रामेछाप, माघ १७ । उमाकुण्ड गाउँपालिकाको आयोजनामा सञ्चालन हुन गइरहेको ‘उमाकुण्ड आइडल’ कार्यक्रमलाई लक्षित गर्दै नृत्य विधातर्फ विद्यार्थी छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। स्थानीय तहमा लुकेर रहेका बालबालिकाका प्रतिभाहरूको पहिचान, प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।
यसै क्रममा उमाकुण्ड गाउँपालिका वडा नं. ४ स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालय, प्रीतिको आयोजनामा फिडर विद्यालयहरूको सहभागितामा वडा स्तरीय नृत्य प्रतियोगिता सम्पन्न भएको विद्यालयले जनाएको छ। प्रतियोगितामार्फत उमाकुण्ड आइडल कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीहरूबीच प्रतिस्पर्धा गराइएको थियो।
प्रतियोगिताबाट उत्कृष्ट नृत्य प्रतिभाका रूपमा कुसुम सुनुवार र मनिता सुनुवार ‘उमाकुण्ड आइडल’ नृत्य विधातर्फ छनोट हुनुभएको विद्यालयले जानकारी दिएको छ।
प्रतियोगितामा विभिन्न फिडर विद्यालयका विद्यार्थीहरूले मौलिक, सांस्कृतिक तथा आधुनिक नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको प्रस्तुति, नृत्यकला, तालमेल तथा भाव अभिव्यक्तिका आधारमा निर्णायक समितिले उत्कृष्ट प्रतियोगीहरू छनोट गरेको थियो। कार्यक्रममा शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
गाउँपालिका अन्तर्गत रहेका सातै वडाका माध्यमिक विद्यालयहरूको नेतृत्वमा वडा भित्रका फिडर विद्यालयहरूको सहभागितामा वडा स्तरीय नृत्य प्रतियोगिता आयोजना गरी प्रतिस्पर्धीहरू छनोट गरिने जनाइएको छ। प्रत्येक वडाबाट छनोट भएका उत्कृष्ट प्रतियोगीहरूलाई समेटी गाउँपालिका स्तरीय नृत्य प्रतियोगिता आयोजना गरिनेछ।
सो प्रतियोगिताबाट उमाकुण्ड आइडल नृत्य विधातर्फका उत्कृष्ट प्रतिभाहरू अन्तिम रूपमा छनोट गरी पुरस्कृत गरिनेछ। गाउँपालिकाले ‘उमाकुण्ड आइडल’ कार्यक्रममार्फत विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि, सिर्जनशीलताको विकास तथा कला संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिएको छ। साथै स्थानीय स्तरमै यस्ता कार्यक्रम आयोजना हुँदा प्रतिभावान विद्यार्थीहरूले आफ्ना क्षमता प्रदर्शन गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्