जनता टाइम्स

१४ माघ २०७७, बुधबार १५:५९

प्रचण्ड–नेपाल पक्षमा हाँडीघोप्टे प्रवृत्ति छ– पुर्व संचारमन्त्री बाँस्कोटा


काठमाडौं १४ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा पुर्व संचारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद देखेर पूर्व माओवादीका नेताहरु ओली पक्षमा आएको बताउनुभएको छ ।

उहाँले काभ्रेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बाँस्कोटाले ओली नेतृत्वको सरकारले नेपालमाथि कसैको हैकम नचल्ने स्थिति निर्माण गरेको समेत दाबी गर्नुभयो । ‘अहिले राष्ट्रियताको संरक्षणको प्रश्न, राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न र नेपालीले शीर ठाडो पारेर नेपालमाथि कसैको हैकम नचल्ने स्थिति बनाउने आन्दोलनको, त्यो भूमिकाको, त्यो नेपाली मनको, त्यो नेपाली इतिहासको रक्षा गर्ने तागत र क्षमता प्रधानमन्त्रीको कुर्सीमा बसेर कसैको प्रवाह नगरेर कमरेड केपी ओलीले लिएको हुनाले राष्ट्रवादको झण्डा फहराउने सर्तमा प्रचण्डको पछि लागेका नेताहरु ओलीको पक्षमा छन्,’ बाँस्कोटाले भन्नुभयो । उहाँले प्रचण्ड–नेपाल समूहमा हाँडीघोप्टे प्रवृत्ति रहेको समेत जिकिर गर्नुभयो । उहाले आफूहरु गुटको पक्षमा नरहेको बरु पार्टी र देश बनाउनको लागि परेको उहाँको भनाई छ। ‘उहाँहरुको हाँडीघोप्टे मानसिकताको पार्टी बनेको छ। मैं खाउँ, मै लाउँ, सुख सयल मैं गरुँ भन्ने हाँडीघोप्टे प्रवृत्ति छ त्यहाँ,’ नेता बाँस्कोटाले भन्नुभयो ‘उहाँहरु आफू बन्ने कुरामा लाग्नुभएको छ। तर, हामी गुट होइन पार्टी बनाउने कुरा गरिरहेका छौं। हामी आफ्नो होइन देश बनाउने कुरा गरिरहेका छौं।’

तत्कालीन नेकपा माओवादी र नेकपा एमाले विघटन भइसकेको उल्लेख गर्दै उनले अब नेकपामात्र बाँकी रहेको र त्यसलाई बलियो बनाउनेमा आफूहरु लागेकोमा जोड दिनुभयो । गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन भएको थियो। त्यसको विरोधमा नेकपाभित्रैको प्रचण्ड–नेपाल समूह पक्ष सडकमा छ भने ओली पक्षले उक्त निर्णयको बचाउ गर्दै आएको छ। हाल प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।