जनता टाइम्स

१० भाद्र २०७७, बुधबार ०८:१०

कदापी सैह्य छैन राष्ट्रिय झण्डा जलाउने हर्कत


राष्ट्रिय झण्डा जलाउने घटनाले नेपाल र नेपालीप्रति घृणाद्धेष, फैलाउने मनसाय देखिन्छ । नेपालका मुलवासीहरुलाई घृणा गरेर सामाजिक रुपमा विद्वेश फैलाउने चेष्टा गरिएको देखिन्छ । जातीय रुपमा अर्को जातीप्रति घृणा फैलाउने यस्तो संकिर्ण अभिव्यक्ति हामी नेपाली तथा हाम्रो देश नेपालको लागि कदापि सैह्य कुरा होइन 

धनपति सापकोटा

संसारका अधिकांश देशहरुमा जन्मका आधारमा नागरिकता दिने चलन छ । संभवत जुन धर्तीमा मानिस जन्मन्छ, उसले त्यो धर्तीलाई आफ्नो मातृभूमिको रुपमा हृदयदेखि नै स्वीकार गर्दछ भन्ने मान्यताका आधारमा यस्तो ब्यवस्था भएको हो । हाम्रो देशमा पनि जन्मसिद्ध नागरिकता प्राप्त गर्ने कानूनी तथा संवैधानिक व्यवस्था छ । त्यसैगरी अन्य देशमा जन्मेर अरु कुनै देशको नागरिकता लिएमा पछि त्यो देशको नागरिक सरह सबै अधिकार पाए पनि शासकीय भूमिकाका कतिपय पदहरुमा पुग्न अंकुश लगाएको हुन्छ । सम्भवत मातृभूमि नभएको कारण पूर्णरुपमा वफादार हुन सक्दैन कि भन्ने मान्यताले यहाँ काम गरेको हुन पर्दछ । तसर्थ जो मान्छे जुन देशमा जन्म लिन्छ, त्यो भूमिप्रति ऊ वफादार वन्छ भन्ने यो विश्वव्यापी मान्यता हो । विश्वका धेरै देशहरुले यो मान्यतालाई अनुशरण गरेमा पनि छन् ।

तर हाम्रो देशमा जन्मको आधारमा मात्र होइन, वंशज कै आधारमा नागरिकता पाएका मानिसहरुबाट देश विरोधी कृयाकलापहरु प्रदर्शन गरेका घटनाहरु वाहिर आउनु दुःखद मात्रै होइन, गम्भीर र जटिल पनि हुन सक्दछ । प्रसँग राष्ट्रिय झण्डा जलाएको दृश्यसहित तयार गरिएको गिती भिडियोको हो । सञ्चारमाध्यमका अनुसार उक्त गीतको रचना गायक स्वयंको हो भन्ने कुरा आएको छ । तसर्थ यसको जिम्वेवार तिनै व्यक्ति हुन, जो पर्दामा झण्डा जलाउँदै पूर्व तथा वर्तमान राजनैतिक नेतृत्वको तस्विर जलाउन उद्धत देखिन्छन । यो घटनाले नेपाल र नेपालीप्रति घृणाद्धेष, फैलाउने मनसाय देखिन्छ । नेपालका मुलवासीहरुलाई घृणा गरेर सामाजिक रुपमा विद्वेश फैलाउने चेष्टा गरिएको देखिन्छ । जातीय रुपमा अर्को जातीप्रति घृणा फैलाउने यस्तो संकिर्ण अभिव्यक्ति हामी नेपाली तथा हाम्रो देश नेपालको लागि कदापि सैह्य कुरा होइन ।
करिव १२५ जाती वसोवास रहेको मेची कालीभित्रको हाम्रो भूमि विश्व कै विशिष्ट सामाजिक संरचना भित्र पर्दछ । यति धेरै जाती मिलेर वनेको देश विश्वमा पाइदैन । हजारौ वर्षदेखि एकै स्थानमा न्यूनतम १०/२० जाती मिलेर वनेको हाम्रो सामाजिक वनौट तुलनात्मक रुपमा अन्य देशका समाज भन्दा विशिष्ट छ नै । जति धेरै जात जातीका मानिस एकै समाजमा अन्तर्घुलित भएर रहेका छन, उती नै त्यो समाजको सर्वाङिगण विकास पनि सम्भव भएका उदारणहरु छन् । सम्भवत भौगोलिक तथा प्राकृति रुपले विशिष्ट भएकै कारणले हुनु पर्दछ, यस भूभागमा मध्य एसियादेखि पूर्वी एसियासम्मका र उत्तर एसियादेखि दक्षिण भारतसम्मका मुल नश्लीय मानिसहरुको यस भागमा वसोवास पाईन्छ । त्यो पनि हजारौ वर्ष पहिलेदेखि । इ.सं. पूर्वदेखि नै यस नेपाल भूखण्डमा हाल यहाँ रहेकै जातीहरुको कविला राज्य स्थापित भएको थियो भन्ने तथ्य इतिहासहरुबाट छर्लङ्ग हुन्छ ।

किरांत वंशावली गोपाल वंशावली, भोट वंशावलीबाट के कुरा प्रष्ट हुन्छ भने इ.स. भन्दा धेरै अघिदेखि यस भू खण्डमा हाल स्थापित जातीहरु कै कविला राज्यहरु यहाँ स्थापित थिए । अझ काठमाडौं उपत्यकाको कतिपय सन्दर्भमा त भारत भू–खण्डको भन्दा पनि विशिष्ट ढंगबाट भाषा, साहित्य, कला, संस्कृति विकास भएको पाइन्छ भने कतिपय सन्दर्भमा भारतीय सँगसँगै आफ्नो विशिष्ट पहिचान बनाउन सफल रहेको देखिन्छ । वि.स. १८२५ मा पृथ्वीनारायाण शाहले काठमाडौंमाथि विजय हासिल गरेपछि मात्रै आधुनिक नेपालको रुप रेखा तयार भएको हो । त्यस अघि स्थापित साना साना राज्यहरुभित्र नै हाल नेपालमा रहेका १२५ जाती रहेका थिए । यस समाजभित्रको कुन समयमा प्रवेश गरे ? कताबाट प्रवेश गरे ? भन्ने कुराको कुनै अभिलेख नराखी यहाँ प्रवेश गरेको देखिन्छ ।

सम्भवत नेपालको तराई भूभागमा विजित र विजयी राज्यको मनोविज्ञानका कारण एकिकरण पछि पनि केही मानिस भारत र पाकिस्तानमा प्रवेश गरे होलान । जस्तै सन १९४७ मा भारत पाकिस्तान विभाजन हुँदा लाखौंको संख्यामा मानिसहरु वसाइ सराई गरेका थिए । त्यसै मेसोमा वुझने हो भने नेपालले सुगौली सन्धिीपश्चात गुमाएका क्षेत्रबाट स्वभाविक रुपमा केही मानिस हालको नेपालको सरहदभित्र प्रवेश गरे होलान र त्यो स्वभाविक पनि थियो । त्यसपछिका दिनमा आफ्नो जीविकोपार्जनका लागि यसै भूभागबाट बसाई सर्दै पूर्वमा वर्मासम्म र दक्षिणमा राँचीसम्म गएकै छन भने नेपाल सरहद भित्र प्रशस्तै मात्रमा आफ्नो अनुकुलता अनुसार वसाई सर्दै जीविको चलाएकै छन् । त्यसको ज्वलन्त उदाहरण काठमाडौं उपत्यकामा उत्पति भएको नेवार जाती आज मेचीकाली सबै स्थानमा करिव करिव समान रुपमा विस्तारित भएर वसोवास गरिरहेछ । त्यसैगरी नेपालको मध्य पहाडी भूभागलाई आफ्नो मूल थलो मान्ने खस आर्य समाज आज तराईका प्रायः सबै जिल्लामा कमवेस बसाइसरकै छन् । त्यति मात्रै होइन १२५ जातीमा अधिकतम ७५ जातीहरुको तराई बसाई सराई भएको तथ्य हाम्रो जनगणना प्रतिवेदनले देखाउँछ ।

यसरी १२५ जातीको फूलवारीको रुपमा पूर्खाहरुको रगत पसिना, त्याग वलीदानले निर्माण गरेको हाम्रो अमुल्य रत्न भूमिभित्र विद्वेष फैलाउने खालका अभिव्यक्ति वाहिर ल्याउनु कदाचित राम्रो होइन, सर्वथा घातक कुरा हो । राज्यबाट वितरण हुनु पर्ने श्रोतमाथिको अवसर असन्तुलित भयो भन्ने विषयलाई सर्व स्वीकार्य नै तुल्याइ सकेको अवस्थामा २०७२ सालमा नेपाली जनताका प्रतिनिधीहरुले संविधान जारी गरेको हो । त्यसै संविधान मातहत वन्ने कानूनद्धारा हरेक नेपालीले आफूलाई स्थापित गराउने मार्ग प्रशस्त गरेको छ । त्यसले नपुगे संविधान नै संशोधन गरेर यस नेपाल सरहदभित्रका सबै नेपालीले समान रुपमा आफ्नो हक स्थापित गर्न मार्गमा कही कतै रोकावट छैन । यस्तो अवस्थामा हजारौं वर्षअघि देखि १२५ थरी जातजाती मिलेर वनेको वन्धिलो समाजको जरा काट्ने काम कदाचित स्वीकार्य छैन ।

विश्वका धेरै देशहरुमा वाह्य अतिक्रमणकारीहरुले शासन गरेको इतिहास रहेको छ । हाम्रो निकटतम छिमेकी देश भारतका आर्यहरुलाई नै मुलवासीहरुले वाह्य मान्दछन । त्यस तै इस्लामहरुलाई पनि वाह्य नै मान्दछन । हालका विकसित भनिएका अमेरिका, अष्ट्रेलिया, क्यानाडा यी सबै वाह्य अतिक्रमणकारीहरुले नै श्रृजना गरेको भौतिक विकासको श्रृंखलाबाट आजको विकास सम्भव भएको हो । तर हाम्रो देश नेपालको अवस्था त्यस्तो होइन । हाम्रो देशमा रहेका १२५ जाती प्राचिनताको हिसावले हेर्ने हो भने सवै आयातित हुन भने ऐतिहासिक हिसावले हेर्ने हो भने सबै मुलवासी हुन ।

राजनैतिक, आर्थिक, सामाजिक कारणले पछाडि परेको वा पारिएकाहरुबाट आउने शासक विरुद्धको आवाजलाई स्वभाविक मान्नु पर्ने शासन व्यवस्था त हामीले स्थापित गरिसकेकै छौं । यस्तो अवस्थामा पनि राज्य प्रति÷सरकार प्रति असन्तुष्टीका आवाज उठनुलाई नेपाली जनता स्वभाविक नै मान्दछन । आजको दिनमा हरेक नेपालीको मनमा केही न केही असन्तुष्टीले डेरा गरेकै अवस्था छ । सम्पूर्ण रुपमा खुसी रहेको वर्ग सानो होला । आफ्ना असन्तुष्टी पोख्न धारे हात लगाउनेको संख्या अधिक होला । विकशित देशको तुलनामा आफ्नो देशमा केही हुन नसकेको कारण अधिकांश नेपालीको मनमा हिनतावोधले डेरा जमाएकै होला । तर अझै वहुजातीय, वहुभाषिक, वहु क्षेत्रीय, धनी, गरिव, पठित, अपठित, शोसक, शोषित, पीडित, पीडक आदि इत्यादिको विषम धरातलमै टेकेर अघि वढनु हाम्रो निर्विकल्प मार्ग भएकोले सामाजिक द्वेष होइन, सामाजिक सदभावको मार्ग अपनाउन जरुरी छ । नेपाल भूमिका महान भूमिपुत्र गौतम वुद्धको मार्गअनुसार दुई अतिलाई त्यागगरी मध्य मार्गबाट अघि बड्नु नै हामी सबैको कर्तव्य वनेको छ । सबैलाई चेतना भया ।