जनता टाइम्स

११ कार्तिक २०८३, बुधबार १९:०५

गएकाे चुनाव चुनाव होइन, धोका हो; सरकारविरुद्ध आन्दोलनको विकल्प छैन : केपी ओली 


काठमाडौं, कात्तिक ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुनमा सम्पन्न चुनावलाई ‘प्रतिगमन यात्राको दोस्रो शृङ्खला’ भन्दै अस्वीकार गर्नु भएकाे छ। चुनावी प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै ओलीले सरकारविरुद्ध आन्दोलनको विकल्प नरहेको बताउनुभयाे । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित मनाेनित तीन केन्द्रीय सदस्यको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले गत फागुनको चुनावलाई योजनाबद्ध रूपमा अघि बढाइएको प्रतिगमनको शृङ्खलाको संज्ञा दिनुभयाे। उहाँले चुनावलाई सामान्य राजनीतिक प्रतिस्पर्धाका रूपमा नभई धोकाका रूपमा चित्रण गर्दै निर्वाचन प्रक्रियामाथि नै प्रश्न उठाउनुभयाे । ‘गएको चुनाव चुनाव नै होइन, प्रतिगमन यात्राको दोस्रो शृङ्खला हो, योजनाबद्ध शृङ्खला हो, यो चुनाव नै होइन, धोका हो,’ ओलीले भन्नुभयाे । 

उहाँले निर्वाचनका क्रममा प्रतिनिधिबिना मतपेटिका लिएर गएको दाबी गर्दै नेपालमा यस्तो घटना पहिलोपटक भएको जिकिर गर्नुभयाे। चुनावी वातावरणमा मानिसले खुलेर बोल्नसमेत नसक्ने अवस्था बनेको उहाँकाे भनाइ थियाे । ‘यस्तो माहोल बन्यो—बोल्न पनि मानिसले सक्ने अवस्था रहेन, नेपालमा प्रतिनिधिबिना लिएर गएको पहिलो पटक हो,’ ओलीले भन्नुभयाे।

सरकारको कार्यशैलीप्रति आक्रामक रूपमा प्रस्तुत हुनुभएका ओलीले अहिले स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगिएको बताउनुभयाे। सरकारको गतिविधिले नागरिक स्वतन्त्रता र राजनीतिक अधिकारमाथि प्रश्न खडा गरेको उहाँको भनाइ थियो।

उहाँले सरकारविरुद्ध आन्दोलनलाई अपरिहार्य विकल्पका रूपमा प्रस्तुत गर्दै पार्टीपंक्तिलाई मानसिक रूपमा तयार रहन आह्वान गर्नुभयाे । आन्दोलन तत्कालै वा केही समयपछि सुरु हुन सक्ने संकेत गर्दै उहाँले समयको प्रतीक्षा गर्नुभन्दा तयारीमा जुट्नुपर्नेमा जोड दिनुभयाे । ‘अहिले होस् कि भोलि होस् कि तिहार–छठपछि होस्, हामी मानसिक रूपमा तयार भएर बस्नुपर्छ,’ ओलीले भन्नुभयाे । 

ओलीले सरकारले विना बर्दीका प्रहरी परिचालन गरेर बलजफ्ती गर्ने र गिरफ्तारी गर्ने जस्ता अराजक गतिविधि गरिरहेको बताउनुभयाे।  पूर्वप्रधानन्यायाधीशदेखि आफूलाई समेत सरकारले पूर्वाग्रह राखेर पक्राउ गरेको उहाँको दाबी थियो।

सरकारले कानुनी प्रक्रिया र राजनीतिक असहमतिलाई कसरी सम्बोधन गरिरहेको छ भन्ने विषयमा प्रश्न उठाउँदै ओलीले गिरफ्तारी तथा धरपकडलाई सरकारको प्रतिशोधपूर्ण व्यवहारका रूपमा व्याख्या गर्नुभयाे।  

आगामी चुनावमा एमालेलाई नराम्रोसँग पराजित गर्ने प्रयास भइरहेको ओलीले दाबी गर्नुभयाे। तर, त्यस्तो प्रयास सफल हुन नदिने भन्दै उहाँले विगतमा पनि पार्टीले चुनौतीको सामना गरेको स्मरण गराउनुभयाे । ‘आगामी चुनावमा एमालेलाई नराम्रो ढंगले पराजित गर्न खोजिएको छ, त्यसलाई दिवासपनामा परिणत गराउनुपर्छ,’ ओलीले भन्नुभयाे, ‘विगतमा पनि हामीले गरेका छौँ।’