काठमाडौं, असार ३ । ४५ वर्षपछि भारत–चीन सीमामा हिंसात्मक भिडन्त भएको छ । भारत र चीनको सीमा क्षेत्र लद्दाखको गल्वान उपत्यकमा सोमबार राति भएको भिडन्तमा एक भारतीय सैन्य अधिकृतसहित २० सैनिकको मृत्यु भएको छ । चीनतर्फ पनि हताहति भएको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन् ।
झडपमा थप १५ भारतीय सैनिक बेपत्ता भएको भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले जनाएको छ ।
भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु भएकाे हुनसक्ने वा चिनियाँ सेनाको नियन्त्रण परेको हुनसक्ने बताएका छन्।
आणविक शक्ति राष्ट्र भारत र चीनबीच लद्दाखमा सन् १९६२ को युद्धपछि छिटफुट आमने–सामने र झडप भइरहे पनि ज्यानै जाने गरी भिडन्त भएको थिएन । अरूणाञ्चलको तुलुङ लामा १९७५ मा दुई देशका सैनिकबीच भिडन्त भएयता भारत र चीनबीचको सीमानामा यो पहिलो हताहति हो । सीमामा हताहति रोक्न गस्ती गर्दा दुबै देशका सैनिकहरू निःशस्त्र हिँड्ने र समन्वय गर्ने गरे पनि एक महिनायता तनाव बढेको थियो ।
गत मे ५ मा लद्दाखकै प्यान्गोङ सो हिमताल छेउमा भारत र चीनका सैनिकहरूबीच धकेलाधकेल हुँदा दुबैतर्फका केही सैनिकहरू सामान्य घाइते भएका थिए । भारत र चीनका सुरक्षाकर्मीबीच सीमामा तनाव र आमने–सामनको स्थिति सोमबार राति हिंसात्मक झडपमा बद्लिएको हो । तनाव रोक्न दुबै देशबीच वार्ता भइरहेका बेला भिडन्त भएको हो । गल्वान उपत्यकामा चिनियाँ सैनिकले भारतीय भूमि अतिक्रमण गरी गस्ती गरिरहेको भारतले आरोप लगाउँदै आएको छ । त्यस्तै, भारतले युद्धको तयारीस्वरूप पूर्वी लद्दाखको लाइन अफ कन्ट्रोलनजिकै चीनले थप ५ हजार फौज उतारेको दाबी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्