जनता टाइम्स

११ जेष्ठ २०७७, आईतवार ०८:३९

कोरोनाबाट बिश्वभर ११७ नेपालीको मृत्यु : बेलायतमा सवैभन्दा बढीको गयो ज्यान (सूचीसहित)


काठमाडौं, जेठ ११ । कोरोना भाइरस संक्रमणबाट विश्वभर १ सय १७ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनएका अनुसार शनिबार साँझसम्म कोरोनाले१ सय १७ नेपालीको ज्यान लिएको हो ।

एनआरएनएको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो साता थप २१ जना जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन । तथ्यांकअनुसार यो साता संयुक्त अरव इमिरेट्स (युएई) मा ९, साउदी अरबमा ५, युकेमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको ज्यान गएको छ ।

एनआरएनए स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाका अनुसार कोरोनाबाट अहिलेसम्म सबैभन्दा बढी बेलायतमा ज्यान गएको छ । बेलायतमा मात्रै ६५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । यस्तै युएईमा १८ जना नेपालीले ज्यान गुमाएका छन् ।

अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ । साउदी अरबमा ७, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै, ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ । स्वास्थ्य समितिको तथ्यांक अनुसार २३ प्रतिशत ४० देखि ५० वर्ष उमेर समूहका छन् । ४० वर्षभन्दा कम उमेर समूहमा निधन हुने नेपालीको संख्या १६ प्रतिशत छ । बाँकी ८ प्रतिशतको उमेर समूह खुलेको छैन ।

संयोजक सापकोटाका अनुसार नेपालसहित विश्वभर १२ हजार ८ सय २१ गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भका छन । अत्याधिक कोरोना प्रभावित देशहरुमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर कम हुँदै गएको र मध्यपूर्वका देशहरुमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ ।

चीनबाट शुरु भएको कोरोना भाइरसबिरुद्ध लड्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक उच्चस्तरीय समिति गठन गरेको छ । संघले स्वास्थ्य, आर्थिक, विद्यार्थी, श्रमिक, महिला लगायतका उपसमितिको गठन गरि विश्वव्यापी रुपमा आफ्नो संजाललाई कोरोना पिडितको लागि राहत वितरण गर्न परिचालन गरेको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिनुभयो । कोरोनाबाट नेपालमा अहिलेसम्म तीन जनाको ज्यान गएको छ ।