काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै संसद्को अधिवेशन आह्वान गर्न माग गरेको छ। सरकार संविधान, विधिको शासन र संसदीय व्यवस्थाको मर्मविपरीत अघि बढेको बताउँदै कांग्रेसले संवैधानिक मर्यादा कायम गर्न तथा सरकारलाई जवाफदेही बनाउन माग गरेको हो।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर ४ देखि सुरु भई हिजाे मंसिर ११ गते सम्पन्न बैठकले सरकारका पछिल्ला गतिविधिमाथि गम्भीर समीक्षा गर्दै विभिन्न निर्णय सार्वजनिक गरेको छ। सभापति गगनकुमार थापाको सभापतित्वमा सम्पन्न बैठकले सरकारको कार्यशैली, आर्थिक अवस्था, सुशासन, नागरिकका समस्या र संवैधानिक व्यवस्थाका विषयमा आफ्नो धारणा स्पष्ट पारेको हो।
कांग्रेसले वर्तमान सरकारले संविधानले स्थापित गरेको निर्वाचन प्रणाली र संसदीय व्यवस्थाको मर्मअनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ। सरकार गठन भएपछि संसद् अधिवेशन नबोलाउने, संसदीय समितिलाई जवाफदेही नबनाउने र विधिसम्मत प्रक्रियालाई कमजोर बनाउने प्रवृत्ति देखिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।
सरकारले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत कार्यपालिका, व्यवस्थापिका र संवैधानिक निकायबीचको संस्थागत सन्तुलन कमजोर बनाएको कांग्रेसको ठहर छ। संविधानको अक्षर मात्र होइन, त्यसको भावना, लोकतान्त्रिक परम्परा र संस्थागत मर्यादाको सम्मान गर्नु सरकारको दायित्व भएको कांग्रेसले स्मरण गराएको छ।
कांग्रेसले सरकारले कानुनको शासनभन्दा शासकीय स्वेच्छाचारितालाई प्राथमिकता दिएको बताएकाे छ। सरकारको आलोचना गर्ने वा राजनीतिक रूपमा असहमत हुने व्यक्तिमाथि राज्यशक्तिको दुरुपयोग गरेर अनुसन्धान तथा कारबाही अघि बढाउन नहुने उसको भनाइ छ। कुनै पनि व्यक्तिमाथि अनुसन्धान गर्दा राजनीतिक निकटता वा विरोधका आधारमा नभई प्रमाण र कानुनी प्रक्रियाका आधारमा निष्पक्ष व्यवहार हुनुपर्ने कांग्रेसको माग छ।
बैठकले आर्थिक अवस्था र नागरिकको जनजीविकाप्रति पनि सरकारको ध्यानाकर्षण गराएको छ। महँगी, बेरोजगारी, बैंकिङ प्रणालीमा देखिएको दबाब, निजी क्षेत्रको कमजोर मनोबल तथा सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याप्रति सरकार संवेदनशील नभएको कांग्रेसको ठहर छ। अर्थतन्त्रलाई चलायमान बनाउने, निजी क्षेत्रको विश्वास फर्काउने, रोजगारी सिर्जना गर्ने तथा शिक्षा र स्वास्थ्य सेवामा सुधार ल्याउने विषयलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने कांग्रेसले जनाएको छ।
सरकारले सार्वजनिक गरेका प्रतिबद्धता र घोषणाको कार्यान्वयन अवस्था पनि स्पष्ट पार्न कांग्रेसले माग गरेको छ। विभिन्न समुदाय, समूह तथा आन्दोलनरत पक्षसँग गरिएका सम्झौता र सहमतिहरूको प्रगति सार्वजनिक गर्नुपर्ने, त्यसको कार्यान्वयनका लागि समयसीमासहितको कार्ययोजना बनाउनुपर्ने कांग्रेसको माग छ।
यसैगरी बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका सकारात्मक उपलब्धिलाई स्वागत गर्दै भ्रमणका क्रममा उठाइएका संवेदनशील विषयमा भने सरकारको निरन्तर जवाफदेहिता आवश्यक रहेको जनाएको छ। भारतसँगको सहकार्यलाई परिणाममुखी बनाउन तथा भएका सहमति र समझदारीको कार्यान्वयनमा पारदर्शिता कायम गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ।
कांग्रेसले भोटेकोशी, बुढीगण्डकी र कालीगण्डकीलगायत बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि तत्काल प्रभावकारी कदम चाल्न पनि माग गरेको छ। बाढीपीडितलाई राहत, सुरक्षित आवास, जीविकोपार्जन र पुनर्निर्माणमा सहयोग पुर्याउन संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बैठकको निष्कर्ष छ।
त्यस्तै भूमिहीन दलित, वास्तविक सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको समस्या दीर्घकालीन रूपमा समाधान गर्न कांग्रेसले सरकारसँग माग गरेको छ। सार्वजनिक जग्गाको संरक्षण गर्दै वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी उनीहरूको आवास तथा भूमि अधिकार सुनिश्चित गर्नुपर्ने उसको धारणा छ।
बैठकले पार्टीको आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिका विषयमा पनि महत्वपूर्ण निर्णय गरेको छ। पार्टीले अभियानको अवधारणापत्र स्वीकृत गर्नुका साथै सार्वजनिक कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०८३ पारित गरेको छ। केन्द्रीय कार्यसम्पादन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति गठन गर्न सभापतिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत गरेको छ।
यसैगरी नेपाली कांग्रेसको नाम, लेटरहेड, झण्डा तथा चुनाव चिह्न ‘रुख’ अनधिकृत रूपमा प्रयोग गरी गतिविधि सञ्चालन गरिएको विषयमा आपत्ति जनाउँदै त्यस्ता गतिविधि रोक्न आवश्यक कानुनी प्रक्रिया अघि बढाउने निर्णय बैठकले गरेको छ।
महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिमाथि हुने लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानलाई प्रभावकारी बनाउने र लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका क्षेत्रमा काम गर्न पार्टीको संस्थागत संयन्त्र निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ।
सरकारलाई खबरदारी गर्ने, संविधान र लोकतन्त्रको रक्षा गर्ने तथा नागरिकका जनजीविकासँग जोडिएका मुद्दामा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै कांग्रेसले आफ्ना सांसद तथा पार्टीका सबै तहका संरचनालाई संसदीय र राजनीतिक निगरानी प्रभावकारी बनाउन निर्देशन दिएको छ। बैठककाे निर्णय आज पार्टी महामन्त्री प्रदीप पौडेलले सार्वजनिक गर्नु भएकाे थियाे ।













प्रतिक्रिया दिनुहोस्