जनता टाइम्स

७ असार २०७७, आईतवार २२:३२

लकडाउनपछि विदेशमा अलपत्र तीन हजार १०८ नेपालीलाई उद्धार गरी ल्याइयो, कुन देशबाट कति ?


काठमाडौं, असार ७ । कोरोना भाइरसको सङ्क्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीको उद्धार कार्य अझै जारी छ । सरकारले गत जनु ५ तारिखदेखि स्वदेश फर्काउन शुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो । गैरआवासीय नेपाली सङ्घका राष्ट्रिय समिति तथा नेपाल सरकारका कूटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा तीन हजार १०८ जना नेपाली स्वदेश फर्किसकेका छन् ।

हालसम्म मलेसियाबाट ११८, युएईबाट ३१७, कुवेतबाट ८९८ जना नेपाली फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट सात जना, म्यान्माबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो ।
यस्तै बङ्गलादेशबाट २५८ जना, ओमानबाट ३१३, माल्दिभ्सबाट ३०५, कम्बोडिया र सिङ्गापुरबाट १४६ जना र थाइल्यान्डबाट २४८ जना नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४, श्रीलङ्काबाट पाँच, साउदी अरबबाट १५३ र दक्षिण कोरियाबाट २२८ जना नेपाल फर्किएका छन् ।

आइतवार मात्रै अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ यात्रु उद्धार तथा कार्गो उडान भएको छ । विमानस्थल कार्यालयका अनुसार अन्तरराष्ट्रिय उडानबाट मात्रै ९२१ यात्रु नेपाल फर्किएका छन् । उनीहरुमध्ये अधिकांश विदेशमा अलपत्र परेर स्वदेश फर्किएका नेपाली हुन् । यसअघि यही असार ५ गते पनि एकैदिन अन्तरराष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएका थिए । विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेका छन् । आइतवार नेपाल एयरलाइन्सले सर्वाधिक चार, हिमालय एयरलाइन्सले दुई, जजीरा एयरले दुई र फ्लाइट दुबईले समान दुई उडान गरेका छन् ।

नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादबाट २४६ यात्रु र एक बच्चा ल्याएको छ । सोही एयरलाइन्सले कतारको दोहाबाट १४६ यात्रु र तीन बच्चा ल्याएको छ । दुबई र ढाकाबाट थप यात्रु ल्याउन निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । यस्तै हिमालय एयरलाइन्सले अबुधाबीबाट १५२ यात्रु र एक बच्चा, मलेसियाबाट २१ यात्रु ल्याएको छ ।

जजीरा एयरले कुवेतबाट १६१ यात्रु र पाँच बच्चा ल्याएको छ भने सोही गन्तब्यबाट थप यात्रु ल्याउन जजीरा एयर त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ । त्यसैगरी फ्लाइट दुबईले १८४ यात्रु र पाँच बच्चा ल्याएको छ । सोही एयरलाइन्सले दुबईबाट कार्गो ल्याउन प्रस्थान गरेको बताइएको छ । आन्तरिकतर्फ तारा एयरको लुक्लामा एक, मनाङ एयरको लुक्लामा तीन उडान भएका छन् । कैशाल एयरको सङ्खुवासभामा एक र बुद्ध एयरको एक लोकल उडान भएको विज्ञप्तिमा जनाइएको छ ।

४० जनाको शव पनि ल्याइयो

यही साता विदेशमा निधन भएका नेपालीको शवसमेत नेपाल ल्याउनेक्रम शुरु भएको छ । लकडाउनको अवधिमा विदेशमा विभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ती शव नेपाल ल्याइएको हो ।

अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट छ, ओमान, युएई र साउदीबाट एक/एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामध्ये ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको सङ्घले जनाएको छ । यसबाहेक अझै १६४ शवको व्यवस्थापन गर्न बाँकी रहेको छ । ती शव कोरोनाको कारण अन्तरराष्ट्रिय उडान बन्द हुँदा महिनौँदेखि विदेशमा रोकिएका थिए । उनीहरुको अन्त्येष्टि र व्यवस्थापनका लागि सङ्घले सम्बन्धित राष्ट्रिय समितिलाई निर्देशन दिइसकेको गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभएको छ ।