जनता टाइम्स

५ कार्तिक २०८३, बिहिबार १६:०३

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन चीन प्रस्थान


काठमाडौं, कात्तिक ५ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन आज चीन प्रस्थान गर्नुभएको छ ।

चीनको हपवे प्रदेशस्थित स्योङआनमा आयोजना हुन लागेको उक्त फोरममा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ भन्ने मूल विषय रहेको सम्मेलन अक्टोबर २३ देखि २५ सम्म सञ्चालन हुनेछ ।

सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल तथा गोलमेच बैठक आयोजना गरिनेछ ।

फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापनाका लागि आवश्यक सुधार, बहुपक्षीयताको प्रवर्द्धन, अन्तर्राष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तर्राष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिकालगायत विषयमा छलफल हुनेछ ।

त्यसैगरी, जलवायु परिवर्तन र त्यसका असर, हरित तथा न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा पनि सम्मेलनमा बहस हुने बताइएको छ । पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।