबाट भित्रिएका आप्रवासीहरुलाई विभिन्न बाहानामा अमेरिकामा राम्रो स्वागत भएको थियो नै । ५/७ बर्षभित्र ग्रीनकार्ड प्राप्त गरी बसोबास गर्न कुनै गाह्रो थिएन । सन २०१६ निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट उम्मेद्वार रहेका हालका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यस्तो माहोल ल्याइदिए कि आज अमेरिकीहरु जो सयौ बर्षदेखि यहाँ बस्दछ, उसको रोजगारसमेत खोसिएको छ । आज उसको घर खोसिएर बाटोमा बसेको छ । त्यो सबैको कारण हाम्रो आजसम्मको आप्रवासी सम्बन्धि नीतिले हो । अबको केही बर्ष यो नीति जारी रहने हो भने अब यहा जन्मेका नेटिभ अमेरिकनहरु आप्रवासीहरुका दास बन्नु पर्नेछ । त्यसकारण एक पटक अमेरिकनहरु जाग ! उठ ! यदि मैले जिते भने अबैध ढङ्ग्बाट अमेरिका छिर्ने प्वालहरु बन्द गर्ने छु ।’

अझै ट्रम्पले अगाडि बढेर ‘मेक्सिकोमा अग्लो पर्खाल लगाउने छु ! अमेरिकामा मुसलमानहरुको लागि निषेध गर्ने छु !’ भन्ने नारा बनाए । नभन्दै ट्रम्पले ६१% गोराहरुको बाहुल्य रहेको अमेरिकीहरुको राष्ट्रबादी नाराको सहयोगमा बहुमत लिएर चुनाब जिते । निर्वाचित भएको एक महिनाभित्रै उनले चार वटा मुस्लिम देशबाट कुनै नागरिक अमेरिकामा छिर्न नदिने हुकम जारी गरे । अमेरिकाबाट बिदा लिएर बिदा मनाउन आ–आफ्ना देश पुगेका नागरिकहरुमा त्रास सिर्जना भयो । बिदा सकिएर यहाँ प्रबेश हुन लागेका मुस्लिम कन्ट्रीका केही बिद्यार्थीहरुलाई प्रबेशाज्ञा रोकियो । ट्रम्पले बार्षिक बजेट बनाउदा मेक्सिकोमा पर्खाल लगाउनको लागि अमेरिकी कंग्रैससँग आवश्यक बजेट माग गरे । कंग्रेसले दिन नमान्दा करिब एक महिना भन्दा बढी अवधी अमेरिकामा सरकारी आर्थिक गतिबिधि ठप्प भयो । कंग्रेसले मध्यमार्गी बाटो अपनाएर दुबैको विन–विन परिस्थिति हुनेगरी बजेट पारित गर्ने स्थिति आयो । आप्रवासी समर्थक उच्च ओहोदाका कर्मचारी, न्यायाधीश, न्यायाधिबक्ता र होमल्यान्ड सेक्युरिटीका दर्जनौं ब्यक्तिलाई पाँडेपजनीमा पारे । बिगतमा सजिलोसँग आउन पाउने २१ बर्ष काटेको परिवारको छोरा छोरी, भाइ, बैनी र बाबुआमा ल्याउन सक्ने ब्यबस्थालाई रोक्न विभिन्न नीति निर्माण गरेर लागू गरेका छन । गर्न खोजे । बिगतमा छिटो छिटो हुने ग्रीन कार्ड नवीकरण र नागरिकता प्राप्ति प्रकृयालाई लम्ब्याइरहेका छन ।

हामीले हाम्रो देशमा बिदेसीले हैकम जमाउदा जसरी बिरोध गर्दछौं नि, हो भोलि अमेरिकनहरुनै अल्पमतमा पर्ने गरी संसारभरको समस्या सबै अमेरिकाले नै बेहोर्नु पर्ने कुनै बाध्यता पनि छैन नि । हिजो अमेरिकालाई न्युनतम ६० हजार डलरसम्म कमाएर खर्च गर्ने नागरिकहरुबाट काम चलेको थियो । आज अमेरिकाले बार्षिक एक लाख बीस हजार डलर कमाउन नसक्ने नागरिक अमेरिकाको लागि आबश्यक नभएको ट्रम्प प्रशासनले नीति बनाइसकेको छ । बार्षिक एक लाख बीस हजार कमाउने नागरिक बिशिष्ट खालका योग्यता भएका हुनुपर्दछ । आइटी विशेषज्ञ, चिकित्सक वा यस्तै उच्च प्राबिधिक योग्यता र क्षमताबिनाको मान्छे अब अमेरिकाले नभित्र्याउने नीति सार्वजनिक गरेको छ । उता बिगतमा देशभित्र बस्न नसक्ने अवस्था भयो भनी शरण माग्ने बाहाना पनि अहिले नेपालीहरुका लागि समाप्त भएको छ । हिजोका बिद्रोहीहरु अहिले सत्ताका हर्ताकर्ता भएका कारण पनि राजनैतिक शरण प्राप्त गर्ने नैतिक धरातल छैन । हिजो यहाँको खुला र शरण दिने निति हुँदा विभिन्न बाहाना बनाएर आउनेलाई शरण दिने खालको थियो । अब आइन्दा यसरी शरण नै दिन पर्यो भने नेपालमै रहेको अमेरिकी दूतावासले पुष्टि गरिदिएको अवस्थामा जहाज नै चढाएर अमेरिका ल्याउन सक्दछ । तर अबैध बाटो अमेरिका आउनेहरुले कुनै हालतमा शरणार्थीको मान्यता नपाउने भएको छ ।

अबैध बाटो मेक्सिकोको बाटो छिर्ने ठाउहरुमा अत्यन्त कडाई गरेको छ । बिगतमा यसरी अबैध छिर्नेहरु ९०% ले शरणार्थीको रुपमा मान्यता पाउथें । १०% लाई पर्खाएर उपयुक्त समयमा नियमित उडानमार्फत सस्तो टिकट खोजेर फिर्ता पठाउथ्यो । अब यहाँको नीति निकै कडा भयो । अबैध छिर्ने स्थिति १% पनि सम्भावना छैन । मेक्सिकोको सिमानामा ५००/५०० मिटरको फरकमा सुरक्षा चेकपोस्ट राखेको छ । त्यसैगरी हवाई गस्ती बढाएको छ । कुनै जोखिम मोलेर पनि छिर्न सक्ने स्थिति छैन । कुनै कदापी छिरेको रहेछ भने पनि अब अमेरिकामा काम पाउन सकिँदैन । काम गर्ने ठाउँमा मालिकहरुले त्यस्ता अबैध रोजगारी दिएको छ भन्ने थाहा भएमा रोजगार दिनेलाई कम्तीमा ४३ हजार ५ सय अमेरिकी डलर र त्यो भन्दा बढीको जरिवाना र उसको व्यापार खारेज गर्ने समेत कानुन बनाइसकेको छ । यहाँ अब काम दिन र पाउन पनि दुःख छ । गत हप्ता मात्रै पाँच जना अबैध प्रबेश गरेका नेपालीहरु फर्कायो । अव अमेरिकाले पाँच जना मान्छे फर्काउन ५ करोड खर्च गरेर विमान चार्टर गरेरै फिर्ता गर्न थाल्यो । अघिल्लो हप्ता अमेरिकाबाट फर्काइएका नेपालीमा रूकुम स्यालापाखा ९ का नरेन्द्र रेउले, प्रमोदकुमार पुन मगर, बाग्लुङ धम्जाका देवेन्द्रबहादुर क्षेत्री, दाङ घोराहीका अभिश्वर बुढामगर र नवलपरासी कावासोतीका अर्जुन पौडेल क्षेत्री छन् । यो घटनाले बुझौं कि अव अवैध रुपमा अमेरिका छिर्न सकिँदैन ।

अमेरिकाले नेपालीहरू फर्काउनमा किन ५ लाख ड्लर खर्च गरेर ७ जना मान्छे (दुई जना पाकिस्तानी) फर्कायो होला ? भन्ने कुरा बुझ्न मात्र खोजियो भने धेरै कुरा सजिलै बुझ्न सकिन्छ । अमेरिकासँग धेरै पैसा भएर शान देखाउन विशेष बिमानमा ७ जना हालेको होइन । गत बर्ष मात्र १६५ जना नेपालीहरुलाई डिपोट गर्दा करिब ४० पटकमा सस्तो टिकट खोजेर पठाएको थियो । यो पटक विमान चार्टर गरेर पठाउनुमा ठूलो सन्देश दिन खोजेको हो । दलालहरुको मिठा आश्वासनमा फसेर लाखौं रुपैया खर्च गरेर जीवनलाई दाउमा राखेर अबैध तरिकाबाट अमेरिका नआउनु होस । आफू पनि बचांै अरुलाई पनि बचाउ । यस्तै दलालको मीठो बिश्वासमा परेर काठमाडौ गङ्गबुकी यी महिलाको वास्तविक कथाले तपाईं हामीलाइ देश मै दुःख गर्न प्रेरित गर्ने छ । पढौ यी पीडादायी तथ्य ।

काठमाडौ गङ्गबु बसपार्क अघि ४ तलाको घरमा होटल थियो । श्रीमानले १८ बर्ष सिँगापुरको लाहुरे भएर कमाएको त्यो घरमा एक छोरीसहित श्रीमान श्रीमती होटलबाट राम्रै कमाई गर्थे । २० बर्ष कि छोरी ब्याचलर दोस्रो बर्समा पढ्थिन । देशमा द्वन्द उत्कर्षमा पुगेकोले गाउँका टाठाबाठाहरुको काठमाडौंमा बास थियो । जिल्लाका धन भएका र व्यापार गर्न चाहनेहरु शान्ति शुरक्षाको बाताबरण नभएकोले गाउँ वा शहरमा केही गर्न नसकेर धेरै जसोको बिदेश जाने मात्र कुरा हुन्थ्यो । उनीहरुको होटेलमा खाडी मलेशिया जाने जिल्लाबासीहरुको भिड हुन्थ्यो । बिदेश जाने आउनेहरुको बस्ने खाने ठाउँ भएकोले पनि होटेलमा राम्रो कमाइ हुन्थ्यो । बिदेश पठाउने दलालहरुले अब खाडी र मलेशियाको साठी–सत्तरी हजारको मात्र कुरा गर्न छाडिसकेका थिए र उनीहरुको जापान जाँदा दश लाख युरोप जाँदा १५ लाख र अमेरिका जाँदा २० लाखमा पुर्याइदिने गरी होटलमै बार्ता छलफल हुन थालेको थियो । अमेरिका पठाइदिने भनेर कुराकानी गर्ने दलालसँग होटल मालिक्नीको दोस्ती बढिसकेको थियो ।

एक दिन दलालले होटेल मालिक्निीसँग भन्यो, के बुढाको कमाईमा बस्नु हुन्छ ! हिड्नुस अमेरिका म तपाइलाई अरुलाई भन्दा २ लाख कमीमा पठाइदिन्छु ’। मालिक्नीले सोधिन, ‘महिनामा कति कमाइ हुन्छ ?’ जवाफ दियो, ‘तपाईंले होटेल पनि सञ्चालन गर्न जानेकोले अरुले भन्दा महिनामा दुई लाख बढी कमाउनु हुन्छ, अरुले ४ लाख कमाउदा तपाईले मासिक ६ लाख त कँही जान्न । साहुनीले भनिन के मलाइ बुढाले पठाउलान त ? दलालले भन्यो, ‘यो त मैले जान्नी कुरा भएन ।’ बेलुका श्रीमान श्रीमतीको अमेरिका जानेबारे कुरा भयो । श्रीमानले भने, ‘हामीलाई यँही अमेरिका छ, किन जानु पर्यो ? महिनाको २ लाख त हाम्रो चोखो कमाई छ त । बुढीले ढिपी छोडिनन, जम्मा ५ बर्ष अमेरिका बस्ने र फर्कने । फर्कदा आफुले ५ बर्षमा करिब ३ करोड डलर ल्याएपछि बसिबसी खाने र दुनियाँका जुठा भाडा नमाझ्ने प्रतिज्ञा गरिन । महिलाले सग्लो अक्षर बाहेक पढ्न लेख्न न आउने र आफ्नो जातीय भाषा मात्र बोल्ने गरेकोले नेपाली भाषासमेत बोल्न नसक्नेले कसरी बिदेशमा अंग्रेजी भाषा बोलेर जागिर खालि भन्नेमा बुढाले जिकिर गरे । अर्को दिन आफू ! श्रीमान र दलालसहित कुराकानी गर्ने तय भयो । दलालले एउटा नयाँ आइडिया बताईदियो ।

अमेरिकामा नेपालीहरु सँगै पनि काम हुने र हिन्दीमा समेत कुराकानी र इन्डियनका रेस्टुरा तथा होटल भएकोले बोल्नको दुःख नहुने बतायो । श्रीमानले अनपढ र बोल्न नजान्ने श्रीमतिलाई भरपर्दो साथीबिना नपठाउने भएपछि साहुनीले ब्याचलर पढ्दै गरेकी छोरीलाई आफूसँगै लैजान सहमत गराइन । आमा छोरीको लागि ३० लाखमा पठाइदिने सम्झदारी भयो । दलालहरुले सँगै अमेरिका पठाउन करिब ४० जना जम्मा गरिसकेका थिए । २०६७ सालको मङ्सिरमा उनीहरु धेरै जसोले २० लाख तिरेर अमेरिका हिड्न बसमार्फत भारतको नयाँ दिल्ली पुगे । दिल्लीबाट सुरीनाम, ब्राजिल, कोस्टारिका, पानामा, निकारागुवा, ग्वाटेमाला, मेक्सिकोहुँदै अमेरिका पुर्याउने योजना भयो । दिल्लीमा १५ दिन होटलमा राखिसकेपछि प्लेनमार्फत सुरिनाम हुँदै ब्राजिल पुगे । ब्राजिलबाट लैजाने दलाल फेरिने कुरा भयो । बाग्लुङ्गतिरको कार्की दाइ भनिने दलालले अब आफ्नो काम सकिएको र तपाइहरु करिब एक हप्ताभित्र विभिन्न देशहुँदै अमेरिका पुग्ने भन्दै बिदा भए । त्यहा जिम्मा पाएको दलालले अंग्रेजीमा बोलेका कुरा धेरै जसोले बुझेनन । ब्राजिलबाट पानीजहाजमा हालेर कोस्टारिका पुर्याउन हिडाइयो । तीन दिनमा भोक भोकै कोस्टारिका पुर्याइयो । कोस्टारिकामा यति धेरै मान्छे देखेपछि स्थानीय पुलिसले पक्राउ गर्यो । प्रहरीले त्यहाको भिजा नदेखेपछि सबैलाई ५/५ बर्ष जेल जाने बतायो । सबै मुखामुख गर्न थाले । यहाँ किन ल्याइयो ? भिसा किन चाहिने भन्नेबारे नै बुझेनन । स्थानीय पुलिसले प्रतिब्यक्ति ५०० हजार डलर रकम तिर्ने हो भने आफुहरुले छोड्दिने नत्र खोरमा लैजाने भनेर अन्तिम वार्निङ्ग दियो ।

सबैले बाटोमा खानपिन र अन्य खर्च हुन्छ भनेर ५००/६०० डलर बोकेका थिए नै । पक्राउ परेर अलपत्र हुनुभन्दा मागेको रकम तिरेर छुटकारा पाउने निधो गरे । रकम पाएपछि दलालसँग कानेखुसी गर्दै प्रहरीले छोडिदएपछि अमेरिका हिडेका मान्छेहरुलाई आफू ठगिएको अनुभुति गर्न थाले । धेरै जसोले थोरै रकम मात्र बोकेका थिए । भोक लाग्यो, भोलि पर्सिमा अमेरिका पुगिएला जो सँग छ ल्याउनुस आज खाउँ पछि अमेरिका पुगेपछि फिर्ता दिउला भन्दै त्यहा पाउरोटी र कफि खाएर गुजारा गरे । दलालले पानामा भन्ने देशमा ट्रेनमार्फत पुर्यायो । कहिले ट्रेन, कहिले बसमा राख्दै करिब २० घन्टा घुमायो । भोकले आतुर भैसकेका थियौं । कसैसँग पैसा थिएन, दलालले भन्यो, म भोलि बेलुकासम्म तिमीहरुसँग हुन्छु, खाने पैसा सापटी दिनसक्छु । साथ साथै मलाई अघिल्लो एजेन्टले यी प्रत्येकसँग ५०००/५००० हजार डलर माग्नु भनेको छ पैसा ल्याउ । यदि दिदैनौं भने म प्रहरीको जिम्मा लगाएर छोड्दिन्छु भन्दै पानीजहाजमा राखेर हामीलाई थर्कायो । हामीलाई ज्यानको माया लाग्यो । अझ म र छोरी अरुको भन्दा १० लाख कमीमा आएकोले ठिकै छ अरु साथीसँग बराबर भैयो भनी चित्त बुझाए । तर पैसा मगाउने कसरी भनी एजेन्ट्लाई सोध्ने निधो गरियो ।

एजेन्ट्ले आफ्नो फोनमार्फत नेपालमा हाम्रो परिवारसँग सम्पर्क गरायो । ४० जनाको परिबारसँग सम्पर्क गराउन र कन्भिन्स गराउन करिब १० घन्टा लगायो । इन्डियामा रहेको एक जना सम्पर्कसुत्र मार्फत पैसा बुझाउन निर्देशन दियो । हामीले दिनको एउटा मात्र पाउरोटीको सेन्डविच दिन्थ्यो । हाम्रो सबैको परिबारबाट त्यहा पैसा बुझाउन करिब १५ दिन जति समय लाग्यो । सबैको पैसा आएको भन्ने क्लियर भएपछि मात्र हामीलाई पानामाबाट अर्को दलालको जिम्मा लगाएर निकारागुवाको लागि पानीजहाज मार्फत हिडाइयो । ५/६ दिन सम्म पानी पनि खान नदिदा धेरै जसो हामी नराम्रो बिरामी परिसकेका थियौं । डुंगा फेरेर अर्कोमा जाँदा हामी ३७ जना मात्र देखियौं । को हरायो पत्तै भएन । बेलुका माछा प्रशस्त खाने अवसर मिल्यो । कहिल्लै माछा नखाने ५ जना साथीहरु हुनुहुँदो रहेछ । मर्न भन्दा बहुलाउन निधो भन्दै मिठो नमानी नमानी खानुभयो । एक छाकको माछाले हामीलाई बल त दियो तर दुई जना दाङ्गतिरका भाईहरु सारै नै बिरामी हुनुभयो । पानीजहाज मै इहलिला गुमाएको ठानी सँगै भएको दलालले समुन्द्रमै खसाली दियो । हामी डर भोक र अनिदाले लखतरान भएका थियौं । त्यहाँ पनि खानामा माछा नै दियो । माछा खाना थालेपछि अब मरिन्न भन्ने लाग्यो । त्यो समुहमा हामी ५ जना महिला थियौं । माछा खाएपछि १० जनाको एउटा टिम आयो । आज तिमीहरु होटलमा बस्न पाउछौं, महिला पुरुष भिन्दाभिन्दै होटेलमा बस्नु पर्दछ भन्दै त्यहाबाट हामी महिलालाई मात्र लगे ।

हामीलाई लाग्यो पुरुषलाई पनि अर्को होटलमा लैजाने होला भन्ने ठान्यौं । जब हामीलाई कोठामा लगे, उनीहरुले हामीलाई शरीर लुटनको लागि लगेका रहेछन । हामीले जत्ति अनुरोध गरे पनि त्यहा हाम्रो कुरा कसैले सुनेन । हामीलाई लुटे । त्यहा पैसा लुटेर मात्र छोडेनन कि अब नेपालबाट १०/१० लाख बुझाए मात्र आफुहरुले छोड्दिने अन्यथा आफुले केही दिन मज्जा लुट्ने र छोड्दिने वा समुन्द्रमा माछाको आहारा बनाइदिने भन्न थाले । हामीसँग कुनै अरु सहारा थिएन । छोरीले आफ्नो दर्दानाक अवस्था बुवालाई भने पछि श्रीमान फेन्ट हुनुभएछ । उहाँले छोरी भन्दा यो घर ठूलो होइन भन्दै घर नै बन्दकि राखेर बेच्ने कुरा गर्नु भयो । घर बेचेर पैसा आउन्जेल हामीलाई त्यही राखे । करिब एक महिनामा २० लाख आइसकेपछि हामीलाई त्यहाबाट निकरागुवामा आइयो । निकरागुवामा हामी प्रहरीसँग छल्न भनी ३४ जना बाँकी साथीहरुलाई ११/१२ जनाको टिम बनाएर छुट्यायो । करिब १० दिन जति कहिले जङ्गलमा हिड्न, कहिले पानी जहाज, कहिले बसमा राख्दै हिडायो । तर त्यहा भने पैसा मागेन । निकरागुवाबाट ग्वाटेमाला छिराइदिएको रहेछ । ग्वाटेमालामा पनि हामीलाई पानीजहाज, रेल यात्रा गराइरहेको थियो । खाना पनि दिइरहेको थियो । करिब १० दिनपछि फेरिएको एजेन्ट्ले अब २/२ हजार डलर नभैकन आफुले सहयोग गर्न नसक्ने भन्यो ।

हामीले ६० लाख गुमाइसकेका थियौं । बाबाले घर बेच्नु भएकै छ, चिन्ता नगर आमा अबको केही दिनमा अमेरिका छिरिन्छ अनि कमाएर तिरौला भनेर छोरीले ढाडस दिइन । म मुसुक्क हाँस्दै आफुलाई साढे सात दशा लागेको बताएँ । मान्छे त्यति टाइट छैन, पैसा नदिउ भनी हामी ११ जनाले सल्लाह गरेऊँ । उसले २/३ दिनसम्म बाटो हेर्यो अनि हामीलाई उल्टो बाटो कुनै अन्कन्टार गाउँतिर लग्यो । एक छाक खाना दिन्थ्यो । अनि हामीले भन्यौं, लौ पैसा मगाउने बाटो गर । हामी दिन्छौ अनि अमेरिका कति टाढा छ । उस्ले भन्यो अमेरिका जान अझै मेक्सिको काट्न पर्दछ । हामीले भन्यौं, ठिक छ, पैसा मगाउने उपाए गर । हामीले पहिल्यै मागेको तरिकाबाटै पैसा मगायांै । आइएमयीमार्फत मगाइयो । त्यो पैसा दिएपछि हामीलाई मेक्सिको बोर्डर छिराइयो । मेक्सिकन पुलिसलाइ केही दिएपछि सजिलै छोड्छ भन्ने सुनेका थियौं । त्यो पैसा हामीले पहिल्लैदेखि नै लुकाएर राखेका थियांै । ५० डलर दिएपछि हामीलाई छोड्यो । अब दलालले मेक्सिकोमा हुल बाधेर नहिड्नु, मेक्सिकोमा त्यहाको अफिम व्यापार गर्नेको ठूलो माफिया ग्रुप छ, त्योसँग जोगिनु भन्ने पहिल्यै सिकाइएको थियो ।

एक दिन हामी फेरि ११ जनाको ३ ग्रुप बनायौं र छुट्ट्यौ । हामी नेपालबाट हिडेको करिब तीन महिना भैसकेको थियो । एक दिन छोरिले खाना खाइसकेपछि उक्क उक्क गरी । म छोरीलाई के भयो त भनी डराएँ । ३/४ दिनसम्म यस्तो प्रकृया नरोकिएपछि भेडा हेर्न आएका महिलाहरुले हातको सन्केतले तिम्रो मान्छे दुई जिउको हुनसक्ने बताए, म झन आत्तिए । एक दिन एक जना भेडा गोठालीले स्थानीय स्वास्थ्य चौकीमा यो लाटी छ भन्दै जचाउन लगि । नभन्दै पेटमा नानीको बच्चा बसेको रहेछ । पानामामा हामीसँग त्यहाका भुसतिघ्रेहरुले असुरक्षित तरिकाले जबर्जस्ती यौन सन्तुष्टि लिँदा बच्चा बसेको रहेछ । म ठूलो संकटमा परें । सँगै आएको साथीहरु पनि हामीसँग अलग भैसकेका थिए । अब के गर्ने ? बाबासँग भन्ने कि नभन्ने ठूलो संकट आइलाग्यो । अन्तिममा बाबासँग भन्ने निधो गरियो ।

भेडा गोठालोसँग सोधेर त्यहाको नजिकको बिमानस्थल पत्ता लगाएँ । भेडिवालाको श्रीमान हामीलाई सहयोग गर्न तयार भए । नेपालबाट इमेलमार्फत पठाएको टिकट उनीले प्रिन्ट गर्न लगाएर मलाइ छोडे । अनि उनैलाई सहयोग मागेर छोरीलाई एअरपोर्टसम्म छोडाएँ । छोरी नेपाल पुगेको खबर पाएपछि म ढुक्क भए । त्यसको केही दिन पछि म बिरामी भएर ढलेछु । म एक्लो थिएँ, भोक तिर्खा र खुला हिडाइको कारण मेरो जिउ लखतरान भएको थियो । भेडा वालाले बिसाउनीमा राखेको टहरोमा म बिरामी भएकोदेखि मलाई बेलुका घरमा लगेर औषधी मुलो गरेछन ।

मलाई केही दिनमा सन्चो लाग पछि उनीहरुले नै मेक्सिको अमेरिका बोर्डरमा छोडी हिडे । मलाई तत्कालै अमेरिकि पुलिसले समात्यो । मलाई अध्यागमन अफिसमा करिब ३ महिना थुन्यो । अफिसरसँग मैले मेरो घर नेपाल हो, म नेपाल जान सक्दिन, अनि अमेरिकामा पनि कोही छैन भन्दै जेल मै बसे । तीन महिनापछि मलाई नेपालदेखि हाम्रो जात थरको जिल्लाको मान्छे अमेरिकामा भएको खबर आयो । उनीमार्फत अध्यागनमा लड्न वकिल लगाएँ । दुई हजार डलर यँही आफन्तले नै धरौटी बापत र वकिललाई दिने २ हजार तिरिदिएकोले म अहिले अमेरिकामा छु । मुद्दा चलिरहेको छ ।

खर्च करिब यहाँ मात्र पनि १० हजार ड्लर भए होला । दलालहरुले करिब ७० लाखको सेरोफेरोमा खाए होलान । उनी भन्दै थिइन, अहिले मेरो श्रीमानसँग पनि मीठो मायाप्रिति छैन । छोरीको बिहे भयो तर पनि राम्ररी बोल्दिन । कमाउन त मैले यो ८ बर्षमा दुःख गरेर ७० लाख कमाएँ हुम्ला तर गङ्गबुको घरको मूल्य अहिले ३ करोड पर्छ । बेचेर अमेरिका छिर्दा सस्तैमा फालियो । अहिले बुढा शहर छोडेर काठमाडौंको कुनातिर बसेर सानो किराना पसल गरेर बस्नु भएको छ । मैले पठाएको एक पैसा पनि चलाउनु भएको छैन । सायद मैले अझै २० बर्ष कमाए पनि त्यो घर घडेरी किन्न सक्ने पैसा कमाउन सक्दिन होला । यो यथार्थपुर्ण कारुणिक कथा हो । यस्ता कथा पंक्तिकारसँग धेरैका छन । मैले पनि मेक्सिकोबाट छिरेर जेल परेका करिब आधा दर्जन नेपालीहरुको लागि सहयोग गर्ने गरेको थिए । अब त अमेरिकाले सहयोग गर्नेहरुलाई पनि निगरानीमा राख्ने भएको छ । कम्तीमा अबैध बाटोबाट अमेरिका नआउँ ।

(लेखक पौडेल अमेरिकाको सिकागोमा बसेर नेपालीहरुलाई सहयोगका लागि सक्रिय समाजसेवी हुनुहुन्छ । सं)