जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार १९:२०

खेर जान्छ प्रधानमन्त्री ओलीबिरुद्धको यो ब्रम्हाश्त्र


गणेश बस्नेत

सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिल बिद्येयकमा घुसाइएका केही आपत्तिजनक प्रावधान प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको नीति भन्दा ठीक बिपरित छ, यसलाई सच्याउनु पर्छ भन्ने मान्यतामा दृढ उभिदा धेरै साथीहरुले प्रश्नसहित निश्कर्ष सुनाए, ‘ओली र ओली नेतृत्वको सरकारप्रति तपाईको पनि भ्रम टुटेछ, खुसी लाग्यो ।’

केही साथीहरुले प्रतिक्रिया दिए, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीच एकतापछि गठन भएको ‘प्रेस संगठन नेपाल’को संयोजक पूर्वमाओवादीतिर पारेर पद गुमेपछि तपाई पनि सही ठाउँमा आउनु भयो, केहीले भने पद गुमेपछि मिडिया काउन्सिल बिद्येयकको बहाना बनाएर बिरोधमा उत्रियो ।’ यी सवै साथीहरुको प्रश्न र निश्कर्षबारे लामो बहश गर्दा पनि संभव हुन्न । त्यतातिर बरालिनु त्यति उचित पनि नहोला । थुप्रै आक्षेप वा प्रश्न उठ्दा पनि जवाफ नदिनुको एउटै कारण थियो, ‘सँधै पद नभई नहुने अनि सधै ओली सरकारलाई नराकात्मक मात्रै देख्ने दोषी चस्माको उपचार संभव छैन ।’ साथीहरुको प्रश्न र जवाफलाई यसै रुपमा लिई प्रतिक्रियाबिहीन बसें । चुप बस्दा प्रश्न गर्ने सवैको एउटै अपेक्षा थियो, ‘मिडिया काउन्सिल बिद्येयक नसच्चियोस, त्यसैलाई हेरेर राजनेता ओली नेतृत्वको बर्तमान सरकार खराव छ, ओलीले ठीक गरेनन, सवै मन्त्री खराव छन भन्ने उग्र दक्षिणपन्थी कित्तामा उभियोस ।’

साथीहरुको प्रश्नको एकमुष्ट जवाफ दिनु उपयुक्त होला भनेर कम्प्युटरको किबोर्डमा औंला राखिरहँदा मिडिया काउन्सिल बिद्येयक सच्याउन प्रधानमन्त्री ओली आफैले पहलकदमी लिनुभएको यथार्थ बाहिर आइसकेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपप्रधानमन्त्री एवं सचिवालय सदस्य इश्वर पोखरेल, महासचिव बिष्णु पौडेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ मिडिया काउन्सिल बिद्येयकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको टीम फसेको वा जानजान सरकारबिरुद्ध मिडिया भडकाउने ग्य्राण्ड डिजाइनमा फसेको निश्कर्षतिर पुगेर जस्ताको तस्तै पारित नहुने र संशोधन गर्ने धारणा सार्वजनिक गर्नुभएको छ । यस्को अर्थ हो, प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताहरुलाई मिडिया काउन्सिल बिद्येयकको बिषयमा साँगोपांगो बुझाउनुको साटो लटरपटर गर्दै अन्तर्य लुकाइएको छ । फसाइएको छ ।

प्रधानमन्त्री ओली स्वयंले मन्त्रीलाई छाडेर प्रेस सल्लाहकार डा कुन्दन अर्यालमार्फत बिद्येयकको समग्र पाटोबारे जानकारी लिई सञ्चार कानून निर्माण सम्बन्धी आफू नेतृत्वको अघिल्लो सरकारले गठन गरेको आम सञ्चार कार्यदल र यसपटक गठन भएको सुझाव कार्यदलको प्रतिवेदन पढन माग्नुभएको तथ्य बाहिर आएको छ । यी सवै यथार्थ जानकारी पाउँदा पनि एउटा पंक्ति सुधारको कदम चाल्ने नायक ओलीसहित तिनै नेकपाकै नेताहरुमाथि आक्षेप लगाइरहेको छ । मन्त्री र मन्त्रालयमा रहेका ओली सरकारबिरोधी भुमीगत समुहले गरेको गल्तीलाई प्रधानमन्त्री र सरकाररिुद्धको ब्रम्हाश्त्र बनाउने नियोजित षडयन्त्रमा भइरहेको छ । त्यही योजनाअनुसार सरकार ‘अधिनायकवादतिर गयो, मिडिया काउन्सिल बिद्येयक अधिनायकवादी छ’ भन्दै समृद्ध नेपाल : सुखी नेपालीको अभियान सफल हुन नदिने यही हो मौका भन्दै जुर्मराएको छ ।

मन्त्रिपरिषदबाट पारित भई संसदमा गएको बिद्येयकको जिम्मा सिंगो ओली सरकार र नेकपाले लिनुपर्छ भन्दै कम्युनिस्ट सरकार पच्नै नसकेको दृष्यहरु पनि बाहिर आउन थालेका छन । प्रमुख प्रतिपक्षी कांग्रेसको छटपटी यसैको परिणाम हो । कांग्रेसले चुनावमा कम्युनिस्टले जिते अधिनायकवाद आउँछ भन्ने नारा बनायो, जनताले तिम्रो नारा गलत छ भन्दै ओलीको नेतृत्वमा चुवनामा होमिएको नेकपालाई जिताएर पठाए । जनताको त्यही चाहनाअनुसार ओली सर्वसम्मत रुपमा दोस्रो पटक प्रधानमन्त्री बन्नुभयो ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हालेको पन्ध्र महिना चार दिन पुगेको छ । पहिलो पटक सत्ताको बागडोर सम्हाल्दा नाकावन्दीसामु दृढतापुर्वक लडदै नेपालीको स्वाभिमान उचो बनाउने नायक ओली नेतृत्वको दोस्रो कार्यकालको यो पन्ध महिना नेपालको इतिहासमा निकै दुरगामी महत्व राख्ने काम भएका छन । अन्तराष्ट्रिय सम्बन्ध सुधारदेखि मुलुकको बिकाश निर्माणमा तीब्र फडको मार्न सफल भएको तथ्यांक क्रमशः सार्वजनिक हुँदैछन । हरेक क्षेत्रमा एकै कदम सही, सुधारका काम भइरहेका छन । ती बिषयमा आगामी दिनमा सबिस्तार तथ्यपरक ढंगबाट आउँला ।

आजलाई भने प्रधानमन्त्री ओलीको बिषयमा सडकमा देखिएको भ्रम र केही आक्षेपको बिषयमा केन्द्रित गर्ने कोशिष गरिएको छ । पछिल्लो समय पार्टीभित्र होस वा बाहिर, आफ्नै टीमभित्र होस वा फरक गुट, प्रधानमन्त्री ओली निसानामा पर्नुभएको छ । अर्थात ओलीसँग बालुवाटारमा बसेर मुलुकको शासन हाँकिरहेका, मन्त्रीको झण्डा हल्लाएर बेलगाम लुटन नपाएका अनि प्रक्रिया मिचेर मैमत्तता प्रदर्शन गर्न नपाएका सवै ओलीतिरै खनिन थालेका छन । हुन पनि यतिबेला प्रधानमन्त्री ओलीसँग पार्टी नेता–कार्यकर्तादेखि देशभरका सवै नागरिकको आसा, भरोसा र अपेक्षा छ । यही अपेक्षाको बिम्बका रुपमा अहिले सवैभन्दा बढी प्रहार ओलीकै टीमबाट भइरहेको छ । यतिबेला ओलीका बारेमा सडकमा गरिएका गुनासाहरु छन, ‘बालकोटका सवै कार्यकर्ताका प्यारो बाबै (ओलीलाई देश बनाउने नायक मानेर कार्यकर्ताले दिएको सम्मान) बालुवाटार सरेपछि अर्कै भए ।’ अर्काे आवाज सुनिन्छ, कार्यकर्ताले दिएको सर्वशक्तिमान ओलीले पार्टी एकता प्रक्रियामा आफ्ना इमान्दार भन्ने जति सवैलाई किनारा लगाए, सत्तामा पुगेपछि बेइमानी गर्नेहरु जति धमाधम पुरस्कृत भए ।’

यी दुईथरी गुनासा गर्नेहरु अहिले मन्त्री पद पाएकाहरुले छाडदा पनि ओलीको साथमै रहन्छन जीवनभर कुनै अवसरको अपेक्षा नगरी । पार्टीभित्रकै अर्काे समुहले भने ओलीले आफ्नो गुटबाहेक केही हेरेनन, जहाँ पनि आफ्नै गुटका लागि हालीमुहाली गराए ।’ अर्थात ओलीसँग पार्टीभित्रकै पूर्वएमाले सवै केही न केही गुनासो र आक्षेपको बाण लिएर उभिएको छ । जनसंगठनको एकता टुंगिएसँगै यो बहश चुलिएको छ । स्वयं ओली चाँहि के सोचिरहनु भएको छ त ? यस बिषयमा भने धेरैले आफूले प्राप्त गर्ने पदसँग जोडेर बिश्लेषण गरिरहेका छन । प्रधानमन्त्री ओलीलाई भित्रदेखि नबुझ्नेहरुका लागि यी तिनैथरी गुनासो वा आरोप सही लाग्ला । ओलीलाई भित्रैदेखि बुझ्नेहरुका लागि भने यी भनाईहरु मजाकको बिषय मात्रै बन्छ । सत्यमाथि असत्यको बिजयका लागि रचिएको भयंकर चक्रब्युँह लाग्छ ।

अनि जवाफ फर्काउँछन, ‘ओली गलत छैनन, सही छन, तपाईले पद वा अवसरको आँखाले हेर्नुभयो, मैले देश बनाउने उहाँको अभियान हेरें, यही फरक छ भन्ने दृढ संकल्पमा बस्छन । यसबीचमा ओलीको काम, ब्यवहार र अडानले पनि त्यही देखाइरहेको छ । ओलीमाथि पद नपाएको झोकमा वा नियुक्ति नपाएको झोंकमा आक्षेप लगाएको भ्रममा बाँच्न खोज्दा पनि यतिबेला मुलुक बनाउने अभियानमा प्रधानमन्त्री ओलीको काम र सरकारको दृढ लक्ष्यले एकाएक तोडिदिन्छ । फरक यति छ, कोहीकोही उहाँकै सामुन्नेमा बसेर समृद्धिको पाक्न लागेको भातमा पानी खन्याइरहेको छ, आफ्नो मैमत्ताता प्रदर्शन गर्दै उहाँकै समर्थनमा शब्द खर्च गरेजसरी दुनियालाई बिरुद्धमा लाग्न प्रोत्साहित गरेर । तर यी प्रबृत्ति पनि अव लामो समय रहिरहन सक्दैन । ओलीलाई नजिकबाट चिन्नेहरुको साझा निश्कर्ष हो यो ।

यति भनिरहँदा आफ्बारेमा केही प्रष्ट पार्नैपर्छ । जनसंगठन एकतामा पंक्तिकार स्वयं पनि पद घटुवा गरिएको कोटीमा परेको छ । त्यसैले पद घटुवा गरेपछि ओलीको राम्रा काम किन गर्ने भन्ने मनोभावना वा मनोबिज्ञानले पक्कै काम गर्छ । त्यसैकारण साथीहरु भनिरहेछन, ‘ओलीप्रति तपाईको पनि भ्रम टुटेछ ।’ यो पूर्वाग्रहको कुनै उपचार संभव छैन । किनकी सवै आफू जस्तै पदका भोको वा नियुक्तिका भोको हुन्छन भन्ने मान्यतालाई आर्यघाटमा दाहसंकार गरेर पत्रकारिता र प्रेस चौतारीमा आवद्ध हुने एक सच्चा कलमको सिपाही हुँ म ।

पद नपाएको झोकमा वा नियुक्ति नपाएको झोंकमा आक्षेप लगाएको भ्रममा बाँच्न खोज्दा पनि यतिबेला मुलुक बनाउने अभियानमा प्रधानमन्त्री ओलीको काम र सरकारको दृढ लक्ष्यले एकाएक तोडिदिन्छ

पद प्राप्ती र नियुक्तिको बिषयलाई मैले कहिल्यै आफ्नो लक्ष्य बनाएर अघि बढिन । त्यसैको परिणाम थियो, आफ्नै अध्यक्षतामा केन्द्रीय कमिटी बैठक बसेर अध्यक्षमा पराजित भएकै अगुवालाई नै अध्यक्ष बनाएर दोस्रो पोजिशनमा बस्ने मेरो निर्णय । त्यसैको परिणाम थियो, जागिर जाला भनेर माइन्यूट जलाउने र ब्याक डेटमा राजीनामा दिएर ममाथि नै माइन्यूट जलाएको आरोप थोपर्ने केही निकृष्ट पात्रहरुको भण्डाफोर नगरी तिनकै जागिरको लागि गरिएको चुपचप सहन । त्यसैको परिणाम थियो, २०७३ जेठ ८ गते प्रेस चौतारी नेपालको केन्द्रीय अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको दिन ।

यो तथ्य हो, यो तथ्यले सत्यसँग नलडने, शक्तिसँग नझुक्ने मेरो नीतिलाई कसैले डगमगाउन सक्दैन भन्ने यथार्थ । पदबिना बाँच्न नसक्ने र सवैतिर मलाइ चाँहिन्छ भन्दै कोकोहोलो मच्चाउनेहरुका लागि यो हिम्मतहार कुरा होला । तर यही हो सत्यसँग नलडने, शक्तिसँग नझुक्ने ओली नीतिको दृढ संकल्प । मिडिया काउन्सिल बिद्येयकको बिरोध पनि यसै नीतिको परिणाम हो । सच्चिनु पर्छ, प्रधानमन्त्री ओलीले सच्याउनु हुन्छ । यही हो यथार्थ । कोही कसैले अधिनायकवादको नारा लगाएर प्रधानमन्त्री ओलीमाथि ब्रम्हाश्त्र नफँयाक्दा हुन्छ । पानीको फोका झै खेर जान्छ प्रधानमन्त्री ओलीबिरुद्धको ती आक्षेपरुपी ब्रम्हाश्त्र । राजनेता ओलीलाई चिन्नेहरुले यस्तो आक्षेप कदापी स्वीकार गर्दैनन । इतिहासले पनि यही प्रमाणित गर्नेछन ।