जनता टाइम्स

१९ कार्तिक २०७५, सोमबार ११:२१

जाडोयाममा किन हुन्छ स्ट्रोकको खतरा ? यस्तो छ कारण


जाडोमा रोगको संक्रमण दरमा वृद्धि हुनु, व्यायामको कमी तथा उच्च रक्तचापका कारण स्ट्रोकको सम्भावना उच्च हुने गर्छ ।

विशेषगरी जाडोयाममा वायु प्रदुषित हुने गर्छ, जसले छाती तथा मुटुको स्थिति विग्रने गर्छ । यसका साथै, जाडोमा रगत गाढा हुने गर्छ, जसले गर्दा रगतको नशा साघुरिने गर्छ र नशामा दवाव बढ्ने गर्छ । जसले गर्दा स्ट्रोक हुने सम्भावना उच्च हुने गर्छ।

कसलाई हुन्छ, स्ट्रोकको खतरा ?

व्यक्तिलाई जुनसुकै उमेरमा पनि स्ट्रोकको खतरा बढी हुने गर्छ । स्ट्रोक हु्नेमा १२ प्रतिशत विरामी ४० वर्ष भन्दा कम उमेरका हुन्छन् । जो मानिसलाई उच्च रक्तचाप, मधुमेह तथा उच्च कोलेस्ट्रोलको समस्या छ, उनीहरुमा स्ट्रोकको सम्भावना उच्च हुने गर्छ । साथै, गर्भनिरोधक चक्कीको सेवन गर्ने महिलामा पनि यसको जोखिम उच्च हुने गर्छ ।

स्ट्रोकको लक्षण

शरीरको कुनै एक भाग लुलो हुनु वा नचल्नु नै स्ट्रोकको प्रमुख लक्षण मानिन्छ । स्ट्रोक भएमा विरामीको शरीरको कुनै एक भाग नचल्ने हुन्छ । त्यस्तै, उनीहरुलाई बोल्नमा समस्या हुनुका साथै उनीहरुको सुन्ने क्षमता समेत कम हुने गर्छ र आँखा पनि धमिलो हुने गर्छ, जुन स्ट्रोकको  सामान्य लक्षणमा पर्दछ ।

स्ट्रोक भएमा के गर्ने ?

चिकित्सकहरुका अनुसार स्ट्रोक भएको केही समयभित्रै सही उपचार गर्न सकिएको खण्डमा व्यक्तिलाई विकलांग हुनबाट जोगाउन सकिन्छ । स्ट्रोक भएमा विरामीलाई कुनै राम्रो अस्पतालमा लैजानु पर्छ, जहाँ २४ अै घण्टा सिटी स्क्यान तथा एमआरआई सेवा उपलब्ध छ । लक्षणको सुरुवाती अवस्था  (केही घण्टा भित्र) उपचार गरेको खण्डमा विरामीको ज्यान समेत बचाउन सकिन्छ ।

कम गर्ने उपाय ?

जाडो याममा चिसोका कारण मानिसहरु कम पानी पिउँछन् । जसले गर्दा रगत गाडा हुने गर्छ । यसले स्ट्रोकको जोखिम उच्च हुने भएकोेेले जाडोयाममा पर्याप्त मात्रामा पानी लगायतका तरल पदार्थको सेवन गर्नु पर्छ । साथै, स्ट्रोकबाट बच्नका लागि जाडोयाममा मदिारा तथा धुमपान कम सेवन गर्नु पर्दछ ।