जनता टाइम्स

७ पुष २०७६, सोमबार १९:४९

निजगढ बिमानस्थलको निर्माण रोक्ने सर्वाेच्चको आदेशप्रति पर्यटनमन्त्री भट्टराईको आयो कडा असन्तुष्टि


काठमाडौं, पुस ७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तराष्ट्रिय बिमानस्थलको निर्माण कार्य रोक्न सर्वाेच्च अदालतले दिएको अन्तरिम आदेशप्रति कडा प्रतिक्रिया जनाउनु भएको छ । मुलुकको हितका लागि निजगढ बिमानस्थल अति जरुरी रहेको तथ्य राख्दै मन्त्री भट्टराईले मुलुकको संवेदनसिलताप्रति न्यायलयसहित सवै पक्ष जानकार हुनुपर्ने भन्दै आदेशप्रति कडा असन्तुष्टि जनाउनु भएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई भब्य बनाउन खेलकुद सम्बद्ध तथा स्यंवसेवी र परोपकारी संघ संगठनका प्रमुख तथा प्रतिनिधिसँग आज आयोजना गरिएको छलफलमा मन्त्री भट्टराईले यस्तो टिप्पणी गर्नुभएको हो । निजगढ विमानस्थलको निर्माण कार्य रोक्न हालै सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशतर्फ संकेत गर्दै पर्यटनमन्त्री भट्टराईले भन्नुभयो, ‘काठमाडौंमा हवाई यात्रुको चाप व्यवस्थापन गर्न निजगढको कुनै विकल्प छैन, म आशावादी छु त्यो गम्भीरतालाई सबै पक्षले बुझ्नेछन् ।’

टर्कीको इस्तानबुलमा अन्तराष्ट्रिय विमानस्थल बनाउँदा २४ लाख रुख कातिटएको प्रसंग पनि उहाँले सुनाउनु भयो । यसअघि उहाँले अदालतले अनुमति दिए निजगढ बिमानस्थलको बिषयमा आफै बहशमा आउन तयार रहेको बताउनु भएको थियो । ‘हाम्रोमा त्यति रुख पनि काटिँदैन। विमानस्थल बनाइसकेपछि अन्य ठाऊँमा वृक्षारोपण गरेर उनीहरुले त्यो भन्दा धेरै रुख हुर्काइसके, अहिले इस्तानाबुल विमानस्थल अन्तराष्ट्रिय हवाई उडानको हब बनेको छ । हामी चाहिँ एउटा हाँगो काट्ने कि नकाट्नेमा बहस गरेर बसि राख्ने ?’ पर्यटनमन्त्री भट्टराईले भन्नुभयो ।

उहाँले चीनले थ्री गर्जेज हाइड्रो पावर बनाउने बेला त्यहाँ पनि यस्तै खालका बहस भएका स्मरण गराउँदै भन्नुभयो, ‘तर चीनले बनाएरै छाड्यो, अहिलेको चीनको सम्पन्नताको एउटा आधार त्यही हाइड्रो भएको छ ।’ उहाँले बर्तमान सरकार निजगढ बिमानस्थल बनाएरै छाडने अठोटमा रहेको जानकारीसमेत गराउनु भयो । ‘हाम्रो सरकारको पूरा प्रतिवद्धता निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउनेमा छ, त्यो बन्छ,’ पर्यटनमन्त्री भट्टराईको भनाई थियो ।  नेपालमा पर्यटन प्रर्वद्धनका लागि २०२० को अभियानले मात्रै नपुग्ने भएकाले सरकार यो वर्षलाई प्रस्थानबिन्दु बनाएर कम्तीमा एक दशकको अभियानमा लागेको जानकारी पनि उहाँले गराउनु भयो ।

‘तपाईंहरुको अन्तराष्ट्रिय सम्पर्क र सम्बन्धलाई यो अभियानमा अधिकतम प्रयोग गर्नुस, भ्रमणको सिजन हुन्छ भन्ने प्रचारबाट पनि नेपाललाई मुक्त गर्नुपर्न थियो । अवश्य पनि भ्रमणको निश्चित सिजन हुन्छ । खाडी मुलुकको सिजन जाडोको समय होला, युरोपका देशहरुको पनि खास सिजन होला । तर नेपाल सबै सिजनमा खुला भएको मुलुक हो भन्ने बुझाउनु जरुरी छ,’ उहाँको भन्नुभयो । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीमा अध्यक्ष जीवनराम श्रेष्ठले भ्रमण वर्ष २०२० सरकार र मन्त्रालय विशेषको मात्रै नभइ आमनेपालीको अभियान भएकाले यो सफल पार्नु पर्ने बताउनु भयो ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्वर तिमिल्सिनाले भैमण वर्षसँग राष्ट्रियताको विषय पनि जोडिएकाले यसलाई सफल बनाउन मनत्रालयले कुन खालको सहयोगको अपेक्षा गर्छ त्यो पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा लाइन्स क्लवका बालकृष्ण सिवाकोटी, रोटरी नेपालका राजेन्द्रकुमार दाहाल, नेपाल स्काउटका लोकबहादुर भण्डारी लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिले पनि भ्रमण वर्ष सफल पार्न आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।