जनता टाइम्स

२२ भाद्र २०७८, मंगलवार १३:१६

डब्लूएचओ दक्षिण पूर्वी एसिया क्षेत्रीय बैठक : नेपालले गर्यो स्वास्थ्य प्रणालीको पुनर्संरचना गर्ने प्रस्ताव


काठमाडौं, भदौ २२ । नेपालले स्वास्थ्य प्रणालीको पुनर्संरचना गर्ने प्रस्ताव गरेको छ । हिजोदेखि जारी विश्व स्वास्थ्य संगठनको ७४ औं दक्षिणपूर्वी एसियाली बैठकमा नेपालले उक्त प्रस्ताव गरेको हो । बैठकको दोस्रो दिन आज संगठनको ११ वटा क्षेत्रीय सदस्य मुलुकका स्वास्थ्यमन्त्रीबीच आज राउन्डटेबल भएको छ ।

राउन्ड–टेबुलमा स्वास्थ्यमन्त्रीहरुले आ–आफ्नो मुलुकका स्वास्थ्य एजेन्डाहरु प्रस्तुत गरिरहेका छन् । साथै, स्वास्थ्य रणनीति र चुनौतिहरु पनि पेश गरेका छन् । नेपाली स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालको तर्फबाट एजेन्डाहरु प्रस्तुत गर्नुभयो । सार्वजनिक स्वास्थ्यका चुनौतिहरुसँग जुधेर सेवालाई प्रभावकारी बनाउनेबारे स्वास्थ्य सेवाकै पुनर्संरचना गर्नेबारे मन्त्री श्रेष्ठले योजना प्रस्तुत गर्नुभएको हो ।

नेपालले रोग नियन्त्रण केन्द्र स्थापना गर्ने, खाद्य सुरक्षा, एन्टी–माइक्रोबायल रेसिस्टेन्स र जुनोटिक स्वास्थ्यलाई सम्बोधन गर्नेबारे एउटै स्वास्थ्य नीति बनाउने घोषणा गरेको हो । थाइल्यान्ड, माल्दिभ्स, श्रीलंकासहितका मुलुकका स्वास्थ्य मन्त्रीले आजै सम्बोधन गर्नुभएको थियो ।