जनता टाइम्स

५ जेष्ठ २०७७, सोमबार १४:४३

कोरोना कहरमा भारत–चीन र अमेरिकाको सामरिक नीति


बदलिँदो परिदृश्यमा कोरोनाको कहरले गर्दा बिश्वकै आपूर्ति शृंखला पूर्ण रुपबाट प्रभावित हुन सक्ने छ । अर्थात अमेरिका, चीन र भारतको त्रिकोणात्मक सम्बन्धले पूर्ण वैश्वीकरण (रि–ग्लोबलाइजेसन) हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिंदैन ।

विपिन देव

संसारको कुनै पनि सरकारसँग भविष्यको मार्गचित्र छैन । अनिश्चितताको भुमरीमा, अन्यौलताको बादलमा र निराशाको कुहिरोको दमित मानव समाज आफ्नो मुक्तिको लागि छटपटाइ रहेको छ । समृद्धि, प्रगति, वैज्ञानिक कौशलता पनि कोरोनाको अगाडि हम्मे–हम्मे भइरहेको छ । यस अवस्थामा विश्व कुटनीति पनि आफ्नो स्वरूप परिवर्तन गर्दै छ । वर्तमान अवस्थामा दुईवटा विचार विश्व रङ्गमञ्चमा चर्चाको विषय बन्न पुगेको छ । पहिलो विचारअनुसार आउने दिनमा अमेरिका वर्चश्व संसारबाट पलायन हुनेछ । १२ प्रतिशत जनताबाट ओगटेको युरोपेली सभ्यताको सर्वोच्चता इतिहासको पानामा जानेछ । अर्को विमर्श आउने दिनमा चीनको दबदबा र हैकमको डमरु सारा संसारमा गुञ्जित हुनेछ । यसरी अमेरिकाको पतन र चीनको उदय हुनसक्ने सम्भावना एकातर्फ छ भने अर्कोतर्फ चीन र अमेरिकाको भिडन्तलाई साम्यवादी र प्रजातन्त्रवादीबीच भिडन्तको रुपमा पनि धेरै स्तम्भहरु धेरै छापाखानाहरुमा पाइन्छ ।

अमेरिकाले चीनप्रतिको आक्रोश र कटुतालाई बारम्बार सार्वजनिक गर्दै आएको छ । जसरी रोनाल्ड रेगनले सोभियत रुसलाई ‘एभिलएम्पायर’ (दुष्ट साम्राज्य) को नामाङ्करण गरेको थियो, त्यही स्वर र शैलीमा डोनाल्ड ट्रम्पले कोरोनालाई चिनियाँ भाइरस भन्दै राष्ट्रपति सी जिनपिङको शैलीलाई निन्दा गर्दै आएका छन । वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय संघ र संस्थाहरुमा चिनियाँ अधिपत्य र सामथ्र्य प्रचुर मात्रामा बढिरहेको छ । कोरोनाको विषयमा सुरक्षा परिषदमा व्यापक रुपमा बहश नहुनु, विश्व स्वास्थ्य संगठनमाथि पनि चीनको दबदबा बढ्नु, अन्तर्राष्ट्रिय मुद्रा कोषले चिनियाँ प्रभावमा परेर पाकिस्तानको अर्थतन्त्रलाई थेग्न १.५ बिलियनको सहयोग गर्नु जस्ता विभिन्न परिघटनाबाट के निचोड निकाल्न सकिन्छ भने अमेरिकाको प्रभाव संसारको रङ्गमञ्चमा कमजोर भइरहेको छ । आक्रोशमा अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिइरहेको वित्तीय सहयोगमा समेत कटौती गरेर विश्व स्वास्थ्य संगठनको स्वच्छता र छविलाई नै प्रश्नको घेरामा रेखाङ्कित गरेको छ ।

अमेरिकाले चीनप्रतिको आक्रोशको केही धरातलीय यथार्थ सार्वजनिक भइसकेको छ । अर्थात चीनले सर्जिकल मास्क, सर्जिकल ग्लब्स, भेन्टिलेटर जस्ता उपकरण जनवरीमा नै आवश्यक भण्डारण गरिसकेको परिघटनाले के सन्देश दिन्छ कि जनवरीमा नै वुहान कोरोनाको चपेटामा आइसकेको थियो र चीनले सर्जिकल मास्कको आयातमा २७.८ प्रतिशतको अभिवृद्धि गर्नु, मास्कमा ७२ प्रतिशत आयातमा वृद्धि गराउनु, ग्लब्समा ३२ प्रतिशत वृद्धि गराउनुले संसारमायी वस्तुहरुको श्रोतलाई न्यूनीकरण गर्नु थियो । भारतका एक सम्मानित पत्रकार शेकर गुप्तासँगको अन्तर्वार्तामा अमेरिकी सेक्रेटरी अफ स्टेट माइकल पोम्पीओले प्रष्ट भनेका छन कि विश्व समुदायले चीनको रवैयाप्रति एक स्वरले निन्दा गर्नुपर्दछ । अमेरिकाको आधिकारिक अभिव्यक्तिप्रति बेलायतले पनि समर्थन गरेको छ । ब्रिटिश नेतृत्व डोमनिक रायकले प्रष्ट भनेका छन् कि आगामी दिनमा चीनसँग हुने व्यापार र व्यवहारमा विश्व समुदायले पुनर्विचार गर्नुपर्दछ ।

भारतको आधिकारिक धारणा अमेरिका र बेलायतभन्दा पृथक छन । भारतका विदेशमन्त्री डा. एस जयशंकर र अमेरिकी सेक्रेटरी अफ स्टेट बीचभएको भिडियो कन्फ्रेन्सबाट भारतले आधिकारिक धारणा सार्वजनिक भएको छ । भारतले मध्यमार्गी बाटो अवलम्बन गर्दै वर्तमान अवस्था आरोप र प्रत्यारोपको नभएर वर्तमान अवस्थामा संकटसँग जुध्न संसारको सम्पूर्ण शक्तिहरुबीच एक्यबद्धता हुनुपर्दछ । अर्थात कोरोनाको कहरबाट उन्मुक्ति पाउन बहुपक्षीय संवाद, सहकार्य र सहयात्राको वातावरण निर्माण गर्नुपर्ने अवधारणालाई भारतले अगाडि बढाएको देखिन्छ । सार्क, जी–ट्वेन्टी र असंलग्न राष्ट्रहरुको साझा मञ्चलाई भारतले पूर्ण रुपमा उपयोग गर्दै कोरोनासँग लड्न साझा संकल्पको टड्कारो आवश्यकताप्रति भारत आफ्नो रणनीतिको रुपमा लिएको देखिन्छ ।

मई १२, २०२० मा भएको भारतीय विदेशमन्त्री जयशंकर, माइक पोम्पीओ, ब्राजिल र दक्षिण कोरियाको प्रतिनिधिको संवादले प्रजातान्त्रिक मुलुकहरुको गठबन्धनलाई बलियो बनाएको संकेत समेत गरेको छ । कोरोनाको कहरबाट वैश्विकै आपूर्ति शृङ्खला प्रभावित भएको छ । चीनको बीआरआइको परियोजना पनि प्रभावित भएको छ । विश्वका ठुला लगानीकर्ताहरु आफ्नो निवेशलाई चीनबाट विस्थापित गरिरहेको छ । अर्थात जापान सरकारले आफ्ना कम्पनीहरुलाई चीनबाट विस्थापित हुन अनुदान सहयोगसमेत गरिरहेको छ । यही व्यापारिक परिदृश्यमा भारतले आफ्नो आर्थिक नीतिलाई पूर्ण रुपमा परिमार्जित गरिरहेको छ ।

कोरोनाको कहरलाई भारतले चुनौती र अवसरको रुपमा लिएको छ । भारतले धेरै भू–भाग विदेशी कम्पनीहरुलाई लगानी गर्न घोषणा गरेका छन् । भू–भागको परिधि युरोपको लक्जेम्बर्ग भन्दा पनि ठुलो रहेको भारतको दाबी रहेको छ । विश्वका ठुला टेक्सटायल अमेरिकी कारखानाहरु मेट्रोनिक र एबोट भारतमा आफ्नो शाखा विस्तार गर्न प्रतिबद्धता जाहेर गरेको छ । कोरोनाको कहरबाट भारतमा मात्रै १२२ मिलियन जागिर धरापमा हुनसक्ने सम्भावनालाई मध्यनजर राख्दै दक्षिण कोरियाका ठुला कम्पनी ह्युन्डाई र पोक्सओलाई भारतमा आकर्षण गर्न व्यापक प्रयाश भइरहेको छ । अर्थात दक्षिण कोरियाका यी दुई विशाल कम्पनीहरुले चीनबाट आफ्नो लगानीलाई विस्थापित गर्दैछ । यी दुई कम्पनीहरुको रोजाई भारत नै हुन सक्ने जानकारहरुको दाबी रहेको छ ।

विश्वको आपूर्ति शृङ्खलालाई अमेरिका, चीन, र भारतको त्रिकोणात्मक सम्बन्धले प्रभावित गरेको छ । अमेरिकाको एक हजार कम्पनीहरुले चीनमा प्रचुर मात्रामा लगानी गरेको छ र यी कम्पनीहरु आफ्नो लगानीलाई अन्यत्र विस्थापित गरिरहेको अवस्थामा भारत र भियतनाम रोजाइको शृंखलामा परेको छ । चीनमा अधिकांश कम्पनीहरुमा अमेरिकी प्लान्ट र चिनियाँ श्रमिक र संसाधन रहेको छ । बदलिँदो परिदृश्यमा कोरोनाको कहरले गर्दा बिश्वकै आपूर्ति शृंखला पूर्ण रुपबाट प्रभावित हुन सक्ने छ । अर्थात अमेरिका, चीन र भारतको त्रिकोणात्मक सम्बन्धले पूर्ण वैश्वीकरण (रि–ग्लोबलाइजेसन) हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिंदैन ।