जनता टाइम्स

२७ भाद्र २०७८, आईतवार ०९:१५

विचरा सम्पादक सरहरु कता हराउनु भो !


हेर सण्डे , हाम्रो सर्वकालीन अध्यक्ष काम्रेड प्रचण्ड नेपालका लागि एकलौटी नेता हुन् । अब उनैले गर्दा एमसिसी पास हुँदैन । जनता र राष्ट्रलाई गम्भीर घाटा हुने काम माओवादीले कहिल्यै गर्दैन । किन कि हाम्रो पार्टी एमाले र काँग्रेस जस्तो हैन ।

त्यै त विध्वंसे काका । यही तिमार्को माओवादी भन्ने पार्टी छ र त नेपाल भन्ने देश छ । यो पार्टी नहुने हो भने नेपाल पनि रहने थिएन । तिमार्को पार्टीले यो राष्ट्र जोगाउन भारतले नाकाबन्दी गरेको बेला उत्तरतिर सुरुङ खनेको थियो । अहिले जय सिंह धामी महाकालीमा भारतीय सुरक्षा कर्मीद्वारा मारियो। फेरि उत्तरतिर के भो हँ भन्दै सिमा स्तम्भ खोज्न समिति बनाइयो । अब एमसिसी भन्ने डस्टरले कालो पाटीमा लेखिएको ‘माओवादी’ भन्ने शब्द मेट्छ कि क्या हो ।

के वाइयात कुरो गर्छस् सण्डे , नौ प्रतिशत मान्छे लिएर एमालेका वरिष्ठतमहरु लर्को लागेर हाम्रोमा आम्दै छन् । एमसिसी हाम्रो राष्ट्रनायक, नेपालका एकमात्र सर्वमान्य नेता, उच्च छलाङका प्रवर्धक, सर्वहारा वर्गका ढुकढुकी काम्रेड प्रचण्डले चाहे पास हुन्छ नचाहे फेल हुन्छ । हाम्रो जस्तो पार्टीले गर्ने भनेकै प्रचण्डको आदेश पालना हो ।

अनि हौ काका , अग्नी सापकोटा, जनार्दन शर्मा, लिलामणि पोखरेल, देव गुरुङ लगायतका व्यक्ति (तिम्रा नेता) बर्खामा विरिङ खोलो बटारिए जस्तो गरी एमसिसी पास गर्नु हुँदैन भनेर बटारिदै छन् त ।

नमस्कार है काका , को बटारिएको कुरा गर्दैछ यो सण्डे भाइ । एमसिसीको कुरा गरेको हो भने त्यो जसरी पनि पास हुन्छ । संसदले मजाले पास गर्छ । पास नगर्ने छाँट आयो भने यो सरकार रहँदैन । प्रचण्ड र माधवहरु जान्छन् गोलखाडी । गठबन्धन रहँदैन । हाम्रो काँग्रेस र एमालेको चुनावी सरकार बन्छ । संसद भङ्ग हुन्छ । यदि भएन भने सदनमा माओवादी सांसदले एमालेका तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई भकुरे जस्तै काँग्रेस र एमालेकाहर्ले माओवादीलाई भकुर्छन् ।

भिरघरे पनि नचाहिने कुरा गर्छ । हाम्रो अग्नी काम्रेड सभामुख भएसम्म मुलाङहर्ले केही गर्न सक्तैन । सदनमा हल्ला हुदै गर्छ यता एमसिसी सदनबाट फेल घोषणा गरि दिन्छन् हामीले गर्ने नै त्यही हो । माधव काम्रेड पो अति कमजोर भए । २० प्रतिशतसम्म भत्काउछन् होला भनेको त ९ प्रतिशत मात्रै भत्काए । तर एमाले जस्तो पार्टीमा कोही बस्तैन ।

तिमी पनि पाङ्दुरे कुरा गर्छौ विध्वंसे काका , आफ्ना जनआधार भएका नेता जति एमालेमा गए । तिमी चैं एमालेमा कोही बस्तैन भन्छौ । तिम्रो पार्टीको सङ्गठन पनि बन्दैन ।

ठीक भने भिरघरे दाइले । यिनार्को पार्टी त अब दुई चार वर्षपछि सकिन्छ । गफले पार्टी निर्माण हुने होइन, यिनार्को कुरा जनताले पत्याउँदैन ।

ओलीलाई यिनार्ले जति सराप्छन् ओलीको पार्टी त्यति नै फस्टाउदै जान्छ । माधवलाई उचालेर पछारे, ओलीलाई सकेनन् । अब एमसिसीले यिनार्लाई खुइल्याउँछ । पास गरे पनि सकिने भनेको माओवादी नै हो, फेल गरे पनि समाप्त हुने भनेको माओवादी नै हो । अहिलेसम्म मन्त्रीमण्डल विस्तार गर्न सकेको छैन । देउवाको छेउमा एमसिसी पास नगर्ने भनेर प्रचण्ड बोले भने प्रतिनिधिसभा विगठन गरेर ओली र देउवा चुनापमा जान्छन् ।

खाँट्टी कुरो ग¥यो भाइले । ओलीले एमसिसी पास गर्न खोज्दा अग्नीलाई रोक्न लगाउने प्रचण्डले अब के गर्ने ? निर्णय त तुरुन्त गर्नुपर्ला नि ! अनि कम्र्फोटेवल सरकारको कुरा गर्ने र अग्रगामी अध्यादेशले गरेका कर्तुतलाई ढाकछोप गर्ने प्रचण्डको मुखुण्डो झर्छ भुँईमा । हाम्रो काँग्रेसलाई ‘लुतो न कन्याई’ भने जस्तो भा’छ । गठबन्धनका भने पनि अन्तरिम परमादेशका भने पनि प्रधानमन्त्री हाम्रै देउवा दाइ हो । रिस उठ्यो भने प्रचण्ड ‘किक आउट’ कि कसो सण्डे ,

के सण्डेलाई साछी राख्छस् । हेर भिरघरे प्रचण्ड ‘किक आउट’ भए भने काँग्रेस पनि रहँदैन । ‘ढुङ्गाको भर माटो, माटाका भर ढुङ्गो’ भन्ने कुरा हाम्रो प्रचण्डले बुझेको छ । ओलीले निहुँ खोज्दा नौ प्रतिशत, देउवाले निहुँ खोजे १८ प्रतिशत । लु जा‘ त्यस्तो अवस्था आयो भने काँग्रेस साँग्रेस भत्काइन्छ।

नाप्पियो, तिमारु जस्ताले भत्काउने । सबै पार्टीमा माधव नेपाल हुन्छन् भन्ने नठान । अब चुनाप हुन्छ । चार जना पूर्व प्रधानमन्त्री नराम्रोसंग पराजित हुन्छन् । कहिले काँग्रेस कहिले एमालेको बुई चढेर जित्ने सपना नदेखे हुन्छ । इलाम, चितवन, काठमाडौं, गोर्खा जस्तो काँग्रेसले जित्ने जिल्लामा तिमार्लाई काँग्रेसले छोड्ने कुरै आउँदैन ।

कसले चुनापको कुरा गरेको छ र ! हेर भिरघरे । अध्यादेश ल्याएर वा परमादेश जे गर्दा हुन्छ, प्रतिनिधिसभाको म्याद पाँच वर्ष थप्नु पर्छ । राष्ट्रको बजेट समाप्त पार्न चुनाप गर्नै पर्दैन । खै हाम्रो पार्टी ३५ वर्षदेखि प्रचण्ड काम्रेडले हाँक्ता पनि राम्रै फस्टाएरै आको छ ।

थप्ने हैन काका ! अब प्रतिनिधिसभा भङ्ग गरेर चुनापमा जानु पर्छ । चुनाप पछि बन्ने ओलीको सरकारले जे सुकै गरोस् ।

ए‘ यो सण्डेको पनि दिमाख खुस्किए छ । चुनाप भए पनि हाम्रो सरकार बन्छ नभए पनि पालै पिलो हाम्रो प्रचण्ड प्रधानमन्त्री । तिमारु थाङ्नेहर्ले कुरै बुझेको छैन । त्यसै हाम्रो प्रचण्डले देउवा ‘अग्रगमनकारी, प्रगतिशील, राष्ट्रका नायक, विकास प्रेमी, भ्रष्टाचार विरोधी सबैका अगुवा’ भनेर प्रशंसा गरेको हो र । चुनाप गराउने सरकारको नेतृत्व आफै गर्नका लागि हो । आमामामा हाम्रा प्रचण्ड कम बाठा छन् ।

काकाले यो कुरा त ठिक ठिकै गरे । कि कसो भिरघरे दाई १ भारतले नाकाबन्दी गर्दा दुरदर्शी प्रचण्डले विरोध गरेनन् किन भने अहिले कमफर्टेबल सरकार बनाउनु थियो । काँग्रेसले ‘भारतले नाकाबन्दी गरेकै होइन’ भन्यो । किन कि उ भारतको विरोध गर्नै सक्तैन । सक्थ्यो भने जय सिंह धामीको बारेमा डटेर कुरा गर्ने थियो । काठमाडौंको भयङ्कर ठूला सम्पादकहरु, तथाकथित बुद्धिजीवीहरु, सामाजिक अभियन्ता, नागरिक अगुवा भनाउँदाहरुलाई केवल ओलीको विरोध गर्न बुख्याँचा बनाएर खडा गरिएको थियो । उनारु स्यालको सिंङ हराए जस्तो हराए । न अध्यादेशको विरोध न एमसिसीको विरोध । अहिले उनार्को लागि प्रतिगमन सच्चिएर अग्रभागी सरकार बनेको छ । मन्त्रीहरु नभएपछि धेरै काम रोकिएको छ । विचरा ! डलरे र भारु सम्पादकहरु बोल्न पनि सक्तैनन् ।

चुप लाग ! के नबुझी पतर पतर गर्छस् सण्डे , ती सम्पादक, नागरिक अगुवा, सामाजिक अभियन्ता, मानव अधिकारवादी, बुद्धिवाल काँग्रेस माओवादी एउटै भाँडाका खानेहरु हुन् । जसले नगद नारायण सहित अरनखटन गर्छ त्यसैको काम गर्न भर्ना गरिएका हुन उनारु ।

हो विध्वंसे काका , उनारु भनेका भाते हुन् । विचरा ती सम्पादकहरु भोजन अनुसारको भजन गाउँछन् । ओली प्रम हुनज्याल विरोधका विरोध गरे । अध्यादेशको विरुद्ध बुलन्द आवाज उठाए, ओलीको विरोध गर्न एकजुट भए । हाम्रो देउवा दाइले ओलीलेभन्दा रद्दी अध्यादेश ल्याउँदा समर्थन गरे । कस्तो मगमग बास्ना आउने अध्यादेश भनेर लेखे । विचरा यिनार्लाई ओलीले ल्याको अध्यादेश गनार खपिसक्नु भएन । अहिले कहाँ गए होलान ती सम्पादक भनाउँदा कठैवरा सरहरु

त्यति हियाएर चैँ नभन भिरघरे , हामीले काम लगाउँदा अहिले पनि उत्तेजित भएर लेख्छन्, ओलीको विरुद्ध गरिने नारा–जुलुसमा अहिले पनि जान्छन्, ओलीकोमा प्रतिनिधि मण्डल गएर थर्काउनु भन्यो भने ती सम्पादक अहिले पनि बालकोट गएर चुपचाप बस्नु नत्र राम्रो हुँदैन भन्न सक्छन् । तिनारु पनि मान्छे नै हुन गन्ध र बास्ना छुट्याउन नसकेका मात्र हुन ।

लौ काका , सम्पादक भनाउँदाहरु अहिले पनि चलाएमान छन् भन्दा खुशी लाग्यो । तर, एमसिसी, अध्यादेश, जय सिंह धामी, सडक, पुल र स्थानीय निकायको बजेट कटौती लगायतका बारेमा चुँसम्म नगर्दा उनारु कहाँ अलप भए भन्न मात्र खोजेको हो । काका अब हामी उभिण्डे खोलातिर झर्छौं ।

परिसंवादबाट