जनता टाइम्स

११ पुष २०७६, शुक्रबार २१:१९

विकासका लागि कानून बाधक नबन्ने प्रधानन्यायाधीश राणा उद्घोष


काठमाडौं, पुष ११

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले विकासका लागि कानून बाधक नबन्ने बताउनुभएको छ ।

सर्वोच्च बार एकाइद्वारा आजदेखि शुरु भएको ‘कानून र विकास’ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘‘विकास समग्र समाज र राष्ट्रको आवश्यकता हो । विकास र आर्थिक समृद्धिको विषयमा न्यायपालिका पनि संवेदनशील बन्नुपर्दछ ।’’

‘‘कानून विकासको अधार भएकाले कानूनले विकासका लागि उपयुक्त वातावरण तयार पार्नेछ’’, उहाँले भन्नुभयो, “कानून र विकासमा अन्तरद्वन्द्व भएका कानून प्रतिकूल रहेका अवस्थामा बाहेक अदालत विकास पक्षमा उभिने छ ।”

प्रधानन्यायाधीश राणाले कानून र कार्यविधि स्पष्ट भयो भने त्यसले विकासका लागि बधक नबन्ने भन्दै कानूनले विकासका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले विकासमैत्री कानून बनाउनुपर्नेमा जोड दिदैं अहिलेको संविधान विकासप्रेमी रहेकाले सरकारले विकासका लागि बाधक बन्ने कानूनलाई संशोधन गर्नुपर्ने बताउनुभयो । ्‘‘स्थिर सरकार छ, नेतृत्व पनि सबल छ’’, उहाँले भन्नुभयो, ‘‘विकासका विषयमा अलमल भएकाले विकास नभएको हो ।’’

राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले विकासका लागि अदालत बाधक बन्न नहुने बताउनुभयो ।

महान्यायधिवक्ता अग्नि खरेलले कानून विकासको समृद्धिको आधार रहेकाले विकास गर्नका लागि कानूनलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता रामशरण महतले विकासका लागि कानून सहयोगी बन्नुपर्ने उल्लेख गर्दै विकासका लागि कानून बाधक बने त्यसलाई संशोधन गर्दै लैजानुपर्ने बताउनुभयो ।

प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले विकासमा कानूनभन्दा व्यावहारिक कुरालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले विकासका सन्र्दभमा अन्तरिम आदेश दिँदा ख्याल गर्नुपर्ने बताउनुभयो । ‘‘जनप्रतिनिधिले विकासको काम अदालतले रोकिन्छ भन्ने गरेको मैले पाएको छु’’ उहाँले भन्नुभयो,‘‘ राजनीतिक दल, न्यायलय, विकास र कानूनसँगसँगै जानुपर्दछ । अनि मात्र मुलुकको विकास हुन्छ ।’’

राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को अभियानलाई पूरा गर्न सरकार र न्यायलयसँगसँगै जानुपर्ने बताउनुभयो ।

सर्वोच्च बारका उपाध्यक्ष राजु खड्काले विकासमा कानूनले पारेको समस्याका बारेमा छलफल गरि निष्कर्ष निकाल्न सम्मेलन आयोजना गरिएको जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने सम्मेलनमा सांसद, कानून व्यवसायीको सहभागिता रहेको छ ।