जनता टाइम्स

१७ श्रावण २०७७, शनिबार ११:२५

सुवास नेम्वाङको निश्कर्ष : बामदेव गौतमको प्रस्ताव राम्रो छ, त्यसैको आधारमा सहमति खोज्नुपर्छ


काठमाडौं, साउन १६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता सुवासचन्द्र नेम्वाङले उपाध्यक्ष वामदेव गौतमको प्रस्ताव सही रहेको भन्दै सोहीआधारमा बिवादको समाधान खोज्नुपर्ने बताउनु भएको छ ।

‘पार्टी बिग्रह तत्काल रोक्नका लागि’ भन्दै उपाध्यक्ष गौतमले सहमतिका छ बुँदे अवधारणा सार्वजनिक गर्नुभएको थियो । गौतमको प्रस्तावपछि पार्टीभित्रको विवादमा नयाँ सहमतिको आधार बनेको नेता नेम्वाङको ठहर छ । नेकपा संसदीय दलका उपनेतासमेत रहनुभएका नेम्वाङले यही प्रस्तावका आधारमा विवाद समाधान गर्दै एकता महाधिवेशनसम्म पुग्न सकिने आफ्नो निश्कर्ष सुनाउनु भयो ।

साउन १३ गते नेता गौतमले सहमतिका छ बुँदे प्रस्ताव सार्वजनिक गर्नुभएको थियो । उहाँले पार्टीको एकता महाधिवेशनसम्म अध्यक्ष र पाँच वर्षका लागि केपी शर्मा ओली प्रधानमन्त्री रहने प्रस्ताव गर्नुभएको छ । यस्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्षको जिम्मेवारीमा रहने, सहमतिमा पार्टीको एकता महाधिवेशन आयोजना गर्ने, प्रधानमन्त्रीको दैनिक काममा पार्टीले हस्तक्षेप भन्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महìवका विषयमा परामर्श गर्ने प्रस्तावमा उल्लेख छ ।

“उपाध्यक्ष बामदेव गौतमकको प्रस्ताव राम्रो छ, त्यसलाई आधार बनाएर सहमतिमा अगाडि बढ्न सकिन्छ,” नेम्वाङले भन्नुभयो । नेता नेम्वाङले फरक धार र उत्कर्षबाट अगाडि बढेका दुई कम्युनिस्ट पार्टीबीचको एकता प्रक्रिया नै सहमतिबाट भएकोले दुई अध्यक्षबीचको सहमति नै पार्टी निर्णय हुने प्रष्ट पार्नुभयो । “पार्टी एकतासम्बन्धी बाँकी काम एकता र सहमतिको महाधिवेशनबाट हुन्छ,” उहाँले भन्नुभयो, “पार्टी विधानमै एकता र सहमतिको महाधिवेशन हुने उल्लेख गरिएको छ । दुई अध्यक्षबीचको सहमति र एकताको विकल्प नै छैन ।”

उहाँले अध्यक्षद्वयको सहमतिबेगर एकता महाधिवेशनसम्म अर्काे बिकल्प नभएकोपनि प्रष्ट पार्नुभयो । “दुई पार्टीबीचको एकताको आधार सहमति हो । दुई अध्यक्षले पार्टीको नेतृत्व गर्नुहुन्छ, यो प्रस्ट छ । यो कुरालाई हेक्का राख्नुपर्छ,” नेम्वाङले भन्नुभयो ।

उहाँले पार्टीभित्र अल्पमत र बहुमत भन्ने प्रश्न पार्टी एकताको मान्यताविपरीत रहेको ठोकुवा पनि गर्नुभयो । “हाम्रा दुई अध्यक्ष कोही पनि अल्पमतमा पर्न सक्नुहुन्न । अहिलेको पार्टीको विधि, प्रक्रिया र मान्यता भनेको एकता र सहमति हो,” नेम्वाङले भन्नुभयो, उहाँले एकता र सहमतिभन्दा फरक ढङ्गले अगाडि बढ्न खोज्यौं भने त्यो एकता र सहमति त्यही बिन्दुबाट भत्कन्छ । ने समेत बताउनुभयो ।

उहाँले विचार र सिद्धान्तको विवाद नदेखिएकाले समस्याको समाधान गरेर जान सकिने विश्वास व्यक्त गर्दै कोरोना, बाढीपहिरो, भारतसँगको सम्बन्धमा आएको तिक्तताबीच पार्टीभित्र विवाद भन्दा एक ढिक्का भएर समस्या समाधानतिर लाग्नुपर्ने समयको चुनौती रहेको स्पष्ट पार्नुभयो । “सबैको कुरा सुन्दै अध्यक्षद्वयले बाक्लो भेटघाट र छलफल गर्दै समस्यालाई निष्कर्षमा पुर्याउनुपर्छ,” नेम्वाङले भन्नुभयो ।