जनता टाइम्स

१० पुष २०७६, बिहीबार १०:४३

आइजीपी सर्वेन्द्र खनालको त्यो सूचना, जस्ले यसरी तोडियो नेपालमा चिनियाँ संगठित अपराधीको जालो


काठमाडौं, पुस १० । केही समयदेखि नेपाल प्रहरीले चिनियाँ नागरिकमाथि निगरानी बढाइरहेको थियो । त्यही क्रममा बैंकको एटीएम ह्याक प्रकरण सार्वजनिक भयो । जुन अपराधमा चिनियाँ नागरिक नै संलग्न थिए । यहीबीचमा चिलीको सान्टिआगोमा भएको इन्टरपोलको महासभामा प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेका आएका उच्च प्रहरी अधिकृत डेकी डुआनबीच भेट भयो ।

असोज २८ गतेदेखि १ कात्तिकसम्म भएको महासभाको दौरान आइजीपी खनाल र डुआनबीचको भेटका क्रममा नेपालमा केही चिनियाँ नागरिक आपराधिक कार्यमा संगठित रुपमा सक्रिय रहेको र पक्राउ पर्ने क्रम बढेकोबारे छलफल गरे । आइजीपी खनालको त्यो जानकारीपछि चिनियाँ पक्ष निकै गम्भीर बन्यो ।

आइजीपी खनाल चिली जानुअघि केही चिनियाँहरु आपराधिक कार्यक्रममा पक्राउ परी कारबाहीमा परेका थिए । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणअघि पक्राउ परेका चिनियाँहरु वित्तीय अपराधमा संलग्न पाइएका थिए । एटीएमबाट रकम चोर्ने देखि बैंकको सिस्टम ह्याक गर्ने समेतमा चिनियाँ नागरिक संलग्न भएको जानकारी पाएपछि चिनियाँ अधिकारीहरुले मिलेर नेपालमा सक्रिय संगठित अपराधको जालो तोड्ने सहमति गरे । उनीहरुले पनि आवश्यक सूचना नेपाल प्रहरीलाई दिए ।

कात्तिकमा स्वदेश फर्किएका आइजीपी खनालले अपराध अनुसन्धानसम्बन्धि जिम्मेवार निकायमा रहेका प्रहरी अधिकृतहरुलाई डाकेर नेपालमा सक्रिय रहेका चिनियाँ संगठित अपराधीलाई प्रमाणसहित खोजेर पक्राउ गर्न निर्देशन दिनुभयो । त्यसपछिको दुई महिना केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) र महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरीले राजधानीका विभिन्न स्थानमा सक्रिय चिनियाँ आपराधिक गिरोहका सदस्यबारे सूचना लिदै उनीहरुको गतिविधिबारे निगरानी अघि बढायो । सम्पूर्ण सूचना र प्रमाण जुटेपछि चिनियाँ आपराधिक समूहका सदस्यलाई एकैपटक पक्राउ गर्न प्रहरी सफल भएको छ ।

इन्टरपोलको सहयोगमा दुवै देशका प्रहरीबीच समन्वयका आधारमा चिनियाँ आपराधिक गिरोहका सदस्यहरु पक्राउ परेका थिए । उनीहरु साइबर अपराधदेखि संगठित अपराधका विभिन्न गतिविधिमा संलग्न रहेको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार संगठित अपराधमा सक्रिय चिनियाँहरु चीन छाड्दा नै निगरानीमा थिए । उनीहरुमध्ये कतिपय फिलिपिन्स, कम्बोडियालगायतका देश पुगेका थिए । त्यहाँबाट नेपाल समेत प्रवेश गरेको सूचनाका आधारमा चिनियाँ प्रहरीले नेपाल प्रहरीलाई आवश्यक सूचना दिएको थियो ।

नेपाल प्रहरीले आफूसँग रहेको सूचना र इन्टरपोलमार्फत् आएको सूचनाका आधारमा चिनियाँ संगठित अपराधिक गिरोहका सदस्यहरुलाई पक्राउ गरेको थियो । प्रहरी प्रधान कार्यालयका एक बरिष्ठ अधिकारीका अनुसार चिनियाँ अभियुक्त पक्राउ गर्न आइजीपी खनालले नै आवश्यक योजना बनाउनु भएको थियो । सोही योजनाअनुसार एकै दिन १२२ चिनियाँ पक्राउ गरिएको हो । उनीहरुलाई पक्राउ गर्न प्रहरीले दुई महिनासम्म अनुसन्धान गर्नुपरेको थियो । नेपालमा लुकेर र विभिन्न भेषमा गतिविधि गर्दै आएका आपराधिक समूहका सदस्यबारे विवरण संकलन गरेको थियो । गोप्य स्थानमा केन्द्र बनाएर बसेकाहरु समेत फुत्कन सकेनन् ।

यसैगरी, चिनियाँ आपराधिक गिरोहका सदस्यहरु नेपालमा पक्राउ परेपछि चीनले समेत गम्भीरता देखाएको छ । स्रोतका अनुसार चिनियाँ उच्च प्रहरी अधिकृत डेकी डुआनले आइजीपी खनाललाई धन्यवाद दिएका छन् । सीमापार संगठित अपराध र साइबर क्राइममा सक्रिय समूहको जालो तोडेको भन्दै प्रशंशनीय कार्य भन्दै खुशी व्यक्त गरेका छन् । नेपालमा चिनियाँ आपराधिक गिरोहको जालो तोडिएको खबरले सँसारका धेरै मुलुकमा प्राथमिकता पाएको छ । एकैपटक यति धेरै विदेश नागरिक आपराधिक कार्यमा संलग्न रहेको आधारमा एकैपटक पक्राउ परेको नेपालको इतिहासमै पहिलो हो । आइजीपी खनालको यो कामबाट चीननिकै खुसी बनेको छ ।