जनता टाइम्स

१७ चैत्र २०७६, सोमबार ०९:०६

कोरोनाको महाप्रलयमा नेपाल भारत सम्बन्ध


नेपाल र भारतले कोरोनासँग जुध्न सबभन्दा पहिले सूचना र तथ्यांकको आधारमा साझा रणनीति बनाउनु पर्दछ। सुरक्षा संयन्त्र, मिडिया, नागरिक समाज लगायत हरेक तरिकामा संवाद र सहभागिताको वातावरण बनाउनुपर्दछ।कुटनीतिमा जी टू जी (सरकारदेखि कर्मचारीसम्म) र पी टू पी (जनतादेखि जनतासम्म) को संयन्त्रलाई पूर्ण सक्रिय बनाउनु पर्दछ। भारत र नेपालको खुला सिमानामा बिचौलिया र कालाबजारीहरु धमिलो पानीमा माछा नमारोस् भन्ने पृष्ठभूमिमा सुरक्षा संयन्त्रलाई दुईवटै मुलुकहरु चुस्त र दुरुस्त बनाउनु पर्दछ

विपिन देव

कोरोनाको सन्त्रास र प्रलयले भूमण्डलीकरणको अभ्यासलाई चुनौती दिएको छ । मानवले विज्ञान र प्रविधिको माध्यमबाट भौतिकवादको चुचुरोमा पुग्दै मानव जीवनलाई पूर्ण रुपमा यान्त्रिकीकरण गर्दै प्रकृतिको प्रचुर दोहन गरिरहेको कोरोना विभीषकाबाट सम्पूर्ण जाति आक्रान्त भएको अवस्था छ । प्रत्येक व्यक्ति आत्मनिरीक्षण गर्दै एकान्त बास र एकाङ्की हुँदै वर्तमान अवस्थाप्रति चिन्ता गरिरहेको अवस्था छ । यही पृष्ठभूमिमा दक्षिण एसिया पनि कोरोनाको महाप्रलयबाट कम्पित भइरहेको अवस्था छ ।दक्षिण एसिया संसारकै बढी जनघनत्व भूभाग हो । विश्वको २० प्रतिशत जनता वा मानव समुदाय बसोबास गरिरहेको यो भूभागमा पछौटेपन हरेक हिसाबले अधिक छ ।

जनघनत्व बढी हुनु सफा सुग्घरप्रति कम जागरुकता, सफा पिउने पानीको कमी, सूचनाको अभाव जस्ता अनेकौं समस्याले गर्दा मान्छे कोरोना महाप्रलयबाट बढी त्रसित हुनु स्वाभाविक नै हो । दक्षिण एसियामा चीनको प्रभाव पनि बढी हुनाले कोरोनाको त्रास यस यस भूभागमा बढी नै देखिन्छ । यस सन्दर्भमा लाउरी ग्यारेटले के भनेका छन् भने चीन सँगको सामिप्यता र सम्बन्धले संसारभरि नै कोरोनाको जोखिम बढेको छ, जसबाट दक्षिण एसियालाई पृथक राख्न सकिदैन । श्रीलङ्कामा हम्वनटोटा निर्माणमा चीनको भौतिक उपस्तिथि, पाकिस्तानको सिपेकमा चिनियाँ सहभागिता र बंगलादेशमा व्यापारिक कारोबार र नेपालसँगको सघन सम्बन्धले कोरोनाको सन्त्रासलाई वातावरण निर्माण गरेको देखिन्छ । त्यति मात्रै होइन कि दक्षिण एसियाको सम्बन्ध खाडी मुलुकहरुसँग पनि सघन छन् । इरान कोरोनाबाट ग्रसित छन् जहाँ कि ३ लाख अफगानी विद्यार्थीहरु अध्ययनरत छन् । अफगानीस्तान र पाकिस्तानको संसर्गले दक्षिण एसियाका अरु देशहरु अछुतो रहन सक्दैन ।

यस परिवेशमा कोरोनासँग संग्राम गर्न नेपाल र भारतबीच सहकार्य अति आवश्यक देखिन्छ । नेपाल र भारत सम्बन्धको व्यापक समझदारी साझेदारी, सहानुभूति र संवेदनशीलताको टड्कारो आवश्यकता देखिन्छ । दक्षिण एसियामा कमजोर पक्षहरु मात्रै छैनन्, यस क्षेत्रमा प्रचुर सम्भावनाका सूचकहरु पनि छन् । जनसांख्यिक लाभांश (डेमोग्राफीक डिभीडेन्ट), विगतका दिन, दशकदेखि प्रचुर आर्थिक विकास, श्रीलङ्का र नेपालमा गृहयुद्धको अन्त्य, भारतको विश्व मानचित्रमा आर्थिक उदयजस्ता अनेकौं परिघटनाहरु सामर्थ्यका द्योतकहरु हुन् । साथसाथै दक्षिण एसियामा अपेक्षाकृत रुपमा नेतृत्वहरु बलिया छन् । बहुमत प्राप्त दलका नेताहरु आफ्नो उग्र राष्ट्रवाद र कौशलको आधारमा वेस्टमिनिस्टर प्रणाली अन्तर्गत पनि राष्ट्रपतीय प्रणालीझैं बहुमत प्राप्त दलका नेतृत्वहरू शक्तिशाली छन् । भारत, नेपाल र बंगलादेश यसका प्रतिनिधि उदाहरणहरु हुन् । यस अर्थमा कोरोनासँग लड्न बलिया नेतृत्वले बढी सक्षमता देखाउन सम्भावना बोकेको हुनसक्छ । नेपाल र भारतमा प्रधानमन्त्रीहरु शक्तिशाली छन् । आआफ्ना योग्यता, मुद्दा, वाक्पटुता र संगठनात्मक संरचनाका आधारमा बहुमत प्राप्त गरेका दृष्टान्त छ ।

नेपाल र भारत सम्बन्धलाई पुर्वव्याख्या गर्दा पहिले खुला सिमानाको मुद्दा नै अग्रस्थानमा देखिन्छ ।१८५० किलोमिटर भारतसँग नेपालको भूभाग जोडिएको अवस्था छ । भारतले कोरोनासँग जुध्न विभिन्न परिक्षण र प्रयास गरिरहेको अवस्थामा नेपालले पनि त्यो अनुभवलाई प्रयोग गर्न सक्दछ । भारत सबभन्दा नजिकको छिमेकी हुनुका कारण आपतकालीन अवस्थामा भारतको सहयोग अरु राष्ट्रहरु भन्दा छिटै उपयोग र उपभोग हुने सम्भावनालाई नकार्न सकिदैन। भूकम्पबाट प्रभावित भएको संकटपूर्ण अवस्थामा ६ घण्टाभित्रै भारतले १६ वटा टिमसहित नेपालमा प्रवेश गरेको उदाहरणलाई विस्मृतिमा राख्न सकिदैन । सहयोग बिना सूचनाबाट सम्भव हुँदैन । भारतका शासकीय संरचनासँग नेपालको बारेमा गहन जानकारीले गर्दा सहयोग प्रभावकारी हुनसक्छ । यसका धेरै आयामहरू छन् ।

सन् १९९६देखि नेपालको भारतबाट हुने आयात ११ गुणा बढेको छ भने द्विपक्षीय व्यापारको अभिवृद्धि सात गुणाले बढेको देखिन्छ ।अर्थात् नेपालको भारतसँगको व्यापार २९.८ प्रतिशत भन्दा पनि बढी देखिन्छ । नेपालको विदेशी पुञ्जी भण्डारणको अधिक हिस्सा अहिले पनि भारतले नै ओगटेको देखिन्छ । अर्थात् नेपालमा भारतबाट कुल एफडीआइ ३८.३ प्रतिशतमा छ । नेपालमा भारतका व्यापारिक घराना र उच्च ख्यातिप्राप्त व्यापारिक कम्पनीहरुको उल्लेख्य लगानी रहेको देखिन्छ । अर्को शब्दमा भन्ने हो नेपालमा १५० भारतीय कम्पनीहरु ठुलाठुला योजनाहरुमा लगानी गरेको देखिन्छ । यी व्यापारिक र आर्थिक पृष्ठभूमीले सहकार्यमा उर्जा प्रदान गर्दछन्।अहिले भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको अगुवाई र आह्वानमा सार्क राष्ट्रहरुको भिडियो कन्फरेन्स हुनु, भारतले १० मिलियन अमेरिकी डलरको फण्ड राख्नु, माल्दिभ्सले २ लाख अमेरिकी डलरको फण्ड राख्नु, भुटानले १ लाख डलरको फण्ड राख्नु अनि नेपाल १० करोडको फण्ड राखेर दक्षिण एसियामा सहकार्यको वातावरण निर्माण गरेको देखिन्छ ।

यस अवस्थामा नेपाल र भारतले कोरोनासँग जुध्न सबभन्दा पहिले सूचना र तथ्यांकको आधारमा साझा रणनीति बनाउनु पर्दछ। सुरक्षा संयन्त्र, मिडिया, नागरिक समाज लगायत हरेक तरिकामा संवाद र सहभागिताको वातावरण बनाउनुपर्दछ।कुटनीतिमा जी टू जी (सरकारदेखि कर्मचारीसम्म) र पी टू पी (जनतादेखि जनतासम्म) को संयन्त्रलाई पूर्ण सक्रिय बनाउनु पर्दछ। भारत र नेपालको खुला सिमानामा बिचौलिया र कालाबजारीहरु धमिलो पानीमा माछा नमारोस् भन्ने पृष्ठभूमिमा सुरक्षा संयन्त्रलाई दुईवटै मुलुकहरु चुस्त र दुरुस्त बनाउनु पर्दछ । जसले गर्दा वितरण प्रणाली र सामानको आयातर निर्यात हुनेक्रममा नाफाखोर र दलालहरुले मौकाको फाइ उठाएर कुनै लाभ नलियोस्। अहिले नेपालसँग जोडिएका सम्पूर्ण बोर्डरहरुको जिल्ला अधिकारी (दुवै देश) का सँग सूचना आदान प्रदान नियमित रुपमा हुनुपर्दछ । प्रदेश र संघीय सरकारले त्यसको अनुगमन र मार्गदर्शन गर्नुपर्दछ। खास गरेर नेपाल र भारतमा सामाजिक संजालले आपतकालीन अवस्था मिस इन्फोरमेसन (गलत सुचना प्रवाह) ले गर्दा जनतामा डर, भयर त्रासको वातावरण निर्माण गर्न सक्दछ ।

नेपाल र भारत दुइवटै प्रजातान्त्रिक मुलुक भएकोले प्रजातान्त्रिक मुल्य र मान्यताको मापदण्डमा सामाजिक संजाल लगायत विभिन्न किसिमको सुचना सम्प्रेषणलाई प्रशोधित गर्दै जानजनमा पुर्याउनु पर्दछ । वुहानमा सूचनाकै अभावले गर्दा नै धेरै व्यक्तिको मृत्युको मुखमा पुगे। १.९ करोड (एक करोड ९० लाख) मानिस बसोबास गरेको समुदायमा सुचना कमजोर भएको कारणले नैगर्दा स्वदेशी र विदेशी पीडित भए।यस सन्दर्भमा एक जानकारले बडोरोचक टिप्पणी गरेका छन् । उनले के भनेका छन् की चीनले २० औं शताब्दीको विज्ञान र प्रविधिलाई प्रयोग गरे तापनि १९ औं शताब्दीको राजनीतिलाई प्रयोग गरेको कारणले गर्दा वुहानमा यस्तो दुर्घटना हुन पुग्यो जसको राप र तापबाट सम्पूर्ण मानवजाति नैत्रसित भएको देखिन्छ । अर्थात् नेपाल र भारतको सफ्टपावर’ बलियो हुनुपर्दछ। नेपाल र भारतको नेतृत्वले प्रष्ट के बुझ्नुपर्दछ कि नेपाल र भारतको कोरोना लगायत अन्य मुद्दा र समस्याहरु भाइचारा र भातृत्वको कसीमा नै समाधान गर्नुपर्दछ । अर्थात् वर्तमान अवस्थामा नेपाल भारत सम्बन्ध चुस्त र दुरुस्त हुनु अति आवश्यक रहनु पर्ने देखिन्छ ।