जनता टाइम्स

८ जेष्ठ २०७७, बिहीबार १५:०३

सीमाको पुल खुलाएर गाउँ फर्किए छाङरु र तिङ्करबासी


दार्चुला, जेठ ८ । व्यास गाउँपालिका–१ छाङरु र तिङ्कंर गाउँ व्यासीका सौँका समुदाय आफ्नो गाउँ फर्किन पाएका छन् । जिल्ला प्रशासन कार्यालय, दार्चुलाको समन्वयमा आज खलङ्गास्थित सीमा पुल खुलाएर भारतकै बाटो प्रयोग गरी छाङरुका एक सय १० परिवार र तिङ्करका ६५ परिवार गरी एक सय ७५ परिवार व्यासबासी एकसाथ गाउँ फर्किएका छन् ।

दार्चुलाका पत्रकार लोकेन्द्रप्रसाद जोशीका अनुसार सीमाका पुल खुलेसँगै लालाबाला र पशुचौपायासहित सौँका समुदाय कुञ्चा बसाइँ सरेका हुन । दार्चुला सदरमुकामबाट गाउँ जाने बाटो नहुँदा पशुचौपायासहित खलङ्गामै बस्नुपरेको भन्दै कुञ्चा सर्ने वातावरण बनाइदिन व्यासवासीले सरोकारवालालाई एक महिना अघिदेखि नै दबाव दिँदैआएका थिए । चिसो छल्न मंसिर महिनामा खलङ्गा झरेका व्यासीहरूले वैशाख पहिलो हप्ता गाउँ फर्किन खोजेपनि लकडाउन र सीमानाका बन्दका कारण गाउँ फर्किन पाएका थिएनन् ।

नेपालतर्फ बाटो नहुँदा भारतीय भूमिको प्रयोग गरेर गाउँसम्म बसाइसराई गर्ने छाङरु र तिङ्कर गाउँका सौँका समुदाय एक साथ कुञ्चा सरेको स्थानीय नगेन्द्र तिङ्करीले जानकारी दिनुभयो । भारतको धार्चुला हुँदै पाँच दिन लगाएर सौँका समुदाय गाउँ पुग्ने गरेका छन । नेपालतर्फ पञ्चायत कालमा निर्माण भएको व्यास जाने बाटो मर्मत नहुँदा दुई दशकदेखि तिङ्करबासीलाई भारतीय प्रशासनकै अनुमतिमा भारतीय बाटोको प्रयोग गरेर गाउँ जानुपर्ने बाध्यता छ ।

खेतीपातीको समयमा गाउँ जान नपाएका उनीहरूको हिउँदेबाली खेतमै कुहिएको बताएका छन । बर्खे बाली लगाउन समेत ढिलाइ भएको छ । छ महिनाका लागि पशुचौपाया, बालबालिकासहित व्यासीरू खलङ्गा झरेपछि सीमाक्षेत्र मानवबस्ती विहीन हुने गरेको छ । स्वदेशको बाटो नहुँदा भारतबाट पाँच दिन हिडेर गाउँ पुग्ने सौँका समुदाय तिङ्कर सडक निर्माणपछि चार घण्टामै गाउँ पुग्न सक्नेछन । नेपाल र भारतको स्थानीय प्रशासनबाट बसाइँसराइको अनुमति लिएर एकसाथ व्यासवासी गाउँ फर्किएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँरले जानकारी दिनुभएको छ ।

अहिले व्यास गाउँपालिका–२ दुम्लीङदेखि वडा नम्बर १ को बुदीसम्म घोरेटो बाटो ठाउँठाउँमा भत्किएको छ । स्वदेशबाट गाउँ जाने बाटोसमेत नहुँदा भारतीय पक्षको दुब्र्यवहारका साथै विभिन्न समस्या भोग्नुपरेको स्थानीयको गुनासो छ । चालु आर्थिक वर्षभित्रै नेपाल सरकारले तिङ्करसम्म भत्किएको घोरेटो बाटो निर्माणका लागि बजेट विनियोजन गरेर नेपाली सेनामार्फत निर्माण गराउने तयारी थालेको छ । दार्चुला–तिङ्कर सडक निर्माणको जिम्मासमेत नेपाली सेनालाई दिने सरकारले निर्णय गरिसकेको छ । २०६५ सालदेखि निर्माण भइरहेको तिङ्कर जोड्ने सडकको हालसम्म ४० किलोमिटर ट्रयाक मात्रै खुलाइएको छ ।