जनता टाइम्स

२२ असार २०७८, मंगलवार ०७:२२

माथिल्लो तामाकोशी : कसरी पुग्यो ३५ अर्बबाट ८४ अर्ब लागत ?


काठमाडौं, असार २२ । निर्माणको एक दशक अवधिमा अनेक समस्या झेलेको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसीबाट ७६ मेगावाट विद्युत् परीक्षण उत्पादन सुरु भएको छ । जडित क्षमता ४ सय ५६ मेगावाट रहेको यो आयोजनाका ६ वटा युनिटमध्ये पहिलो युनिटबाट सोमवारदेखि परीक्षण उत्पादन थालिएको हो ।

पहिलो युनिटबाट परीक्षण उत्पादन सुरु भएको हरेक १० दिनमा थप अर्को युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने आयोजनाको तयारी छ । भदौ १५ सम्म ६ वटै युनिटबाट विद्युत् उत्पादन हुने आयोजनाको अनुमान छ । दोलखास्थित आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार निवासबाटै स्विच थिचेर भर्चुअल उद्घाटन गर्नुभएको छ । आयोजनास्थलमा समेत उद्घाटन कार्यक्रम राखिएको थियो । उद्घाटनका समयमा भने साढे सात मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको थियो । पहिलो युनिटबाट ७६ मेगावाट व्यावसायिक उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार एक सातापछि दोस्रो युनिटबाट थप ७६ मेगावाट विद्युत् उत्पादन हुने छ ।

पाँच वर्षमा निर्माण सक्ने लक्ष्यसाथ २०६७ मा निर्माण सुरु भएको आयोजनाको उत्पादन थाल्ने मिति लक्ष्यभन्दा ६ वर्ष पर धकेलियो । आयोजनाको तयारी २०६० सालतिरबाटै थालिएको थियो । आर्थिक वर्ष २०७३र७४ मा निर्माण पूरा गर्ने भनिएकामा भूकम्पपछि आयोजनास्थलमा गएको पहिरो र त्यसपछिको नाकाबन्दीका कारण साढे दुई वर्ष निर्माण बिथोलिएको थियो । यस्तै ठेकेदारको ढिलासुस्ती र कोभिडका कारण आयोजना निर्माण चार वर्ष प्रभावित भयो ।

हाइड्रोमेकानिकल उपकरण जडानका लागि ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याको रेलवे एन्ड इन्जिनियरिङ लिमिटेडको कमजोर कार्यसम्पादनका कारण आयोजनाको गति निकै सुस्त बनेको थियो । निर्माण अवधि लम्बिँदा आयोजनाको लागत बढेर ८४ अर्ब रुपैयाँ पुगेको छ । सुरुमा लागत निर्माण अवधिको ब्याजसहित साढे ४८ अर्ब रुपैयाँ लाग्ने अनुमान थियो ।आयोजना निर्माणका लागि ५२ अर्ब र निर्माण अवधिको ब्याजबापत ३२ अर्ब रुपैयाँ खर्च भएको छ । माथिल्लो तामाकोसी आयोजनाले वार्षिक २ हजार २ सय ८१ गिगावाट आवर ऊर्जा उत्पादन गर्नेछ ।

माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेड र प्राधिकरणबीच २०६७ पुस १४ मा विद्युत् खरिदबिक्री सम्झौता भएको थियो । आयोजनाले २०७२ पुस १० मा ४ वटा युनिटबाट विद्युत् उत्पादन गर्ने र २०७३ असार ३० गतेसम्म ६ वटै युनिटबाट विद्युत् उत्पादन थालिसक्ने मिति तय गरी विद्युत् खरिदबिक्री सम्झौता गरिएको थियो । आयोजना र प्राधिकरणबीच भएको सम्झौतामा आयोजनाले उत्पादन थालेपछि ९ पटकसम्म तीन प्रतिशतका दरले मूल्य वृद्धि गरिने उल्लेख छ । आयोजनाले उत्पादन थालेपछिको औसत विद्युत् मूल्य प्रतियुनिट ४ रुपैयाँ ६ पैसा हुनेछ ।

स्वदेशी लगानीमा मात्रै निर्मित यो दोस्रो आयोजना हो । सुरुमा चिलिमे जलविद्युत् आयोजनामा स्वदेशी लगानी र सीप प्रयोग गरिएको थियो । सोही मोडलमा माथिल्लो तामाकोसी आयोजनालाई अघि बढाइएको हो ।

आयोजनाको विस्तृत डिजाइनका क्रममा २०६५ सालमा परामर्शदाता कम्पनी नोरकन्सल्टले तयार पारेको लागत अनुमानमा आयोजनाका लागि कुल ५३ करोड ३० लाख अमेरिकी डलर लाग्ने भनिएको थियो । त्यो बेला डलरको मूल्य ८० रुपैयाँ थियो । परामर्शदाताले तयार पारेको अनुमानित लागतलाई पुनरावलोकन गर्न गठित समितिले आयोजनाका लागि निर्माण अवधिको ब्याजबाहेक ४४ करोड १० लाख अमेरिकी डलर मात्रै लाग्ने अनुमान तयार पारेको थियो ।

सोही अनुमानअनुसार आयोजनाका लागि तत्कालीन विनिमय दरअनुसार निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान तयार पारिएको थियो । आयोजना ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमा तयार पारिएको हो । तर २०७२ को भूकम्पका कारण आयोजनास्थलमा गएको पहिरो, नाकाबन्दी, सुरुङ डिजाइनमा भएको परिवर्तनले गर्दा आयोजनाको निर्माण अवधि लम्बिएको र डलरको मूल्य बढ्दा आयोजनाको लागत बढेको आयोजना व्यवस्थापनको विश्लेषण छ । माथिल्लो तामाकोशी झलनाथ खनालले सिलान्याश गर्नुभएको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नुभएको छ ।